0

नयाँ संविधानबाट सनातन हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने भन्दै हस्ताक्षर अभियानमा जुटेको राप्रपा नेपाल कास्कीले बिहीबार पनि हस्ताक्षर अभियान कार्यक्रम गरेको छ । क्षेत्र नं. २ अन्तर्गत पोखराको शहिदचोकमा आयोजित कार्यक्रममा २ हजार बढि हस्ताक्षर संकलन भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनले धर्मको नाममा ठूला दलले गरेको अफिम राजनीतिले स्वयम तिनीहरुलाई पिरोलिरहेको बताए । ‘सस्तो लोकप्रियता र बाहिरी षडयन्त्रका कारण उठाइएको जातीयता र धर्म निरपेक्षता जस्ता मुद्दा जनताले ठाडै अस्वीकार गरिसकेका छन् ।’ अध्यक्ष गुरुङले भने ‘अब हिन्दु राष्ट्र सहितको पहिचान जनता आँफैले खोज्न थालेका छन् । जनलहर बढेको छ ।’ क्षेत्रीय अध्यक्ष गीता गुरुङले हिन्दु राज्य घोषणाको माग कुनै धार्मिक अतिवादका लागि नभई बहुसंख्यक नेपाली जनताको पहिचानका लागि भएको बताइन् । ‘धार्मिक सहिष्णुता मिलिरहेको देशमा धर्म निरपेक्षता घोषणापछि वातावरण खल्बलिसकेको छ’ नेतृ गुरुङले भनिन् ‘अब धार्मिक द्धन्द्धको रोकथामका लागि पनि हिन्दु राष्ट्र घोषणाको विकल्प छैन’ । अभियानमा जनता आँफै जुर्मुराएको गुरुङको भनाई थियो ।
कार्यक्रममा कास्की जिल्ला उपाध्यक्ष वरुणविक्रम राणा, सचिव अर्जुनबहादुर बस्नेत, कोषाध्यक्ष परमेश्वर बस्ताकोटी, क्षेत्र नं. ३ का अध्यक्ष कृष्णराज अधिकारी लगायतले बोलेका थिए । कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सल्लाहकार तथा वयोवृद्ध राष्ट्रिय सम्मानित लक्ष्मण कार्की, स्याङ्जाका पूर्व जिल्ला अध्यक्ष मदनबहादुर कार्की, कास्की जिल्ला सहसचिव रञ्जना सेन पौडेल, क्षेत्रीय कोषाध्यक्ष शर्मिला गुरुङ, वडा इकाइ सदस्य दिलु गुरुङ, मोतिमान शाक्य लगायतको सहभागिता रहेको थियो ।

Post a Comment

 
Top