0
नेवा मिसा पुच कास्कीको आयोजनामा १ महिने मौलिक बाजा धिमे प्रशिक्षण कार्यक्रम नेवा छें भिमसेनटोलमा सम्पन्न भएको छ । युवाहरुलाई लक्षित गरि दिइएको प्रशिक्षणमा ५० जना युवा युवतीहरुले धिमे बाजा बजाउन सिकेका छन् । पाश्चात्य संगीतको प्रभाव युवाहरुमा परिरहेको बेला मौलिक बाजाको संरक्षण र प्रर्वद्धनका लागि प्रशिक्षण दिइएको कार्यक्रमका संयोजक नेवा मिसा पुच कास्कीका अध्यक्ष शान्ती उदासले बताए । समापन कार्यक्रममा बोल्दै धिमे बाजाका प्रशिक्षक सुर्य नारायण महर्जनले मौलिक बाजा र यस बाट निस्कने धुनले पनि हाम्रो पहिचान बोक्ने हुनाले यसको संरक्षण र बिकासमा जोड दिनुपर्ने कुरा जिकिर गरे । नेवा मिसा पुचले १ महिनाको अवधीमा मौलिक बाजा धिमे तथा नेवारी भाषाको प्रशिक्षण दिएको थियो । भाषा प्रशिक्षक उदय बहादुर अमात्यले भाषा प्रशिक्षणले मात्रै बोलीचालीमा नेवारीको भाषाको प्रयोग हुन नसक्ने भन्दै परिवारमै मातृभाषा बोल्नाले सन्तानले मातृभाषा प्रति अपनत्व गर्न सक्ने कुरा बताए । नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धिमे बाजा प्रशिक्षक सुर्य नारायण महर्जन, भाषा प्रशिक्षक, उदय बहादुर अमात्य, नेवा ल्याम्म दबुका अध्यक्ष सत्य नारायण डंगोल, नेवा गुठीका अध्यक्ष गणेशमान श्रेष्ठ, कार्यक्रमका प्रमुख अतिथी नेवा देय दबुका केन्द्रिय अध्यक्ष नरेश ताम्राकारलाई फेटा र माला लगाई सम्मान गरिएको थियो । कार्यक्रममा नेवा मिसा पुच कास्कीका सचिब संगीता बज्राचार्य, नेवा देय दबुका अध्यक्ष नरेश ताम्राकार, नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे लगायतले बोलेका थिए ।

Post a Comment

 
Top