0
पोखराका युवा उद्यमीहरुको संस्था नेपाल युवा उद्यमी मञ्च पोखराको बुधबार सम्पन्न अधिवेशनले युवा व्यवसायी प्रकाशदेव पालिखलाई अध्यक्षमा निर्वाचित गरेको छ । पालिखे पोखरा उद्योग वाणिज्य उप–महासचिव समेत हुन् । समितिको प्रथम उपाध्यक्षमा सरोज श्रेष्ठ, द्वितीय उपाध्यक्षमा ज्ञानेश्वरराज श्रेष्ठ निर्वाचित भएका छन् भने मञ्चका सदस्यहरुमा सुमन बिजुक्छे, सन्तोष घिमिरे, सुनिल भट्टराई, सुजन जोशी, बिनल कर्माचार्य, प्रतिष पालिखे, पुनित बैद्य, जीवन भट्टराई, निवर्तमान अध्यक्ष अमितराज मुल्मी छन् । निर्वाचन समितिमा देव क्षेत्री, ध्रुव थापा र मनोहर केसी रहेका थिए ।
अध्यक्षमा निर्वाचित भएपछि गोल्डेन न्यूज दैनिक संग कुरा गर्दै पालिखेले आफ्नो कार्यकालमा युवा उद्यमीहरुलाई लक्षित गरी क्षमता विकासका लागि विभिन्न तालिमहरु गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘मञ्चको गरिमा उच्च राख्नका लागि सक्रिय भएर काम गर्नेछु,’ पालिखेले भने, ‘कार्यकाल सफल पार्नका लागि सबैको सहयोगको अपेक्षा गर्छु ।’ विदेश जाने युवाहरुलाई नेपालमा स्वरोजगार सिर्जना गरी आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने उनले बताए । युवाहरुलाई लक्षित गरी अन्तक्र्रिया, भ्रमण, गोष्ठीलगायतका गतिविधि सञ्चालन गरिने उनले बताए । मञ्चले सञ्चालन गरेको ‘लखपति बनौं’ योजना कार्यक्रमलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउने जानकारी दिंदै उनले पोखरा उद्योग वाणिज्य संघसँग सहकार्य गरी मञ्चले उद्यमशिलता को विकासमा काम गर्ने बताए ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाल युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष निरञ्जन श्रेष्ठले नेपालमा उद्यमशीलताको विकास अनिवार्य रहेको भन्दै उद्यमशीलताको विकास भएमा मात्र नेपालको आर्थिक समृद्धि सम्भव रहेको बताए । उनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने किसिमले उद्योग व्यवसाय गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा  नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरा नेपालकै प्रमुख व्यवसायिक केन्द्रको रुपमा स्थापित हुन लागेको भन्दै पोखराको व्यवसायिक सम्भावनाप्रति अन्तर्राष्ट्रिय जगतले समेत चासो दिइरहेको बताए । उनले भने, ‘व्यवसायिक सम्भावनाहरुको खोजी गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने गरी व्यवसाय गर्नु अहिलेको आवश्यकता हो ।’
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले नेपालका युवाहरु विदेशिनेक्रम बढिरहेको अवस्थामा उद्यमशिलताको विकास गरी नेपालमा रोजगारीको सम्भावना बढाउन आवश्यक रहेको बताए ।  ‘पोखरालाई सुरक्षित र लगानीमैत्री शहरका रुपमा विकास गरिनुपन उनले बताए । पोखराका उद्योगपति सुशिलकुमार गोशलीले उद्योग व्यवसायको विकासले मात्र देशको आर्थिक विकास सम्भव हुने बताए । कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष अमितराज मुल्मीले युवा उद्यमीहरुको क्षमता विकासका क्षेत्रमा मञ्च सक्रिय रहेको स्पष्ट पारे । कार्यक्रममा मञ्चमा १३ जनालाई नयाँ सदस्यता प्रदान गरिएको छ । हालसम्म मञ्चमा ८३ जना उद्योगी, व्यवसायी सदस्य रहेका छन् ।

Post a Comment

 
Top