0
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको आयोजनामा विश्वव्यापी आवधिक समीक्षा सम्बन्धी क्षेत्रीय गोष्ठी कात्तिक २३ गते पोखरामा सम्पन्न भयो ।
गैरसरकारी संस्थाको तर्फबाट सन् २०१५ को नोभेम्बरमा हुन गइरहेको विश्वव्यापी आवधिक समीक्षाको लागि मानवअधिकारको उच्चआयुक्तको कार्यालय मार्फत् संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदमा पेश गर्ने प्रतिवेदनको लागि नागरिक समाज तथा सरोकारवाला निकायबाट सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इन्सेक केन्द्रीय कार्यालयका बहस तथा पैरवी इकाई प्रमुख वरिष्ठ अधिकृत सम्झा श्रेष्ठले बताईन् ।
कार्यक्रममा सहभागीहरुले निर्धारित समयमै संविधान बन्न नसक्दा राजनीतिक अस्थीरता, आर्थिक, समाजिक, साँस्कृतिक, शैक्षिक क्षेत्रमा विकृति विसंगति बढ्दै गएको, द्वन्द्व पीडितहरुले न्याय नपाएको, मानवअधिकारको गम्भीर उल्लङघन् गर्ने दोषीलाई कारबाही हुन नसक्दा दण्डहीनताले प्रश्रय पाएको बताए । उनीहरुले महिलाहिंसा तथा बालअधिकार उल्लङघनका घटना बढ्दै गएको, शिक्षा, स्वास्थ्य, रोजगारी, न्याय र विकासमा सर्वसाधारणको पहुँच पुग्न नसकेको, अपराधीलाई राजनीतिक संरक्षण भएको र जिम्मेवार निकाय जवाफदेही हुन नसकेको, अन्तर्राष्ट्रिय कानुनसँग बाझिएका कतिपय राष्ट्रिय कानुनहरु परिवर्तन हुन नसक्दा मानवअधिकारको संरक्षण हुन नसकेको, वातावरणीय परिवर्तन, सीमा अतिक्रमण लगायतका बारेमा सुझाव राखेका थिए ।
कार्यक्रममा काठमाण्डौ स्कूल अफ लका सहप्राध्यापक कपिल अर्याल, इन्सेक केन्द्रीय कार्यालयका वरिष्ठ अधिकृत सम्झा श्रेष्ठ, वरिष्ठ अधिकृत प्रशन्नता वस्तीले विश्वव्यापी आवधिक समीक्षा, गैससले पेश गर्ने प्रतिवेदनका बारेमा सहजीकरण गरेका थिए । वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले मानवअधिकारमैत्री संविधान निर्माण हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक रामप्रसाद सुवेदी, वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरे, तिलक आचार्य, गैसस महासंघका अध्यक्ष गोपाल खड्का, कास्की जिल्ला बार एशोसिएसनका अध्यक्ष पदमपाणि देवकोटा, मानवअधिकार संरक्षण मञ्चका अध्यक्ष कमल अर्याल, अधिकारकर्मी विष्णु बराल, सिविन पोखराका संयोजक प्रेम सोङमेन, ल्याककी संयोजक शोभा पराजुली, जनआन्दोलन शहिद परिवार तथा घाईते समन्वय समितिका अध्यक्ष ढाकाराम पौडेल, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका महासचिव रामबहादुर पौडेल, संवैधानिक सूचना केन्द्रकी संयोजक जूनाकुमारी गुरुङ, मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष धिराज थापा, दलित अधिकारकर्मी दुर्गाबहादुर सुनार, न्यायका लागि द्वन्द्वपीडित समाजकी सचिव जमुना शर्मा, सावित्री खड्का, अधिवक्ता गिरीधारी सुवेदी, रिलेकका अध्यक्ष तुलसी दाहाल, कुश्मराज आचार्य, शिवराम पोखरेल, कुञ्जिनी प्यासी, केशु भुजेल, मीरा पोखरेलले सुभाव राखेका थिए ।
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम इन्सेक पोखराका फोकल पर्सन शवनम शर्माले सञ्चालन गरेकी थिईन् । कार्यक्रम नागरिक समाज, अधिकारकर्मी, कानुन व्यवसायी, सञ्चारकर्मी गरी ५५ जनाको सहभागीता रहेको थियो ।

Post a Comment

 
Top