0
मित्रराष्ट्रका युवाहरुहरु सँगको अनुभव आदान प्रदानले उद्यमशिलता बढाउन तथा वौद्धिक दायरा फराकिलो बनाउन मद्दत मिल्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । मित्रराष्ट्र चीनको युवा प्रतिनिधिमण्डलको स्वागत तथा छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले अनुभव आदानप्रदान नयाँ विचार सृजनाको लागि सहायक हुने धारणा राखेका हुन् । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले चीनका युवाहरुलाई स्वागत गर्दै जनस्तरमा सम्बन्ध बनाउन भ्रमण फलदायी भएको धारणा राखे ।  उनले भ्रमण पर्यटन प्रवद्र्धनका लागि समेत सहायक हुने बताउँदै शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको क्षेत्रमा लगानी गर्न चिनिया पक्षलाई आग्रह पनि गरे । चीनका विभिन्न क्षेत्रका चर्चित ५९ जना युवाहरुको प्रतिनिधि मण्डललाई आइतबार पोखरामा स्वागत गर्दै नेपाल युवा उद्यमी मञ्च पोखराका अध्यक्ष प्रकाशदेव पालिखेले युवाहरुबीचको अनुभव आदान प्रदानबाट सम्बन्ध बिस्तार र आत्मीयता बढ्ने मात्र नभई उद्यमशिलताको लागि समेत सघाउने धारणा राखे । उनले नेपाली युवाहरुलाई पनि विभिन्न देशका युवाहरुसँग अनुभव आदान–प्रदानको लागि भ्रमणको व्यवस्था मिलाउन सरकारसँग आग्रह पनि गरे । सो अवसरमा पालिखेले पोखरामा युृवा उद्यमी मञ्चले सम्पादन गरेका सृजनशील कार्यहरुको बारेमा जानकारी समेत दिएका थियो । भ्रमण दलका प्रमुख अखिल चीन युवा महासंघका टोली प्रमुख तथा सह निर्देशक जाङ लि हुनले नेपाल साँस्कृतिक रुपले धनी भएको बताउँदै युवाहरु सृजनशील क्षेत्रमा लाग्नुपर्ने बताए । नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेलले सरकारी स्तरबाट भएको युवा अनुभव आदान प्रदान कार्यक्रमलाई निरन्तरता दिइने र अन्य देशका युवाहरुसँग पनि यस्तै कार्यक्रम आयोजना गरी नेपाली युवाहरुको मनोवल उकास्ने अभियानमा सरकार रहेको जानकारी दिए । उनका अनुसार भारतसँग पनि नेपाल सरकारले युवा अनुभव आदानप्रदान कार्यक्रम सुरु गरिसकेको छ । करिब १ हप्ते नेपाल भ्रमणमा आएको चिनिया टोलीमा विभिन्न क्षेत्रमा दक्षता हाँसिल गरेका युवाहरु सम्मिलित छन् । राजधानी काठमाडौं, लुम्बिनी, चितवन, पोखरा लगायतका प्रमुख सहरको भ्रमण तथा युवाहरुसँग अनुभव आदान प्रदान गर्ने गरी सो टोली नेपाल आएको हो । पोखरामा भएको छलफल कार्यक्रममा युवा उद्यमी मञ्चका कोषाध्यक्ष सन्तोष घिमिरेले कार्यक्रम संचालन गरेका थिए ।

Post a Comment

 
Top