0
संयुक्त विद्यार्थी आन्दोलनको नाममा कास्कीमा शुरु गरिएको आन्दोलनले सफलता पाउने सम्भावना न्यून देखिएको छ । अनियमित ढङ्गले संचालन भइरहेका शिक्षण संस्था बन्द गर्न पहल गर्नुपर्ने, निजी शिक्षण संस्थाहरुमध्ये अधिकांशले विद्यार्थीहरुबाट महंगो शुल्क अशुल गर्ने गरेकाले त्यसलाई घटाउन पहल गर्नुपर्ने, पाठ्यपुस्तक तथा स्टेशनरी तथा पोशाक खरिद गर्नेक्रममा व्यापारी तथा विद्यालयले विद्यार्थीहरुबाट बढी रकम लिएर कमिशन दिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने लगायतका विषयमा विद्यार्थी संगठनहरु गम्भीरतापूर्वक लाग्नुपर्नेमा त्यसो हुन नसक्दा आन्दोलन असफल जस्तै देखिएको छ । विद्यार्थी संगठनका केही नेता तथा कार्यकर्ताहरु विभिन्न शिक्षण संस्था तथा पव्लिकेशन्स र व्यापारीहरुलाई समेत राजनीतिक आस्थाको आधारमा संरक्षण गर्ने तथा विरोध गर्ने नीति अख्तियार गरेपछि विद्यार्थी संगठनहरुका बीचमा असन्तुष्टि पनि बढेको छ । जिल्ला शिक्षा कार्यालयको संयोजकत्वमा शुरु गरिएको अनुगमन समेत प्रभावकारी नभएपछि विद्यार्थी र अभिभावकले राहत पाउने सम्भावना कम भएको छ । अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतम र अखिल क्रान्तिकारीका अध्यक्ष कृष्णराज दाहालले अन्य संगठनसंग छलफल गरि निर्णयमा नपुग्दै मासबारमा संचालित ह्याप्पी बोर्डिङमा प्रवेश गरि तोडफोड गरेपछि अन्य विद्यार्थी संगठनका नेताहरुले तोडफोड र अराजक क्रियाकलापमा आफूहरुको संलग्नता नरहेको सार्वजनिक गरेका छन् । केही विद्यार्थी संगठनका नेताहरुले अनुगमन समिति र विद्यार्थी संगठनको नाममा ह्याप्पी बोर्डिङलाईमात्र निशाना बनाईको भन्दै सरकारी अधिकारीहरुसंग असन्तुष्टि प्रकट गरेका छन् । ‘अनियमित तरिकाले संचालन गरिएका सबै विद्यालयमा अनुगमन समितिले ताला लगाउन सक्नुपर्छ, एक विद्यालयमा ताला लगाएको भरमा आन्दोलन सफल हुँदैन’–नेविसंघ कास्कीका संयोजक सुवास कोइरालाले अनुमगन समिति र कास्कीका जिल्ला शिक्षा अधिकारी संग विहीबार आक्रोश पोख्दै भनेका थिए । अनुगमन समितिले बुधबार ह्याप्पी बोर्डिङमा कक्षा ८, ९ र १० को पढाइ मासबारमा गर्न नपाउने भनि तीनवटा कोठामा तालावन्दी गरेको छ । त्यसपछि अनुगमन समिति अनियमित ढङ्गले संचालन भएका अन्य स्कूलमा पुगेको भएपनि उनीहरुलाई सामान्य निर्देशन दिएर फर्किएको र कतिपय विद्यालयमा तालावन्दी नगर्न क्षेत्रीय शिक्षा निर्देशक वैकुण्ठ अर्यालले निर्देशन दिएको समेत बताइन्छ । यस बारेमा निर्देशक अर्यालसंग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।  यसैबीच स्कूलमा तोडफोड गरि क्षति पु¥याएको आरोपमा पक्राउ परेका अनेरास्ववियुका अध्यक्ष गोतमको रिहाइको माग गर्दै बुधबार संयुक्त रुपमा विद्यार्थी संगठनले गरेको निर्णय समेत कार्यान्वयन हुन नसकेपछि विद्यार्थी आन्दोलन असफल बन्न थालेको महसूस गरिएको छ । बुधबार नै विद्यार्थी संगठनहरुले जिल्ला शिक्षा कार्यालयमा तालावन्दी गर्ने निर्णय गरेको भएपनि प्रहरीको उपस्थितिका कारण त्यहाँ तालावन्दी नभएको नेविसंघका कन्द्रीय सदस्य सरोज केसीले जानकारी दिए । बिहीबार पोखरा क्षेत्रमा सरकारी गाडी चल्न नदिने कार्यक्रम तय गरेका विद्यार्थी संगठनहरुको निर्णय पनि प्रभावकारी बन्न सकेन । बिहीबार बिहान ९ बजेदेखि ९ः३० बजेसम्म पृथ्वीनारायण क्याम्पस गेट अगाडि चक्काजाम गर्नु बाहेक अन्य स्थानमा विद्यार्थी नेता र कार्यकर्ताहरुको सक्रियता कमै देखियो । बजारमा चलेका सरकारी गाडीहरुमध्ये दुई वटा गाडीको चावी नियन्त्रणमा लिनु बाहेक अन्य कुनै अप्रिय घटना भएन । उनीहरुले बाग्लुङ जिविसको बा१झ ६३९३ र विद्युत प्राधिकरण पोखराको ग१झ १६० नम्वरको गाडिको चावी नियन्त्रणमा लिएको भएपनि साँझ पाँच बजेपछि चावी फिर्ता गरेको बताइएको छ । यस बाहेक सरकारी गाडी रोक्नका लागि विद्यार्थी संगठनका कार्यकर्ताहरुको सहभागिता समेत खासै देखिएन । यसैबीच ह्याप्पी बोर्डिङ तोडफोड गरेको आरोपमा प्रहरी हिरासतमा रहेका एमाले अखिलका स्कूल जिल्ला कमिटी कास्कीका अध्यक्ष शेखर गौतमलाई भेटन गएका अनेरास्ववियूका कार्यकर्ता लाई प्रहरीले तीन घण्टा नियन्त्रणमा राखेर छोडेको छ । गौतमलाई भेट्न अनेरास्ववियू क्याम्पस जिल्ला कमिटीका अध्यक्ष अर्जुन अधिकारी र सचिवालय सदस्य रमेश भण्डारी वडा प्रहरी कार्यालय बैदाम पुगेका थिए । त्यसैबेला ती दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर करिब ३ घण्टा राखेपछि साँझ ७ बजेतिरमात्रै मुक्त गरेको थियो । उनीहरुलाई वडा प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षकको कार्यकक्षमा राखिएको बताइन्छ । सरकारी सवारी साधनका चावी खोसेको कारण उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  यसैबीच कास्कीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक हरिबहादुर पालले मुस्ताङचोकमा चलेका सरकारी गाडीको चावी खोसेकोले उनीरुलाई वडा प्रहरीमा केही समय राखेर पठाइएको बताए । यता प्रहरीको नियन्त्रणपछि छुटेका अधिकारीले भने आफूहरुलाई छुटटै कोठमा राखेको र बाहिर जाने आदेश छैन भनेर नियन्त्रणमा लिएको बताए ।

Post a Comment

 
Top