0
बागलुङ क्षेत्र नं १ को संविधानसभा सदस्य निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले रु तीन करोड ४० लाख एक हजार खर्च लाग्ने जनाएको छ । गत मङ्सिर ४ सम्पन्न निर्वाचनमा नेपाली काँगे्रसका उम्मेदवार हरिबहादुर खड्काको गत माघमा जिप दुर्घटनामा परी मृत्यु भएपछि यही चैत २८ गते सो क्षेत्रमा निर्वाचन हुँदैछ । यस पटक सो क्षेत्रमा करिब पाँच हजार मतदाता थप भई कुल ५२ हजार २०२ मतदाताले पहिलोपटक विद्युतीय उपकरणमार्फत आफ्ना उम्मेदवार लाई मत दिने आयोगले आज यहाँ जनाएको छ । मङ्सिर ४ को निर्वाचनमा ४७ हजार ७३४ मतदाता रहेका थिए । निर्वाचनका तयारीका बारेमा सरोकारवालासँगको अन्तरसंवादमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनको आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए । सो क्षेत्रका मतदातालाई आयोगले ३५ निर्वाचन स्थल र ७० केन्द्रमार्फत ४९० जना जनशक्ति परिचालन गरी मतदान गर्ने प्रबन्ध मिलाएको छ । नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा(माओवादी) लगायत दस दलका उम्मेदवार सहित तीन स्वतन्त्र उम्मेदवार सो क्षेत्रको निर्वाचनको मैदानमा उत्रेका छन् । गत असार ८ मा सम्पन्न काठमाडौँ २, चितवन ४, बर्दिया १ र कैलाली ६ को उपनिर्वाचनमा प्रयोग गरिए जस्तै गरी आयोगले सो क्षेत्रमा विद्युतीय उपकरणमार्फत मतदानको व्यवस्था मिलाउने तयारी गरेको छ । विद्युतीय मतदानका बारेमा सिकाउन निर्वाचन शिक्षाका स्वयम्सेवक घरघरमा खटिरहेका आयोगले जनाएको छ । “बागलुङ क्षेत्र १ को निर्वाचनलाई नमुना निर्वाचनका रुपमा सम्पन्न गर्ने अभियानमा आयोग जुटेको छ, यसलाई सदा झै साथ र सहयोग दिन म सबै दल, तिनका उम्मेदवार एवम् निर्वाचनमा खटिएका कर्मचारीलाई आग्रह गर्दछु” प्रमुख निर्वाचन आयुक्त उप्रेतीले भने । उनले निर्वाचनलाई तडकभडक नबनाउन, आचारसंहितालाई पूर्ण पालन गर्न र निर्धक्क भई मतदानमा भाग लिन मतदातालाई आग्रह गरे । प्रमुख निर्वाचन आयुक्त उप्रेतीले आचारसंहिताको प्रभावकारी कार्यान्वयनको आयोगले अनुगमन गरिरहेको स्पष्ट पार्दै भने–“आयोग उम्मेदवारी खारेजीको पक्षमा छैन ।” निर्वाचनका तयारीका बारेमा आयोगका सहसचिव वीरबहादुर राईले निर्वाचनका लागि आवश्यक ७१ प्रकारका सामग्री जिल्लाबाट मतदान स्थलमा लैजाने तयारी अवस्थामा रहेको बताए । आयोगका सहसचिव मातृका श्रेष्ठले विद्युतीय उपकरणमार्फत मतदान हुन लागेकाले आवश्यक तालिम, मतदाता शिक्षाको व्यवस्था मिलाइएको जानकारी दिए । अर्का सहसचिव लीलादेवी गडतौलाले निर्वाचन आचारसंहिता र निर्वाचन ऐन, नियमका बारेमा जानकारी गराएका थिए । सो अवसरमा सहभागी रहेका राजनीतिक दलका प्रतिनिधिले निर्वाचनलाई सफल बनाउने प्रतिबद्धता जनाएका थिए ।

Post a Comment

 
Top