0

पोखरामा शुक्रबारदेखि शुरु हुने वृहत् शैक्षिक मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मेलाको व्यवस्थापनको जिम्मेवारी लिएको वान अप कम्युनिकेशन काठमाडौंले व्यवस्थापकीय तयारीको सम्पूर्ण काम पूरा भएको र औपचारिक उद्घाटन संगै दर्शकहरुको प्रतिक्षा भइरहेको वान अप कम्युनिकेशनका प्रमुख रवि झाले गोल्डेन न्यूज दैनिकलाई बताए । अघिल्लो वर्षपनि पोखरामा आयोजित यस्तै शैक्षिक मेलाको व्यवस्थापकीय जिम्मा वानअपले नै लिएको थियो । गतवर्ष आयोजित पहिलो शैक्षिक  मेलामा २६ हजार दर्शकले मेलाका  वलोकन गर्नुका साथै वैदेशिक शिक्षाका बारेमा जानकारी लिएको बताउँदै झाले यसपटक मेलामा आउने दर्शकको संख्या अझै बढ्ने र मेलाको आकर्षण पनि बढ्ने विश्वास व्यक्त गरे । नेपाल शैक्षिक परामर्श संघ कास्कीले मेलाको व्यवस्थापकीय जिम्मा दिएपछि केही दिन अघिदेखिनै पोखरामा बसेर स्टल, प्याभिलियन एवं मेलाको आकर्षण बढाउन विभिन्न प्रवद्र्धनात्मक कार्यमा जुटिरहेका झाले नाफा कमाउन भन्दा पनि पोखरामा शैक्षिक मेला स्थापित गर्ने आफ्नो चाहना रहेको बताए । उनले पोखरा र काठमाडौंमा यस किसिमका मेला र महोत्सवको व्यवस्थापकीय जिम्मेवारी लिइरहेकोमा देशका अन्य प्रमुख शहरहरुमा पनि गतिविधि विस्तार गर्ने तयारीमा लागेको बताए । पोखराको मेला सम्पन्न गर्न करिब ३० जनाको टोली खटिरहेको उनले जानकारी दिए । मेलामा विभिन्न एजुकेशनल कन्सल्टेन्सीका ५६ वटा स्टलका साथै ६ वटा प्याभिलियन रहने बताउँदै झाले इक्यान कास्की र विभिन्न एजुकेशनल कन्सल्टेन्सी को सहयोग र समर्थनका कारण मेलाको महत्व र गरिमा बढ्दै गएको बताए । मेलाको औपचारिक उद्घाटन शुक्रबार नेपाली चलचित्रका महानायक राजेश हमाल र उनकी धर्मपत्नी मधु भट्टराईले गर्ने कार्यक्रम छ । मेला सम्पन्न गर्न इक्यान कास्की अध्यक्ष महेश भण्डारीको संयोजकत्वमा आयोजक समिति बनाइएको छ ।

Post a Comment

 
Top