0
अव्यवस्थित बसोबास, भूमिहिन किसान र सुकुम्बासी समस्या समाधानका लागि सुकुम्वासी समस्या समाधान आयोग कास्कीले सम्बन्धित पक्षहरु सँग छलफल तथा अन्तरक्रियालाई अगाडि बढाएको छ । यसै क्रममा पोखरा–१ को कसेरी शान्ति टोलमा अन्तरक्रियात्मक भेला सम्पन्न भएको छ । नेकपा (एमाले) वडा कमिटी पोखरा–१ को आयोजनामा भएको भेलालाई सम्बोधन गर्दै आयोगका कास्की जिल्ला अध्यक्ष मान बहादुर जि.सी ले कास्कीका भूमिहिन, अव्यवस्थित वसोबासी र सुकुम्बासी समस्या समाधानका लागि अयोग इमान्दार साथ अगाडि बढेको बताउँदै सवैको सहयोग र समर्थनका लागि आग्रह गरे । विगतमा विभिन्न आर्थिक अनियमितता र चलखेल हुने गरेको आरोप खेप्दै आएता पनि आफ्नो कार्यकालमा पूर्ण पारदर्शिता अपनाउदै वास्तविक व्यक्ति वा परिवारले जग्गा धनी प्रमाण पुर्जा पाउने गरी काम हुने उनले दावी गरे । कार्यक्रममा सुकुम्वासी समस्या समाधान आयोग कास्की का सदस्य वसन्त बरालले कार्तिक मसान्त सम्ममा आवश्यक कागजात सहित आयोगमा निवेदन दर्ता गर्नुपर्ने र दर्ता वापत कुनै शुल्क नलाग्ने जानकारी दिए । अन्तरक्रियामा एमाले क्षेत्र नं. २ का अध्यक्ष जीवन आचार्यले आयोगका विरुद्ध अनर्गल प्रचार हुन सक्ने तर्फ सचेत गराउँदै सुकुम्वासी समस्या विरोधीहरुसँग सचेत हुन आग्रह गरे । कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य खेम गुरुङ्ग, निवर्तमान सदस्य लाल बहादुर परियार, क्षेत्र नं. ४ का अध्यक्ष विष्णु के.सी, क्षेत्र नं. २ का सचिव पूर्ण लामा, स्थानीय समाजसेवी एवं एमाले नेता रुद्र तिमिल्सिना, मानव लामा लगायतले सुकुम्बासी समस्या अनिवार्य समाधान गरी समुन्नत पोखरा निर्माणमा अग्रसर हुनु पर्ने धारणा व्यक्त गरे । नेकपा (एमाले) पोखरा १ का अध्यक्ष शारदा पराजुलीको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत उपाध्यक्ष दामोदर रिमाल र संचालन रामभूषण पराजुलीले गरेका थिए । कार्यक्रममा स्थानिय सुकुम्बासीहरुले आयोग समक्ष आ–आफ्ना समस्याहरु पेश गरेका थिए ।

Post a Comment

 
Top