
‘सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गरांै’ भन्ने नाराका साथ राप्रपा नेपाल कास्की क्षेत्र नं. २ ले सुरु गरेको हस्ताक्षर अभियानमा मंगलबार ६ हजार हस्ताक्षर संकलन भएको छ । पोखराको चाउथे चोकमा बिहान ७ बजे र पृथ्वीचोकमा ११ बजेदेखि ७ बजेसम्म कार्यक्रम गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै राप्रपा नेपाल कास्की क्षेत्र नं. २ कि अध्यक्ष गीता गुरुङले राप्रपा नेपालले मात्र नेपालीको धर्म, संस्कृति र पहिचान जोगाउने पार्टी भएकाले जनलहर बढेको दावी गरिन् । ‘राप्रपा नेपाल उदयमान भइसकेको छ, अब उदाएको सुर्यलाई कसैले चाहेर पनि हत्केलाले छेक्न सक्दैन ।’ नेतृ गुरुङले पार्टीको मुद्यालाई नेपाली जनताले समर्थन गरिसकेकाले हिन्दु राज्यको विकल्प नभएको बताइन् । हिन्दु राज्यको विरुद्धमा अब स्वयं जनता नै प्रतिकारमा उत्रने उनको भनाई थियो । जिल्ला सदस्य पूर्णबहादुर गुरुङले आफूले नेपाल हिन्दु राष्ट्र घोषणा नभएसम्म पार्टीको झण्डा बोकेर हिंड्ने बताएका छन् । ‘मैले पार्टीको स्थापनाकाल देखि आयोजित कार्यक्रममा माइक, झण्डा, ब्यानरको व्यवस्थापन कार्य गर्दै आएको छु ।’ गुरुङले भने ‘यो कार्य नेपाललाई हिन्दु राष्ट्र घोषणा नगरेसम्म रोकिंदैन ।’ कार्यक्रममा जिल्ला सहसचिव रञ्जना सेन पौडेल, क्षेत्रीय कोषाध्यक्ष शर्मिला गुरुङ, क्षेत्रीय सदस्य सावित्री नौवाद, वयोवृद्ध राष्ट्रिय सम्मानित लक्ष्मण कार्की, वडा इकाइ सदस्य दिलु गुरुङ, जिल्ला सदस्य मिना सुवेदी, नन्दश्री गुरुङ, रामेश्वर कोइराला, जगतबहादुर कार्की, रामबहादुर तामाङ, अमिर मिया लगायतले बोलेका थिए । बुधबार पोखरा ११ शिवशक्ति माविमा कार्यक्रम हुने जनाइएको छ ।
Post a Comment