0
नेपालमा पर्यटनको सिजनको सुरुवातसंगै बन्द हडताल र आन्दोलनका कार्यक्रम फिर्ता लिन पोखराका पर्यटन ब्यवसायीले आग्रह गरेका छन् । चैत, वैशाख र जेठ महिनालाई पर्यटनको सिजन भएको भन्दै यही सिजनको मुखमा आएर आव्हान गरिएको बन्द र हड्तालका कार्यक्रमले पर्यटन क्षेत्रमा भएका बुकिङहरु रद्ध हुने क्रम सुरु भएको पर्यटन ब्यवसायीले बताएका छन् । पोखराका पर्यटन ब्यवसायीहरुको छाता संगठन पश्चिमाञ्चल होटल संघले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै बन्द र हड्तालले भ्रमणका लागि पर्यटक आउने वातावरण विग्रिने र पर्यटक नआउने निश्चित जस्तै हुने बताउदै विभिन्न राजनीतिक दलहरुका तर्फबाट पर्यटनलाई प्रत्यक्ष असर पार्ने गरी आव्हान गरिएका सम्पूर्ण कार्यक्रम फिर्ता लिन अपिल गरेको छ । पोखरामा वार्षिक लाखौं आन्तरिक तथा बाह्य पर्यटक भ्रमणका लागि आउने गरेको र यस्तो भ्रमण नेपालका अन्य पर्यटकीय शहरमा समेत हुने गरेका छन् होटल संघ पोखरा अध्यक्ष भरतराज पराजुलीलेपर्यटकलाई भ्रमणका लागि निश्चित वातावरण निर्माण गर्नुपर्नेमा यस्ता बन्द र हडतालले असर गर्ने बताए । ‘पर्यटकहरु देशको अवस्थालाई अध्ययन गदै समय र स्थान अनुसार तालिका बनाएर आफ्नो भ्रमण अगाडि बढाउने हुदाँ उनीहरुलाई समस्या र पर्यटन उद्योगमा नकरात्मक असर गर्छ ।’ पछिल्लो पटक जिम्मेवार राजनीतिक पार्टीहरुबाट देशव्यापी बन्द, हड्ताल र आन्दोलनका कार्यक्रम आव्हान गरिएको खवर संचार माध्यममा सार्वजनिक हुँदा हामी मर्माहत भएका छौं ।’ विगतमा अन्नपूर्ण फेरोमा आइपरेको हिमआँधीको त्रासदी, नेपालको एकमात्र त्रिुभवन अन्तर्राष्ट्रिय विमानसथलमा टर्किस एयरको जहाजले अवरोध पु¥याउँदा विदेशबाट पर्यटक आउने क्रम केही दिनका लागि ठप्प जस्तै भएको अवस्था लगायतका कारणले समेत नेपाल र पोखरा आउने पर्यटक दर कम भएको अवस्थामा बन्द र हड्तालका कार्यक्रमले झनै नकारात्मक प्रभाव पार्ने पर्यटन ब्यवसायीको भनाई छ । विभिन्न कार्यक्रम र अभियानका माध्यमबाट व्यवसायीले देशविदेशबाट पर्यटक बोलाउने अनि बन्द हड्ताल गरेर पर्यटकलाई दुःख दिने कार्य कदापि सुहाउने काम नभएको समेत अध्यक्ष पराजुलीले बताए । पर्यटकीय सिजनलार्ई ख्याल गर्दै पश्चिमाञ्चल होटल संघ पोखरा सबै दल र पक्षहरुसँग बन्द र हड्तालका कार्यक्रम फिर्ता लिन पुनः अनुरोध गर्दै त्यस्ता कार्यक्रमको विकल्प खोजी आपसी सहमति र सहकार्यबाट संविधान निर्माणको कामलाई द्रुतता प्रदान गर्न माग गदै नेपालमा पूर्ण शान्ति स्थापना गर्दै पर्यटनका माध्यमबाट समृद्धि सिर्जना हुने अवस्था निर्माणका लागि पनि संघले आग्रह गरेको छ ।

Post a Comment

 
Top