0
वैदिक सनातन धर्म र संस्कृतिको रक्षा गर्ने, आध्यात्मिक जागरण एवं संस्कृत शिक्षा प्रचारका साथै सिद्धबराह तपोवन सन्यास आश्रम क्षेत्रको पर्यटकीय विकास, मन्दिर निर्माण बहुउद्देश्यीय भवन निर्माण लगायतका उद्देश्यका साथ सिद्धबराह धनधान्याचल धार्मिक महामहोत्सव एवं श्रीमत् देवी भागवत नवाह ज्ञानमहायज्ञ शनिबारबाट शुरु भएको छ । महायज्ञमा भागवत परिकर ब्र. नारायण प्रसादले भागवत कथा वाचन गर्ने कार्यक्रम छ ।
महायज्ञको पहिलो दिन पोखराको सेतीनदी स्थित गाइघाटबाट सिद्धबराहको माझथुम अर्थात महायज्ञ स्थलसम्म कलश यात्रा गरिएको थियो । कलशयात्रमा कास्कीको चापाकोट, भदौरे तामागी, कास्कीकोट, ढिकुरपोखरी लगायतका गाविस र पोखरा क्षेत्रका गरि करिब एकहजार जनाको सहभागिता थियो । महायज्ञ स्थलबाट बसमा आएका भक्तजन हरु गाइघाट पुगेर कलश लिइ पोखराको लेकसाइडसम्म पैदल यात्रा गरेको र त्यसपछि पुनः बसमा माझथुम पुगेका थिए । ‘सिद्धबराह धनधान्यचल धार्मिक महा–महोत्सव तथा श्रीमद्देवी भागवत ज्ञान महायज्ञ–२०७१’ को एक समारोहबीच कास्की ४ की सभासद् सीता गिरीले उद्घाटन गरेकी थिइन । उनले नौवटा दीप बालेर महायज्ञको उद्घाटन गरेकी थिइन । महायज्ञ आयोजकहरुले प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेपछि राम्रै आर्थिक सहयोग प्राप्त हुने विश्वास राखेको भएपनि सभासद सीताले भने आफूले भविष्यमा सहयोग गर्ने अभिव्यक्ति दिएपनि कहिले र कति सहयोग गर्ने भन्ने स्पष्ट पारिनन् । त्यसपछि महायज्ञका अध्यक्ष रहेका बम्हनिष्ट स्वामी निःशेषानन्द महाराजले महायज्ञको पाचौं दिन आएर सहयोग गर्न सभासद सीतालाई आग्रह गरेको भएपनि उनले भने अन्तिम दिनसम्म सम्भव भए आउने भन्दै महायज्ञ स्थलबाट बाहिरिएकी थिइन । महायज्ञको पहिलो दिन कास्की बाहिरका नारायण प्रसाद तिमिल्सिना र कमला कार्कीले जनही २५ हजार रुपैयाँका दरले सहयोग गर्ने घोषणा गर्नु बाहेक अन्य कसैले पनि सहयोगको घोषणा गरेनन् । उद्घाटन कार्यक्रममा सभासद् सीता गिरीले अहिलेको राजनैतिक गतिरोधको अन्त्य छिटै हुने बताउँदै जेठ १५ सम्ममा नयाँ सविधान आउने बताइन् । उनले महायज्ञले धार्मिक चेतना बढाउने बताउँदै संस्कृति र भौतिक निमार्णमा यसले टेवा पु¥याउने बताइन् । कार्यक्रममा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका पूर्व अध्यक्ष हेम बहादुर प्रधानले पुराणबाट नैतिकवान बनाउने बताए । उनले कलाकार, साहित्यकार, कुचिकार र पत्रकारले नागरिकलाई नैतिकवान बनाउन अगाडि बढ्नु पर्ने बताए । कार्यक्रममा समाजसेवी कमला कार्की, चापाकोट गाविसका पूर्व प्रधानपञ्च शिवलाल पराजुली, नारायण तिमिल्सिना, सिद्ध बराह धार्मिक क्षेत्र विकास समितिको पूर्व अध्यक्ष तथा महायज्ञका उपाध्यक्ष गोमती थापा, मूल आयोजक समितिका अध्यक्ष स्वामी निःशेषानन्द लगायतले सिद्ध बराह तपोवन सन्यास आश्रमको महत्वका बारेमा चर्चा गरेका थिए । उद्घाटनका अवसरमा योग गुरु धामशरण स्वामी, कविराज पराजुली, लक्ष्मी प्रसाद भण्डारी लगायतका अतिथि रहेका थिए । कार्यक्रमको संचालन कृष्णप्रसाद दाहालले गरेका गिए भने स्वागत तुलसी भण्डारीले गरेका थिए । 
माझथुमको धार्मिक र पर्यटकीय महत्वलाई मध्यनजर गर्दै सिद्धबराह संस्कृत विद्याश्रममा अध्ययनरत बटुकहरुको शिक्षा, दीक्षा र आवास सुविधालाई व्यवस्थित गर्ने उद्देश्य पनि  महायज्ञको रहेको छ । आध्यात्मिक जागरण एवं गुरुकूल स्थापना गरि संस्कृत शिक्षाको प्रचारका साथै विश्व शान्ति, मानव कल्याण एवं धार्मिक र आध्यात्मिक चेतनाको विकास गर्ने, समाजलाई नैतिक, अनुशासित बनाउने लक्ष्य समेत महायज्ञले लिएको छ । यसअघि सोही स्थानमा गरिएको महायज्ञ बाट संकलित रकमले गुरुकूल भवन निर्माण कार्य भैरको छ । तर अन्य पूर्वाधारको अभावमा र त्यसलाई दीगो रुपमा संचालन गर्नका लागि यसपटक पुनः महायज्ञ आयोजना गरिएको मुल आयोजक समितिका उपाध्यक्ष कलाधर भण्डारीले बताए ।

Post a Comment

 
Top