0
व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट) ले काठमाडौं उपत्यका बाहिर पनि युवाहरुका लागि आयमूलक तथा सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । सुविधाविहीन युवा समूह, महिला, दलित, सीमान्तकृत समुदायका साथै अपाङ्गता समूहलाई समेत लक्षित गर्दै परियोजनाले पोखरासहित देशका विभिन्न ३९ स्थानबाट व्यवसायिक तथा प्राविधिक तालिम सुरु गर्न लागेको छ । विश्व बैंकको सहयोगमा तीनवर्ष अगाडिबाट सञ्चालित परियोजनाले हालसम्म २७ हजार ५ सय गरिब र बेरोजगार युवालाई व्यावसायिक तालिम प्रदान गरेको परियोजनाका निर्देशक लक्ष्मीराज पौडेलले जानकारी दिए । बिहीबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले युवाहरुलाई आयमूलक तथा सीपमूलक ३ महिने विभिन्न विषयका तालिम दिइसकिएको छ र तालिमबाट शिप नभएका नागरिक दक्ष भइ काम पाउन पनि सहज भएको छ बताए ।
आगामी पुसदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा समेत ५ हजार युवालाई ३५ विषयका स्वरोजगार तथा सीपमूलक तालिम दिने परियोजनाको लक्ष्य रहेको पौडेलले बताए । ‘उपत्यका बाहिर पनि यस्ता तालिमहरु सञ्चालन हुँदैछन्,’ उनले भने,–‘ग्रामिण क्षेत्रका युवाले यसबाट बढि लाभ लिन सक्नेछन ।’ उपत्यका बाहिर ३९ जिल्लाका करिब १८ हजार युवाहरुलाई तालिम दिने परियोजनाको तयारी रहेको पौडेलले बताए । ‘विपन्न र लगनशील पाँच हजार महिलालाई समेत छुट्टै तालिम सञ्चालन गर्ने कार्यक्रम परियोजना सँग छ’ पत्रकार सम्मेलनमा उनले भने । परियोजनाका लागि विश्व बैंकले करिब ४० मिलियन अमेरिकी डलर सहयोग गरेको छ । परियोजनाबाट सञ्चालित तालिमहरु निकै प्रभावकारी बनेको सहसचिव पौडेलले जानकारी दिए । ‘तालिम लिने अधिकांशलाई स्वरोजगार दिलाउन यो परियोजना सफल भएको छ,’–उनले भने, ‘तालिम प्रदान गर्ने संस्थाहरुलाई पनि यही अनुसार निर्देशन दिएका छौं ।’ परियोजनाबाट तालिम लिएकाहरु मध्ये ७० प्रतिशत युवाहरुले रोजगार प्राप्त गरिसकेको उनले बताए । ‘परियोजनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने गरी दक्ष जनशक्ति उत्पादन गर्न सफल भएको छ,’ उनले भने, ‘अशिक्षित र सीप नभएकाहरुलाई लक्षित गरी तालिम प्रदान गरेका छौं ।’ पोखरामा पोखरा मन्टेश्वरी एण्ड मल्टिपल ट्रेनिङ सेन्टर, पञ्चकन्या, जनहित लगायतका संस्थाहरुले परियोजनाको सहयोगमा तालिम प्रदान गरिरहेका छन् । निःशुल्क रुपमा प्रदान गरिने तालिमका लागि निःशुल्क फारम वितरण भइरहेको ेछ । कार्यक्रममा पोखरा मण्टेश्वरी एण्ड मल्टिपल ट्रेनिङ सेन्टरका प्रवन्ध निर्देशक थिरबहादुर थापाले पोखरा लगायत पोखरा आसपासका २२० जना व्यक्तिलाई तालिम प्रदान गरिने र तालिमले बेरोजगारी न्युनिकरणमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । पोखरा मण्टेश्वरी एण्ड मल्टिपल ट्रेनिङ सेन्टरले संचालन गर्ने तालिम आगामी मंसिर १ गतेदेखि संचालन हुनेछ । तालिमको अवधि तीन महिना अर्थात ३९० घण्टाको हुनेछ । संस्थाले इसिडी÷मण्टेश्वरी, कमर्सियल कुकिङ र वेटर÷वेट्रेस विषयमा तालिम प्रदान गर्ने प्रबन्ध निर्देशक थापाले बताए । तालिममा सहभागि हुन चाहने १६ देखि ४५ बर्षसम्मका महिला र १६ देखि ४० बर्षसम्मका पुरुषले यहि कात्तिक २२ गतेसम्म आवेदन फारम भर्नसक्ने पनि उनले जानकारी दिए । कार्यक्रममा इभेन्टका अनुगमन अधिकृत नेत्र पौडेलले समेत बोलेका थिए । ३ महिने तालिम अवधिभर सहभागिले निःशुल्क शैक्षिक सामग्रि र खाजा प्राप्त गर्नेछन् । मण्टेश्वरीले तालिम संचालन गर्न लागेको यो तेस्रो पटक हो । शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पोखरा मण्टेश्वरी बाट हालसम्म ३०० जनाले तालिम प्राप्त गरिसकेका छन् ।

Post a Comment

 
Top