0
नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले सरकारी कार्यालय तथा सङ्घ संस्थाको सूचना विज्ञापनलाई एकद्वार प्रणालीमा ल्याउन पहल थालेको छ । सरकारी कार्यालयमा सञ्चार क्षेत्रका लागि विनियोजित बजेट पत्रकार महासङ्घको डाली कोषमा जम्मा गर्न पहल थालिएको हो । त्यसरी जम्मा भएको रकम जिल्लास्थित सबै सञ्चारमाध्यमलाई समानुपातिक रूपमा वितरण गरिने महासङ्घले जनाएको छ ।  महासङ्घले सम्बन्धित कार्यालय तथा सङ्घ संस्थासँग समन्वयका लागि शाखा सदस्य सुवास कँडेललाई संयोजनको जिम्मा दिएको शाखाका सचिव दिल शिरीषले बताए । एकद्वार विज्ञापन प्रणाली सम्बन्धी कार्यविधि तयार गरेर सम्बन्धित कार्यालयसँग छलफल अघि बढाइने सचिव शिरीषले उल्लेख गरे । “पहुँच र शक्तिको आडमा सीमित सञ्चारमाध्यमले मात्रै सरकारी विज्ञापन, सूचना लिने प्रवृत्तिको अन्त्यका लागि एकद्वार बनाउन खोजिएको हो”, सचिव शिरीषले भने, “यसबाट जिल्लाका सबै सञ्चारमाध्यमले समान रूपले सुविधा प्राप्त गर्नेछन्, सबैको आत्मसम्मान पनि बढेर जानेछ ।” महासङ्घको यस अभियानलाई जिल्लामा क्रियाशील चार पत्रकार सङ्गठनले पनि सहयोग गर्ने भएका छन् । प्रेस युनियन, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार सङ्घ र प्रगतिशील पत्रकार सङ्घले विज्ञापन एकद्वार प्रणालीमा ल्याउने निर्णय कार्यान्वयनमा सघाउने भएका हुन् । ति सङ्गठनले संयुक्त रूपमा एक विज्ञप्ति जारी गरेर सबै पक्षलाई सहयोग गर्नसमेत आग्रह गरेका छन् ।

Post a Comment

 
Top