0
पोखरा रङ्शालामा जारी तेस्रो सिटी रेवान महोत्सव तथा फुड फेष्टिबलमा विहीबार लोकल कुखुराको झोलसँग ढिडो खाने प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ आठ जनाको सहभागिता रहेको थियो। प्रतियोेगितामा पुरुषतर्फ पोखरा– १८ छिनेडाडाँका दिपक परियार प्रथम र महिलातर्फ मनकुमारी नेपाली प्रथम भएको महासचिव एवं प्रचार प्रसार संयोजक दिपक तिमिल्सिनाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई जनही तीन हजार रुपैयाँ प्रदान गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ स्वादिष्टरुपले ढिडो खाने प्रजापति पराजुली र छिटो ढिंडो खाने अखिल ठकुरीलाई पनि पुरस्कृत गरिएको छ । महोत्सवको आयोजक पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसिएशन (सिटी रेवान)ले पहिलो पटक नयाँ आकर्षणका रुपमा सो प्रतियोगिता आयोजना गरेको हो । महोत्सव सातांै दिनसम्म आइपुग्दा दर्शकको सहभागिता क्रमिकरुपमा बढ्दै गइरहेको छ । दर्शक, व्यवसायी सब खुशी नै पाएका छौं प्रथम उपाध्यक्ष पिताम्बर शर्माले भने–नयाँ स्थानमा आयोजना गरिएको महोत्सवले नयाँ स्वाद दिन सकेको छ ।  महोत्सवमा लोक दोहोरी, गृहणी नृत्य प्रतियोगिता र विवाहित पुरुष बीचको नृत्य प्रतियोगिता बिहीबार पनि जारी रहेको छ । महोत्सवमा बिहीबार लोक दोहोरीतर्फ प्रजापति पराजुली, रामजी खाण, पुरुषोत्तम न्यौपाने, तारापति सुवेदी, कृष्ण सुवेदी, लक्ष्मी नेपाली, शिवहरि ढुङ्गाना र लाइभ पप कन्सर्टतर्फ धर्मेन्द्र सेवान, माया गुरुङ र मिलन गुरुङको प्रस्तुतिमा दर्शकहरु रमाएका थिए । शुक्रबार लोक दोहोरीतर्फ पशुपति शर्मा, प्रजापति पराजुली, दुर्गा रायमाझी, रामजी पौडेल, कृष्ण गुरुङ, घनश्याम रिजाल र लाइभ पप कन्सर्टतर्फ प्रमोद खरेल, शान्ति गुरुङ, आशिष दास र जय परियारको प्रस्तुति रहने सांस्कृतिक संयोजक जीवन दाहालले जानकारी दिए ।

Post a Comment

 
Top