0
पश्चिमाञ्चल होटल संघ पोखराको टोलीले फेवा नव वर्ष महोत्सवमा सहभागी हुन काठमाडौं र दोलखाबासीलाई आव्हान गरेको छ । संघले आइतबार काठमाडौं र सोमबार दोलखामा दुई फरक पत्रकार सम्मेलन गरी महोत्सवको निमन्त्रणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष भरतराज पराजुलीले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न संघले तेह्र वर्ष अघि ‘जाउँ है पोखरा’ अभियान संचालन गरेको जानकारी दिंदै यसपटको फेवा नव वर्ष महोत्सवमा सहभागी हुन राजधानीबासीलाई आव्हान गरे । महोत्सवका अवसरमा चैत ३० र वैशाख १ गते लेकसाइडमा सडक महोत्सवको समेत आयोजना गरिएको जानकारी उनले दिए । संघको आयोजनामा यही चैत २८ देखि आगामी वैशाख २ गतेसम्म फेवा किनार स्थित वसुन्धरा पार्कमा फेवा नव वर्ष महोत्सव संचालन हुन गइरहेको छ ।
महोत्सवका अवसरमा होटलको विस्तारामा १५ प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष पराजुलीलले जानकारी दिए । पत्रकार सम्मेलनका अवसरमा संचारकर्मीले महोत्सवको नयाँ पनका बारेमा जिज्ञासा राखेका थिए । महोत्सव आयोजना गरी फेवा तालको संरक्षणमा लागेको भन्दै संचारकर्मीले संघको कार्यको सराहना गरेका थिए । संघले पर्यटन, संस्कृति र खानाको पाटोलाई केन्द्रमा राखी फेवा नव वर्ष महोत्सव आयोजना गर्दै आइरहेको महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।
यसैविच कार्यक्रममा बोल्दै सोही संघका अध्यक्ष सुन्दर कार्कीले पोखरेली पर्यटन व्यवसायीबाट दोलखाली व्यवसायीले सिक्न  पर्ने धेरै भएको बताए । उनले पोखरेली व्यवसायीको टोलीलाई स्वागत गर्दै दोलखाले बोकेको संभावनाका बारेमा चर्चा गरेका थिए । पूर्वधार र प्रचारप्रशार पर्यटनका लागि धेरै महत्वपूर्ण कुरा भएको  पनि उनले सुनाए । सो अवसरमा पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष पराजुलीले दोलखाको सुन्दरताको प्रशंसा गर्दै दोलखाबासीलाई पनि प्रवद्र्धनका कार्यक्रम अगाडि बढाउन सुझाव दिएका थिए । दश वर्षे राजनीतिक तनावका समयमा ‘जाउँ है पोखरा’ अभियान सुरुवात गरिएको जानकारी दिंदै पराजुलीले त्यही कार्यक्रमलाई अहिले पनि निरन्तरता दिइएको सुनाए । आन्तरिक पर्यटनलाई बढी जोड दिएर नै ‘जाउँ है पोखरा’ र फेवा महोत्सव आयोजना गरिएको पराजुलीले बताए । पर्यटनका लागि क्वालिटी, सर्भिस र हाइजिनलाई बढी ध्यान दिनुपर्ने स्मरण पनि उनले गराए । होटल संघ नेपालका केन्द्रिय सदस्य विप्लव पौडेलले पर्यटनका लागि आबश्यक पर्ने धेरै विशेषता दोलखाले बोकेको बताए । राज्यले भन्ने बेला  पर्यटन भने पनि व्यवहारमा सो अनुसार अगाडि नबढेको आरोप  पनि उनले लगाए । नेपाल पत्रकार समहासंघका कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली र पत्रकार इश्वरी न्यौपानेले पनि कार्यक्रममा आफ्नो भनाई राखेका थिए ।

Post a Comment

 
Top