0
पोखराको सभागृह चोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटोरी प्रालि(युआरएल)ले पुम्दीभुम्दीको लीला निमाविमा ‘युआरएल छात्रवृति कोष’ स्थापना गरी  दुई लाख प्रदान गरेको छ । विद्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच युआरएलका अध्यक्ष चेतबहादुर गुरुङले सो विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बिकलाई सो रकम हस्तान्तरण गरे । प्रालिको पहिलो वर्षको नाफाबाट सो रकम प्रदान गरिएको हो। रकम हस्तान्तरणका लागि युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त, अध्यक्ष गुरुङ, निर्देशक दिनेशबाबु खड्का लगायत विद्यालयमा पुगेका थिए। कोषको ब्याजबाट विद्यालयका गरिब, जेहेन्दार विद्यार्थी र पोशाक, स्टेशनरी र पुस्तकको व्यवस्थापन गरी अध्ययन अगाडि बढाउन कठिन अवस्थाका विद्यार्थीलाई छात्रवृति प्रदान गरिनेछ । सो विद्यालयमा कुनै प्रकारको अक्षय कोष स्थापना भएको यो पहिलो पटक हो । युआरएलका अध्यक्ष तथा फेवासिटी हस्पिटलका अध्यक्ष चेतबहादुर गुरुङले विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउनु जरुरी रहेको बताए। गुणस्तरीय शिक्षा प्रदानका लागि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीले सहकार्य गर्नु पर्नेमा उनले जोड दिए । युआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले सरकारी विद्यालयमा लिला निमावि अग्रणी भएको बताउँदै अक्षय कोषको सदुपयोग गरी गुणस्तरीय शिक्षालाई बढावा दिन आग्रह गरे । युआरएलका सल्लाहकार सुशील थापाले आफू र शुभेच्छुकहरूबाट रकम सड्कलन गरी सो विद्यालयका विद्यार्थीलाई पोशाक, स्टेशनरी लगायतका सामग्री प्रदान गर्ने जनाएका छन् । सो विद्यालयमा प्राथमिक तहसम्म अड्गेजी माध्यममा पढाई हुन्छ । ८० विद्यार्थी र १३ शिक्षक सो विद्यालयमा कार्यरत छन् । पाँच शिक्षकलाई विद्यालयको स्रोतबाट तलब खुवाउनु परेको र कम्प्युटर शिक्षाका लागि कम्प्युटर अभाव रहेको विद्यालयका प्रधानाध्यापक वेदप्रसाद बरालले जानकारी दिए । विद्यालयमा अतिरिक्त क्रियाकलापहरू सञ्चालनका लागि बाल क्लबहरू गठन गरिएको छ। विद्यार्थीहरूको व्यक्तिगत विवरण फाइल तयार गरी अभिभावकलाई प्रगति विवरण दिइने र विद्यालयमै बोलाएर अभिभावकको पृष्ठपोषण लिने गरिएको छ । वि. स. २०३७ मा स्थापना भएको यो विद्यालयमा दलित विद्यार्थीको बाहुल्यता छ। विद्यालयलाई जिल्लाकै नमूना विद्यालय बनाउन पहल जारी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर विकले जानकारी दिए ।

Post a Comment

 
Top