0
जिल्ला विकास समिति कास्कीबाट आगामी बर्ष २०७२÷७३ को बार्षिक योजना तर्जुमाका लागि गरिएको पूर्व योजना तर्जुमा गोष्ठी ६ बुँदे निर्णय गरी सकिएको छ । सोमबारेदेखि जिल्ला विकास समितिको सभाहलमा भएको गोष्ठीमा जिल्ला विकास समिति कास्कीको दीर्घकालिन नारा परिवर्तन गर्ने निर्णय भएको छ । जिल्ला विकासका लागि सबैभन्दा पहिले दीर्घकालीन सोच लिनुपर्ने र सोही अनुसार कार्यक्रम कार्यान्वयन गर्न सके छिटो विकास हुने भएकाले नारालाई परिवर्तन गरिएको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् । यसअघि भएको कृषि, पर्यटन, रोजगार र पूर्वाधार ः कास्की विकासका चार आधारलाई परिबर्तन गरी कृषि, पर्यटन, जलश्रोत र पूर्वाधार ः समृद्ध कास्कीको चार आधार भन्ने नारा तय गरिएको हो । जिल्लामा पूर्वाधार विकास र विस्तार भएपछि रोजगार आँफै सिर्जना हुने भएकाले नारामा रोजगारलाई राख्नु उचित नहुने कार्यक्रमका सहभागीहरुले सुझाव दिएका थिए । सहभागीहरुकै सुझावको आधारमा नारा परिबर्तन गरिएको जिल्ला विकास समिति कास्कीका योजना अनुगमन तथा प्रशासकीय अधिकृत कीर्तनराज पौडेलले बताए । योसँगै आगामी बर्षका लागि प्रस्तावित बजेट र गोष्ठीमा आएका सुझाव समेटी विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुलाई पठाउने, योजना छनौटका आधार र भारलाई १० वटा शिर्षकमा विभाजन गर्ने, योजना तर्जुमा प्रक्रियाको सहजीकरणका लागि योजना तर्जुमा सहजीकरण टोली गठन गर्ने, आगामी माघ ५ गतेदेखि १२ गतेसम्म सबै ईलाकाहरुको ईलाका स्तरीय गोष्ठी सम्पन्न गर्ने निर्णय पनि गोष्ठीमा गरिएको छ । गोष्ठीमा आगामी बर्षदेखि बार्षिक रुपमा एउटा योजना सम्पन्न गर्ने नीति अवलम्बन गर्न पनि सुझाव दिएको थियो । जसमा आगामी बर्षका लागि एक घर एक धारा कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने र सकेसम्म एक बर्षभित्रै सम्पन्न गर्ने प्रश्ताव अघि सारिएको छ । आगामी बर्ष सडकको नयाँ ट्रयाक खन्ने काम भने पूर्ण रुपमा अन्त्य गर्न पनि प्रस्ताव गरिएको छ । जिल्लाका सबै गाविस भवनसम्म सडक सञ्जाल पुगिसकेकाले अव नयाँ सडक नखन्ने र भएका सडकलाई बाह्रैमास सञ्चालन गर्ने गरि स्तरोन्नती गर्ने प्रश्ताव गरिएको हो । यस्तै, अवण्डा बजेट नराख्न, क्रमागत योजनाको भार कम गर्न, २ लाख भन्दा साना योजना गाविसबाट सञ्चालन गर्न, छिटो लाभ दिने खालका योजनामा बजेट विनियोजन गर्न पनि सहभागीहरुले सुझाव दिएका छन् ।
जिल्ला विकास समिति कास्कीका लेखा अधिकृत हरि पंगेनीलाई  मंगलबार बिदाई गरिएको छ । बुधबारदेखि सिञ्चाईँ मन्त्रालयमा काम गर्नेगरि सरुवा भएका अधिकृत पंगेनीको मंगलबार जिल्ला विकास समितिमा एक कार्यक्रमको आयोजना गरी बिदाई गरिएको हो । पंगेनी २०६९ जेठ १ गते कास्की जिविसमा लेखा अधिकृतको रुपमा आएका थिए । अहिले कास्की जिविसको लेखा अधिकृतमा जयराम पौडेल आउनुभएको छ । जिल्ला प्राविधिक कार्यालयको लेखा शाखामा १२ बर्षदेखि निरन्तर काम गरेका भेषराज पौडेलको पनि मंगलबार बिदाई गरिएको छ । यसैगरी जिविसको उर्जा तथा बातावरण शाखामा आएका उर्जा तथा वातावरण अधिकृत आशिषमणि लामिछानेलाई स्वागत गरिएको छ । विदाई कार्यक्रममा पंगेनीले आफूले आफ्नो कार्यकालमा राम्रा कामको सुरुवात गरेपनि केही कामहरु गर्न नसकेको बताए । उनले आफ्नो कार्यकालमा आन्तरिक श्रोतको उल्लेख्य बृद्धी गर्न सकेको, भुक्तानी दिने ब्यवस्थालाई प्रविधिमैत्री बनाउन सकेको र सामाजिक सुरक्षा भत्तामा पेश्कीमाथि पेश्की दिने व्यवस्थालाई निरुत्साहित गरेको बताए । यस्तै कास्कीमा साना योजना माग गर्ने क्रमलाई निरुत्साहित गर्न चाहेपनि नसकेको र उपभोक्ता समितिलाई पेश्की शून्य बनाउन नसकेको बताए । कार्यक्रममा कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले पंगेनीले आफ्नो कार्यकालमा राम्रो कामको सुरुवात गरेका र त्यसलाई अझै निरन्तरता दिने प्रतिबद्धता जनाए ।

Post a Comment

 
Top