मध्यपश्चिमको जाजरकोटमा फेरि महामारी अझै नियन्त्रण्मा आउन सकेको छैन । छ वर्षअघि झाडापखालाका कारण तीन सय सत्तरी जनाको ज्यान गएको जाजरकोटमा अहिले स्वाइन फ्लु र रुघाखोकीका कारण २५ जना भन्दा बढीको ज्यान गइसकेको छ भने एक सय भन्दा बढी मानिस बिरामी परेका छन् । ६ वर्षअघि बैशाखको अन्तिम सातादेखि साउन महिनासम्म रहेको झाडापखालाको महामारीबाट ३ सय ७० को ज्यान गएको थियो । अहिले बैशाखको शुरुवातमै स्वाइन फ्लु र रुघाखोकीको महामारी देखिएको छ । उतिबेला गर्मी र दूषित पानीका कारण झाडापखाला फैलिएको थियो भने अहिले बेमौसमी बर्षातका कारण मौसमी फ्लु फैलिएको छ । गर्मी हुँदा पनि जाजरकोटबासीले नै क्षति भोग्नुपर्ने र चिसो हुँदा पनि जाजरकोटबासीले नै क्षति भोग्नुपर्ने जुन अवस्था देखिएको छ, यसबाट राज्य निकै गम्भीर बन्नुपर्ने थियो, अहिलेसम्म बनेको छैन । एकपटक महामारीले ठूलो क्षति भोगिसकेको ठाउँ भएकोले पनि सामान्य लक्षण देखिनेबित्तिकै राजधानीबाट विशेषज्ञसहितका स्वास्थ्यकर्मीहरु पठाउन सकेको भए यति ठूलो क्षति भोग्नुपर्ने थिएन । एउटा मन्त्री जिल्ला जाँदा राज्य स्रोतबाट हेलिकोप्टर प्रयोग गर्न सक्ने मुलुकमा सयौं नागरिक प्रभावित हुने गरी महामारी फैलदासम्म पनि हेलिकोप्टरबाट विशेषज्ञ चिकित्सक र औषधि पठाएर रोग नियन्त्रणमा ध्यान दिन नसक्नु राज्यको चरम उदासिनता हो । अहिले जाजरकोटमा महामारी फैलनुमा अनेकन आशंका गरिएको छ । यी सबै उडन्ते आशंका हुन् । अहिलेसम्म विशेषज्ञ टोलीले यसको कुनै आधिकारिक कारण पत्ता लगाउन सकेको छैन । राजधानीमा रहेका केही विज्ञले बेमौसमी बर्षातका कारण त्यस्तो स्थिति आएको हुनसक्ने बताएका छन् भने केहीले भारतबाट फर्केका व्यक्तिहरुसँगै आएको स्वाइनफ्लु महामारीको रुपमा फैलिएको बताएका छन् । सरकारले तत्काल विशेषज्ञ टोली पठाएर उपचारसँगै रोगको कारण पनि खोजी गर्नुपर्छ ता कि यसलाई नियन्त्रणमा लिन सहयोग पुगोस् । यो महामारी अन्य क्षेत्रमा फैलन नदिन पनि रोगको कारण पहिचान हुन आवश्यक छ । रोग फैलनुको कारण जे भए पनि यति ठूलो क्षति हुनुको मुख्य कारण जाजरकोट दुर्गम हुनु हो । राजधानीमा एकैपटक ४३ जनामा स्वाइनफ्लु देखिदा पनि नियन्त्रणमा लिन सकिने तर जाजरकोटमा लिन नसकिने भन्ने हुँदैन । एक त सम्बन्धित ठाउँमा खटाइएका स्वास्थ्यकर्मी आफ्ना ठाउँमा नहुनु मुख्य समस्या छ भने रोग देखिनेबित्तिकै जिल्ला, क्षेत्र र केन्द्रबाट थप स्वास्थ्यकर्मी नपठाउनु अर्को समस्या देखिएको छ । अहिले जिल्ला र क्षेत्रबाट पठाइएको स्वास्थ्यकर्मीको टोलीमा विशेषज्ञ चिकित्सक छैनन् । विशेषज्ञ चिकित्सक नपठाउँदा रोग नियन्त्रणमा लिन समस्या हुनेछ । हिजो मात्रै प्रधानमन्त्रीले विभागीय मन्त्री र विभागका प्रमुखहरुलाई बोलाएर स्वास्थ्यकर्मीहरु खटाइएको स्थानमा नजाने प्रबृत्तिले दुर्गम ठाउँका नेपालीहरुले सामान्य उपचारयोग्य रोगबाटै असामयिकरुपमा जीवन गुमाउनु परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । राज्य सञ्चालनको प्रमुख कार्यकारी भूमिकामा रहेका व्यक्तिले चिन्ता मात्र जाहेर गरेर पुग्दैन, सँगसँगै स्वास्थ्यकर्मीहरु सम्बन्धित ठाउँमा खट्दैनन् भन्ने प्रधानमन्त्रीको स्वीकारोक्तिले ग्रामीण क्षेत्रको स्वास्थ्य अवस्था कस्तो छ भन्ने उजागर गरेको छ । जाजरकोटमा अब थप क्षति हुन नदिन तत्काल विशेषज्ञ चिकित्सक र पर्याप्त औषधि त्यहाँ पठाइनुपर्दछ । त्यसका लागि सरकारी चिकित्सहरुले मात्र पुग्दैन भने निजी क्षेत्रका स्वास्थ्य निकायलाई परिचालन गर्न आवश्यक छ । साँच्चिकै बेमौसमी बर्षातले सिर्जना गरेको चिसोकै कारण महामारी फैलिएको हो भने अन्य जिल्लामा पनि प्रकोप फैलन सक्छ । फ्लूजन्य संक्रमणको मुख्य काराण बेमौसी बर्षात भएको विज्ञहरुले बताएका छन् । त्यसो हो भने देशभरि नै सतर्कता बढाउन आवश्यक छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment