0
रेडियो जननीको संयोजन र यूएन ह्याबिट्याट नेपालको साझेदारीमा सञ्चालित हरित आवास परियोजना अन्र्तगत कौसी खेतीको माध्यमबाट घरेलु स्तरमा पानी तथा फोहोर पानी व्यवस्थापन बारे पोखरामा आयोजित चार दिने तालिम बिहीबार सम्पन्न भएको छ । तालिमको समापन गर्दै पोखरा उपमहानगरपालिका निमित कार्यकारी अधिकृत ओमराज पौड्यलले खेतीलाई हरियो र राम्रो देखाउनका लागि प्रयोग गरिने बिषादीले स्वास्थ्यमा प्रतिकुल असर पर्ने बताँउदै आवश्यक भन्दा बढी विषादी प्रयोग गर्ने प्रवृतिलाई न्युनिकरण गर्नु पर्नेमा जोड दिए ।
रेडियो जननीका अध्यक्ष हिरा भट्राईले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उर्तानु पर्नेमा जोड दिंदै पोखरा उपमहानगर पालिका, पोखरा उद्योग वाणिज्य संघसँग सहकार्य गरेर उद्यमशीलताका लागि तालिम दिने बताइन । रेडियोकी स्टेशन म्यानेजर बिमला भण्डारीले तालिमले हरित आवास सृजना गर्नका लागि महिलाहरुलाई प्रशिक्षकको रुपमा सक्षम बनाउने बताइन ।
यूएन ह्याबिट्याट नेपालका यशोदा श्रेष्ठ, प्रशिक्षक पुष्पकर आचार्य, हरित आवास परियोजनाका फोकल पर्सन नेत्र तिमिल्सीनाले पोखरालाई सुन्दर र वातावरण मैत्री बनाउनका लागि यस्तो तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताएका थिए । प्रशिक्षार्थी कल्पना आर्चायले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने बताइन । तालिममा हरित आवास परियोजना, पानीको परिचय तथा घरेलु स्तरमा पानी व्यवस्थापन, पानी ब्यवस्थापन प्रविधि, कौसी खेती प्रविधि, माटो पहिचान बारेमा जानकारी गराइएको थियो । तालिममा डा. सन्तोष श्रेष्ठ, यशोदा श्रेष्ठ, प्रज्वल श्रेष्ठ, अनिल कुमार आचार्य, पुष्पकर आचार्य, सिर्जना शाक्यले सहजिकरण गरका थिए । तालिममा पोखराका १८ वटा वडाका विभिन्न महिला समूहमा आवद्ध ३० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमको आयोजक सस्थामा यूएन ह्याबिट्याट नेपाल, एन्फो, पोखरा उपमहानगर पालिका, पोखरा उद्योग वाणिज्य संघ रहेका थिए ।

Post a Comment

 
Top