0
सिद्धार्थ टोल विकास संस्था पोखरा–४ को १२औं वार्षिक उत्सव तथा साधारणसभा शनिबार सम्पन्न भयो । पोखराको रामकृष्णटोल र सिद्धार्थचोक क्षेत्रका महिलाहरुको सक्रियतामा स्थापित संस्थाले महिलाहरुसंग सम्बन्धित कार्यक्रम मात्र नभएर त्यस क्षेत्रको सामाजिक। विकास रुपान्तरणका साथै भौतिक संरचनाको विकासमा महत्वपूर्ण काम गर्दै आएको छ । संस्थाले किरियापुत्री भवन, वहुउद्देश्यीय भवन, स्थानीय क्षेत्रमा बाटोको निर्माण, सोलारवत्ति जडान र सरसफाइका साथै निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गर्दै आएको छ । संस्थाले आफ्ना सदस्यका छोराछोरीहरु मध्येबाट एसएलसीमा उत्कृष्ट अंक प्राप्त गर्नेहरु, वृद्धवृद्धाहरुका साथै विशेष प्रतिभा र सफलता प्राप्त गरेका व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ । साधारणसभाको उद्घाटन गर्दै संविधानसभाका सदस्य शारदा पौडेलले प्रजातन्त्र पुनःस्थापना पछि महिलाहरुमा चेतना र जागरुकता बढेको भन्दै महिलाले नेतृत्व लिएका संस्थाले रचनात्मक काम गरेको बताइन । अब बन्ने संविधानमार्फत राज्यको हरेक निकायमा महिलाहरुको सहभागिता लाई सुनिश्चित गर्नुपर्नेमा जोड दिंदै उनले महिलाहरुले सक्षम भएर नेतृत्व लिनका लागि प्रयास गर्नुपर्ने बताइन । साधारणसभाका विशेष अतिथि पोखरा उपमहानगर पालिकाका निमित्त कार्यकारी अधिकृत तथा वरिष्ठ ईन्जिनियर शारदामोहन काफ्लेले सिद्धार्थ टोल क्षेत्रमा भौतिक संरचनाको निर्माण र विकासका साथै टोल विकास संस्थाका लागि आवश्यक पर्ने जग्गा थप गर्न नगरपालिकाको तर्फबाट पहल गर्ने बताए । उनले विभिन्न टोल विकास संस्थासंग मिलेर सहकार्य गर्न नगरपालिका तयार रहेको बताउँदै सिद्धार्थ टोल विकास संस्थामा रहेर महिलाहरुले गरेको कामको प्रशंसा गरे । संस्थाका प्रमुख सल्लाहकार मदनकाजी श्रेष्ठले संस्थालाई अझै बढी बलियो बनाउन सबैको सहयोगको अपेक्षा गर्दै संस्थाको नेतृत्व गर्नेहरुको क्रियाशीलताले नै  संस्थाले उचाइ प्राप्त गरेको बताए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति एवं गोल्डेन न्यूज दैनिकका कार्यकारी अध्यक्ष गंगाधर पराजुलीले पुरुषहरुलाई संगै राखेर महिलाहरुले उदाहरणीय काम गर्न सफल भएको भन्दै संस्थाका महिला सदस्यहरुको लगनशीलता र इमान्दारिताका कारण पोखरा नगर क्षेत्रमा सिद्धार्थ टोल विकास संस्था उत्कृष्ट संस्थाको रुपमा स्थापित भएको बताए । सुरक्षित मातृत्व सञ्जालका क्षेत्रीय संयोजक रजनी केसीले राज्यका विभिन्न निकायले महिलाहरुका लागि बजेटको व्यवस्था गर्ने गरेको भएपनि बजेट उपयोग गर्न समेत महिलाहरुलाई नदिइएको गुनासो गरिन् ।  संस्थाका सल्लाहकार मुक्ति पराजुलीले संस्थाले महिलाहरुमा उत्साह ल्याउने र समाज रुपान्तरणमा योगदान पु¥याउन सफल भएको बताए । अर्का सल्लाहकार भिमबहादुर श्रेष्ठले संस्थाको अक्षयकोषका लागि ७ हजार पाँचसय ५५ रुपैयाँ सहयोग गर्दै संस्थाले शिव मन्दिर निर्माण गरेमा आफूले थप ५० हजार रुपैयाँ दिने घोषणा गरे ।
सिद्धार्थ क्लवका अध्यक्ष दीपेन्द्र मर्सानीले सिद्धार्थ टोल विकास संस्था पोखराका संस्थाहरुमध्ये गरिखाने संस्थाको रुपमा विकास भएकाले सिद्धार्थ क्लव सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रममा सिद्धार्थ टोल विकास संस्थाकी अध्यक्ष गोमा कोइराला सुवेदीले टोलका महिला पुरुष सबैको सहयोगका कारण संस्थाले महत्वपूर्ण काम गर्न सफल भएको बताउँदै आगामी दिनमा सबैले आर्थिक, भोतिक र नैतिक सहयोगको अपेक्षा गरिन् । संस्थाकी  पूर्व अध्यक्ष पार्वती माकाजूले २०६० सालमा २६ जना महिलाहरुबाट संस्था दर्ता भएकोमा हाल एकसय ६० जना पुरुष र महिला सदस्स्य रहेको जानकारी दिइन । त्यस अवसरमा संस्थाका सचिव सीमा कोइरालाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष भवानी माकाजूले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समितिका उपाध्यक्ष केशवराज ढकाल, वरिष्ठ समाजसेवी तथा बगालेटोल टोल सुधार समितिका भक्तराज श्रेष्ठ, सिद्धार्थ टोल विकास संस्थाका सल्लाहकार मंगल प्रसाद माकाजू, नेपाल प्रेस युनियनका गण्डकी अञ्चल संयोजक टंकराज अधिकारी, स्वतन्त्र पत्रकार संघका महासचिव कमल पौडेल अथक, हुर्जाका क्षेत्रीय संयोजक राजेश पराजुली, बगालेटोल टोल सुधार समितिका पूर्व अध्यक्ष विष्णु श्रेष्ठ अल्पविराम, रामकृष्ण टोल विकास संस्थाका अध्यक्ष ईश्वर लिगल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top