0
युवाको जांगर राष्ट्र निर्माणको आधार भन्ने मूल नाराका साथ पोखरामा अन्तर्राष्ट्रिय स्तरको चिडियाखाना निर्माण गर्ने उद्देश्यले स्थापना भएको युनाइटेड क्लव पोखराले आफ्नो पांचौ वार्षिकोत्सव मनाएको छ । वार्षिकोेत्सवको उद्घाटन गर्दै वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक केशव वहादुर बस्नेतले युनाइटेड क्लवले गैरनाफामुखी काम गर्दै सामाजिक काममा अगाडि बढेको बताए ।पोखरामा रहेका अन्य क्लवहरु भन्दा फरक शैलीमा अगाडि वढेको क्लवले सामाजिक क्रियाकलापमा आफूलाई अगाडि बढाउन सफल भएको बताउँदै बस्नेतले पोखरामा अन्तर्राष्ट्रिय स्तरको चिडियाखाना निर्माणमा अगाडि बढेको क्लवलाई अन्य संघ सस्थाहरुले सहयोग गर्दै क्लवको अनुशरण गरेर अगाडि बढ्न समेत उनले आग्रह गरे ।अर्को प्रसङ्गमा आफ्नो क्षेत्रमा रहेका सामाजिक विकृति विसंगतिहरुलाई हटाउनका लागि प्रहरीमात्रैले नसक्ने बताउँदै त्यसमा समेत क्लव र आसपासमा रहेका क्लव, संघ सस्था, आमा समूहहरु, टोल विकास सस्थाहरुले सहयोग गर्नुपर्नेमा समेत बस्नेतले जोड दिए । कार्यक्रममा बोल्दै वडा समन्वय समिति वडा नम्बर १० का अध्यक्ष समरबहादुर श्रेष्ठले युनाइटेड क्लवले छोटो समयमा सामाजिक क्रियाकलापहरु मार्फत पोखरामा मात्र नभइ राष्ट्रमानै आफूलाई अग्रणी स्थानतर्फ उन्मुख गराइरहेको बताउँदै आगामी दिनमा पनि त्यस्ता क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरे । सेती वारी पोखरामानै पहिलो पटक महोत्सवको आयोजना गरी महोत्सवको आम्दानीबाट विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै विभिन्न वडामा रहेका वडावासीहरुलाई सामाजिक काममा अग्रसरता गराउनमा क्लवको मुख्य भूमिका रहेको उनको भनाइ रहेको थियो ।
यसैवीच कार्यक्रममा क्लवले भर्खरै सम्पन्न गरेको पांचांै पोखरा महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ । कोषाध्यक्ष राजु श्रेष्ठले पांचौ पोखरा महोत्सवबाट २९ लाख ८ हजार ९ सय २० रुपैया बचत भएको बताए । महोत्सवको कुल आम्दानी ७३ लाख ५४ हजार ४ सय ६० र खर्च ४४ लाख ४५ हजार ५ सय ४० खर्च भइ २९ लाख ८ हजार ९ सय २० रुपैया बचत भएको बताए । बचत भएको रकम मध्ये स्वास्थ्य, शिक्षा, खेलकुद र पोखरामा नयाँ पर्यटकीय गन्तव्यस्थल चिडियाखाना निर्माणका लागि प्रत्येक क्षेत्रमा २० प्रतिशतका दरले खर्च गरिने श्रेष्ठले वताए । क्लवका अध्यक्ष हिमालय बख्रेलले पाचौं वर्षसम्म आइपुग्दा आफूहरुले पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणको संघारमा आइपुगेको बताए । पाचौं वर्षसम्म आइपुग्दा विभिन्न बाधा ब्यवधानहरु आइपरेतापनि आफूहरुले विशुद्ध सामाजिक क्रियाकलापमा खर्च गर्दै आइरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धता समेत ब्यक्त गरे । कार्यक्रम संयोजक क्लवका अध्यक्ष शुकबहादुर गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा क्लवका सचिव लालकाजी गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top