पोखरा उपमहानगरपालिका वडा नं.९, पृथ्वीचोकस्थित बसपार्कमा अव्यवस्थित रुपमा बस्दै आएका बसोवासीको पहिचान हुने भएको छ । पोखरामा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माणका लागि पोखरा उपत्यका नगर विकास समितिको आयोजनामा शुक्रवार बसेको सर्वपक्षीय भेलामा वास्तविक सुकुम्वासीको पहिचानको प्रक्रिया सुरु गर्ने निर्णय भएको हो ।“अनाधिकृत रुपमा बसोबास गर्दै आएका घरपरिवार वास्तविक सुकुम्वासी हुन् होईनन् त्यसको पहिचान गर्ने शुक्रवारको सर्वपक्षीय भेलाले निर्णय गरेको छ ।”–पोखरा उपत्यका नगर विकास समितिका वोर्ड सदस्य राजबहादुर गुरुङले जानकारी दिए । त्यस क्षेत्रमा बसोवास गर्दै आएका घरपरिवार सुकुम्वासी नै भएको भए नेपाल सरकारसँग समन्वय गरी व्यवस्थापन गर्ने पनि निर्णय भएको गुरुङले जानकारी दिए । “विभिन्न प्रक्रियाबाट वितरण भएका घडेरीको समूचित रुपमा व्यवस्थित गर्दै जतिसक्दो धेरै क्षेत्रफलमा र जतिसक्दो चाँडो पोखरा बसपार्क निर्माण गर्न पनि भेलाले म्याण्डेट दिएको छ ।”–गुरुङले प्रस्ट पारे ।
२०३२ सालमा कुल २ सय पाँच रोपनी जग्गा बसपार्कका लागि अधिग्रहण गरिएकोमा अव्यवस्थित बसोबासीसहित विविध कारणले उक्त क्षेत्रफल आधाभन्दा बढी घटेको छ । जसका कारण विभिन्न राजनीतिक दलहरुबीच पोखरा बसपार्क कति क्षेत्रफलमा बनाउने भन्नेबारे मतभेद उत्पन्न हुँदै आएको थियो ।
“बसपार्क निर्माणमा सबैपक्ष सकारात्मक भएका छन् । यसका लागि नगर विकास समिति अब द्रूत गतिमा लाग्छ ।”–नगर विकासमितिका अध्यक्ष विष्णु बाँस्तोलाले भने । बसपार्क निर्माणमा देखिएका सबैखाले समस्याको समाधानमा समिति लाग्ने पनि उनले जानकारी दिए । भेलामा बोल्दै सुकुम्वासी समस्या समाधान आयोग कास्कीका अध्यक्ष मानबहादुर जिसीले बसपार्कमा रहेका सुकुम्वासीको व्यवस्थापनका लागि आयोग तयार रहेको बताए । “सुकुम्वासीका कारण बसपार्क निर्माणमा अवरोध हँुदैन तर सबै राजनीतिक दलको सहमति हुनु प¥यो ।”–जिसीले भने ।
पोखरा उपत्यका नगर विकास समिति सदस्य तथा कांङग्रेस नेता बजिरमान श्रेष्ठले सबैको चाहनाका रुपमा रहेको पोखरा बसपार्क निर्माणमा सबै सकारात्मक रुपमा प्रस्तुत हुन आग्रह गरे । नेकपा एमालेका अध्यक्ष कृष्ण थापाले २०६४ सालमा भएको सर्वदलीय सहमति हनुसार बसपार्कको क्षेत्रफल कायम गर्न र सोही अनुरुप बसपार्क निर्माण हुनुपर्नेमा जोड दिए ।
एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य त्रिभुवन पौडेलले सकेसम्म बसपार्कका लागि सुरुमा छुट्याईएको २ सय पाँच रोपनी क्षेत्रफलमा निर्माण गर्नुपर्ने बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले बसपार्क निर्माणमा सबै राजनितीक दल आफ्नो दलीय स्वार्थभन्दा माथी उठेर अघि बढ्न आग्रह गरे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले विगतमा कहिँकतैबाट त्रुटी भएका भएपनि त्यसलाई सच्याउँदै बसपार्क निर्माणको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने बताए ।
अधिकारकर्मी रामबहादुर पौडेलले बसपार्क जस्तो नगरको अत्यावश्यक पूर्वाधार निर्माणमा राजनितीक दलहरु गम्भीर हुनुपर्ने बताउँदै जतिसक्दो बढी क्षेत्रफलमा बसपार्क निर्माण हुनुपर्ने बताए । पोखरा–९, पृथ्वीचोक, बसपार्क निवासी विष्णुमाया श्रेष्ठले बसपार्क निर्माणको प्रक्रिया अघि बढाउँदा त्यहाँका वासीन्दाको मर्का र मर्म बुझिदिन आग्रह गरेकी थिईन् । भेलाका अन्य सहभागीहरुले पनि बसपार्क निर्माण पर्यटकीय पोखराका लागि टड्कारो आवश्यकता भएको उल्लेख गर्दै जतिसक्दो छिटो यो प्रक्रिया थाल्न सुझाव दिएका थिए ।
Post a Comment