0

पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण गर्ने उद्देश्य सहित अगाडि बढेको युनाइटेड क्लव पोखराको तीनदिने अवलोकन भ्रमण सम्पन्न भएको छ । क्लवले नजिकिंदै गरेको पांचौ पोखरा महोत्सवको प्रचार प्रसार सहित तीन दिने अवलोकन भ्रमण सम्पन्न गरेको हो । ५१ सदस्यीय भ्रमण टोलीले पाल्पा, बुटवल, सौराह र हेटौडाको अवलोकन गरेको क्लवका अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए ।
बख्रेलका अनुसार आफूहरुको मुख्य एजेण्डानै पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण गर्ने भएकाले मुख्य गरी काठमाडांै भन्दा बाहिर रहेका चिडियाखानाहरुको अवलोकन लाई भ्रमणले प्राथमिकता दिइएको थियो । भ्रमण पश्चात हेटौडाको सहिद स्मारक पार्कमा रहेको मिनी जुको अवलोकन गरी पार्कमै क्लवको साधारणसभा सम्पन्न गरेको क्लवका कोषाध्यक्ष तथा भ्रमणका संयोजक राजु श्रेष्ठले गोल्डेन न्यूज दैनिककलाई जानकारी दिए । श्रेष्ठका अनुसार तीन दिने भ्रमण फलदायी रहेको र क्लवले पोखरामा चिडियाखानाको अवधारणा ल्याएको र त्यसको निर्माणका लागी भ्रमणले थप टेवा मिलेको र छिट्टै नै यसको शुरुवात गर्ने बताए । हेटौंैडाको सहिद स्मारक पार्कमा सम्पन्न चौथो साधारण सभामा वोल्दै प्रमुख अतिथी तथा सहिद स्मारक पार्कका ब्यवस्थापक रामचन्द्र न्यौपानेले पर्यटकिय शहर पोखरामा चिडियाखाना निर्माण हुन सके पोखरामा मात्र नभइ नेपालमानै उत्कृष्ठ गन्तब्य वन्ने बताए । आफूहरुले पार्कको स्थापना गर्दा कोही कसैले असहयोग गरेको तितो अनुभव सुनाउँदै न्यौपानेले आफूहरुको ४ जनाको सक्रियतामा  पार्कको स्थापना गर्न सफल भएको र अहिले विभिन्न जनावरहरु हेर्ने तथा बनभोज खाने मानिसहरुको दैनिक भीड लाग्ने गरेको बताए । विशेष गरी नेपालमा पशु बिज्ञको अभावका कारण पार्कमा राखिएका जनावरहरु विरामी परेको बेलामा समस्या हुने गरेको र त्यसप्रति युनाइटेड क्लवले चिडियाखाना निर्माणमा मुख्य ध्यान दिन समेत उनले आग्रह गरे । त्यस्तै भ्रमण दलका सदस्य तथा नेपाली कांग्रस कास्की क्षेत्र नम्बर २ का कोषाध्यक्ष ओमराज गौतमले युनाइटड क्वल पोखराका युवाहरुमा जोश र जांगर रहेको र पोखरामा चिडियाखाना निर्माण गर्ने कुरामा आफू र आफ्नो पार्टीले यसमा साथका साथै सहयोग गर्ने बताए । साधारणसभामा क्लवका सचिव लालकाजी गुरुङ र कोषाध्यक्ष राजु श्रेष्ठले सचिव र कोषाध्यक्षको प्रतिवेदन समेत पेश गरेका थिए ।

Post a Comment

 
Top