0
देशव्यापीरुपमा बढेको यो सक्रियताले सवारी दुर्घटनामा पनि कमी ल्याएको छ । अहिले ग्रामीण क्षेत्र तथा प्रहरीको पहुँच कम भएका ठाउँमा बाहेक धेरैजसो सडक क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावकारी बन्दै गएको छ । गाडी छुटेको ठाउँबाट निश्चित समयमा मात्र गन्तव्यमा पुग्नुपर्ने, यात्रुबाहक गाडीमा अन्य मालसामान लैजान नपाइने, गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मादकपदार्थ सेवन गरेर गाडी चलाउन नपाइने आदि मापदण्ड कडाइका साथ लागु गर्ने प्रक्रिया शुरु भएसँगै ट्राफिक व्यवस्थापनमा सुधार आएको छ । त्यसका लागि स्रोत र जनशक्तिले भ्याएसम्म ट्राफिक प्रहरीले निरीक्षण बढाएको छ भने मापदण्ड उल्लंघन गर्ने चालकमाथि कार्वाहीसमेत थालिएको छ । केही वर्षदेखि थालिएको यो प्रयासको सकारात्मक परिणाम पनि आउन थालेको छ । जसका कारण सवारी दुर्घटनामा कमी आएको छ । हुन त ठूला–ठूला दुर्घटना भएकै छन् तर पनि पहिलेको तुलनामा नेपालमा दुर्घटनाको संख्यामा कमी आएको पक्कै हो । सरकारी तथ्याङ्कले देखाएर मात्र होइन आम मानिसले महसुस गर्ने गरी ट्राफिक सुधारको काम भइरहेको छ । यसलाई निरन्तरता दिंदै अहिले प्रहरीको पहुँच पुग्न नसकेको ठाउँमा पनि ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन सक्ने हो भने सवारी दुर्घटनाको क्रम अझै घट्ने विश्वास गर्न सकिन्छ । देशको धेरै क्षेत्रमा सुधार आउन बाँकी छ तर ट्राफिक व्यवस्थापनको क्षेत्रमा सबैले स्वीकार गर्न सक्ने परिवर्तन आएको छ । सरकारी नीति सही बन्नु र त्यसलाई कडाइका साथ लागू गर्दा यो परिवर्तन देख्न सकिएको हो । अपवाद स्थानबाहेक देशका धेरैजसो ठाउँमा जाने यात्रुहरुले अहिले गाडीमा चढ्दादेखि नै पहिलेको जस्तो सास्ती भोग्नुपर्दैन । त्यसो त यातायात व्यवसायीहरुको व्यवहारमा पनि सुधार आइरहेको छ । एकातिर प्रहरीले ट्राफिक व्यवस्थापनमा कडाइ गरेको छ भने अर्कोतर स्वयं यातायात व्यवसायी समितिहरुले पनि यात्रुमैत्री व्यवहारका लागि यातायात कर्मचारीलाई प्रशिक्षण दिइरहेका छन् । त्यसो त यात्रुहरु पनि थप सचेत बन्दैछन् । यात्रुहरु सचेत बन्नु महत्वपूर्ण कुरा हो । हरेक यात्रु आफ्नो जीवनप्रति संवेदनशील बनेर यात्रा सुरक्षित बनाउनेतिर गम्भीर हुने हो भने आधा दुर्घटना त्यसै कम हुन्छ । गन्तव्यमा चाँडो पुग्ने नाममा जस्तो पायो त्यस्तै गाडीमा चढ्ने, जतिसुकैलाई चढाए पनि चढ्ने र ट्राफिक सुधारका लागि केही पनि आवाज उठाउन नसक्ने यात्रुहरुको निरीहपन पनि दुर्घटनाको कारण हो । यात्रुहरु निरीह बन्ने, व्यवसायीहरुले पैसाबाहेक अरु केही नदेख्ने र सरकारी निकाय मुकदर्शक बन्ने स्थितिले विगतमा दुर्घटना बढेका थिए । त्यसो त सडक सुधार पनि दुर्घटना कम गर्ने महत्वपूर्ण आधार हो । सडकमा पनि पछिल्ला समयमा केही सुधार आइरहेको छ । ट्राफिक व्यवस्थापनमा केही सुधार आए पनि अझै सन्तोष गर्ने स्थिति बनिसकेको छैन । दुर्घटनाको संख्यामा केही कमी आए पनि उल्लेख्यरुपमा रोकिएको स्थिति छैन । पोखरा आसपासका क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सुधार आए पनि ग्रामीण क्षेत्रको स्थिति अझै कहालीलाग्दो छ । गाउँका सडकहरुको ट्राफिक व्यवस्थापन नाटकजस्तो देखिन्छ । विशेषगरी चाडपर्वको बेलामा यात्रुहरुको चाप हुँदा गाडीहरुमा सके जति यात्रु राख्ने अनि सुरक्षा चौकीनजिक जाँदा लाम लगाएर हिँडाउने गरिन्छ । यो स्थिति हेर्दा यात्रुहरुले ट्राफिक व्यवस्थापन नाटक मात्र हो कि भन्ने महसूस गर्नु अस्वाभाविक होइन । त्यसैले गाउँका सडकहरुमा पनि ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन आवश्यक छ । धेरै दुर्घटना हुने सडक पनि गाउँकै भएकाले ती क्षेत्रको यातायात व्यवस्थापन सुधार गर्न आवश्यक छ । त्यसका लागि सरकारी निकायसहित यातायात व्यवसायी, यात्रुहरु र आम सरोकारवाला लाग्न आवश्यक छ । जस्तो अहिले विभिन्न निकायले सिसि क्यामरा जडानदेखि दुर्घटनाग्रस्त क्षेत्र घोषणा, सडक डिभाइडर सहयोग, ट्राफिक सेचतना कक्षालगायतका काममा जसरी सहयोग गरिरहेका छन्, ट्राफिक व्यवस्थापनमा समेत सबैको यसरी नै सहयोग गर्नु आवश्यक छ ।

Post a Comment

 
Top