0
पोखराको चिप्लेढुङ्गामा रहेको पराजुली मार्गलाई तेस्रोलिङ्गी तथा समलिङ्गी निषेधित क्षेत्र घोषणा गरिएको घटनाप्रति परिवर्तन नेपाल र नौलो बिहानी पोखराले विरोध जनाएका छन् । शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी परिर्वतन नेपाल र नौलो बिहानीले संयुक्त रुपमा विरोध जनाएका हुन् ।
पत्रकार भेटघाट कार्यक्रममा बोल्दै परिर्वतन नेपाल पश्चिमाञ्चल मानवअधिकार कार्यक्रम संयोजक विन्दिया गौतमले नेपाल सरकारले समेत यौनिक तथा लैङ्गिक अल्पसंख्यक लाई मान्यता दिइसकेको अवस्थामा एकलौटी तरिकाले कुनै टोललाई अल्पसंख्यक निषेधित क्षेत्र घोषणा गरिनु गलत भएको बताइन् । अल्पसंख्यक समुदायलाई अन्य भनेर नागरिकता दिइसकेको अवस्थामा समाजमा यस्तो घटना धेरैपटक दोहोरिनु लज्जास्पद कुरा भएको भन्दै गौतमले नेपाल सरकारद्वारा ल्याइएको चौथो पञ्चवर्षीय मानव अधिकारलाई सम्बोधन गरिसकेको अवस्थामा छक्का निषेधित क्षेत्र घोषणा गरेको जानकारी पत्रलाई कास्की जिल्ला प्रशासन कार्यालयले मान्यता दिनु दुःखद् भएको बताइन ।
त्यस्तै मानवअधिकारकर्मी भूमिका श्रेष्ठले समलिङ्गी तथा तेस्रोलिङ्गी हरुको हकअधिकारको विषयमा धेरै अधिकार भएको नेपालमा अल्पसंख्यकलाई भेदभाव गर्ने निर्णय तत्काल सच्याइनुपर्ने बताइन । तेस्रो लिङ्गीलाई निषेध गर्ने निन्दनीय काम गर्नेहरुलाई कारवाहीको माग गर्दै श्रेष्ठले भनिन्–‘अहिले पनि केहीले आफ्नो फेसबुकबाट हाम्रो समाजलाई संकेत गरेर विभिन्न भनाई सार्वजनिक गरिरहनुभएको छ, त्यसैले उहांँलाई कानुन अनुसारको कार्वाही हुनुपर्छ, ताकि पछिको समयमा हामीले यस्तो निन्दनीय व्यवहार कसैबाट भोग्न नपरोस् ।’ घरबाट बाहिर आउनासाथ आफूहरुले धेरै समस्या भोग्नुपरेको र त्यस्ता व्यवहारलाई कतिपय शिक्षित व्यक्तिहरुले नै आश्रय दिएर साथ दिनु आफूहरुको मानवअधिकार हनन् भएको श्रेष्ठको भनाई थियो । समलिङ्गी, तेस्रोलिङ्गी समुदायलाई विश्व स्वास्थ्य संगठनले सन् १९९० मा प्राकृतिक भनेर घोषणा गरिसकेको छ । साथै हरेक वर्ष मे १७ तारिखमा समलिङ्गी, तेस्रोलिङ्गी घृणा विरुद्धको दिवस पनि मनाउंँदै आइरहेको छ । यस्तो अवस्थामा स्थानीय सुजनबाबु पौडेलले गत कार्तिक २ गते पोखराको चिप्लेढुङ्गास्थित पराजुली मार्गलाई छक्का निषेधित क्षेत्र घोषणा गर्दै ब्यानर समेत टागेका थिए । साथै पौडेलले आफ्नै फेसबुकबाट अल्पसंख्यक समाजको विरुद्ध अभियान चलाउंदै आएको परिर्वतन नेपाल र नौलो बिहानी पोखराले जनाएको छ ।

Post a Comment

 
Top