0
मानवअधिकारमैत्री संविधान निर्माणका लागि नागरिक स्तरबाट निरन्तर दवाव दिनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, शान्तिका लागि नागरिक समाजको सञ्जाल र सयपत्री समाजद्वारा मङ्सिर ९ गते पोखरामा आयोजना गरिएको मानव अधिकारमैत्री संविधान निर्माणका लागि नागरिक सम्वाद कार्यक्रमका सहभागीहरुले पहिलो संविधान सभाबाट प्राप्त उपलब्धीहरुको स्वामित्व ग्रहण गर्दै कमीकमजोरी लाई सच्याएर माघ ८ गते भित्र संविधान जारी गर्न सभासदलाई सुझाव दिए ।
कार्यक्रममा बोल्दै इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेलले राजनीतिक दल र नेताहरुमा जवाफदेहीताको कमी रहेको उल्लेख गर्दै  नागरिक सामु विगतमा गरेका प्रतिवद्धतालाई जिम्मेवारीपूर्वक कार्यान्वयन गर्नु पर्ने बताए । उनले पहिलो संविधानसभामा भएका कमीकमजोरीलाई सच्याएर नेपाललाई असफल राष्ट्र हुनबाट जोगाउन सहमतिमार्फत् संविधान जारी गर्नु पर्नेमा जोड दिदै सहमति नभएमा विधि र प्रक्रियाबाट मुलुकलाई निकास दिनुपर्ने बताए । सभासद सीता गिरीले संविधान सभाको म्याण्डेटलाई कार्यान्वयन गर्न राजनीतिक दलहरु सहमतिमा जुट्न नसके प्रकृयामा गएर भए पनि संविधान जारी गरी मुलुकलाई निकास दिनु पर्ने बताईन् । उनले निर्वाचनका बेला जनतासंग गरेका प्रतिवद्धतालाई कार्यान्वयन गर्ने धारणा व्यक्त गरिन् ।
सभासद् तेजकुमारी पौडेलले विगतमा भएका १२ बुँदे सहमति र अन्तरिम संविधान अनुसार सबैका मुद्दालाई सम्बोधन हुने गरी अग्रगामी संविधान निर्माण गर्न दलहरुवीच सहमति अपरिहार्य रहेको बताईन् ।
सभासद कुमार खड्काले ठूला राजनीतिक दलहरु संविधान जारी गर्न गम्भीर नभएकोले माघ ८ गते नै संविधान आउने सम्भावना अत्यन्तै न्यून रहेको उल्लेख गर्दै पहिलो संविधानसभामा असफल भएका राजनीतिक दललाई भोट हालेर जनताले ठूलो गल्ती गरेको बताए । उनले संविधानको अन्तरवस्तुमा दलहरु सहमति नजिक रहेतापनि त्यसपछिका विषयमा सहमति हुन नसकेको बताए ।
वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग पश्चिमाञ्चल क्षेत्रीय निर्देशक डा. टीकाराम पोखरेल नेपाली काँग्रेसका जिल्ला सचिव युवराज कुँवर ,नेकपा एमालेका जिल्ला सचिवालय सचिव तेजनारायण अधिकारी र युवराज पौडेल, एनेकपा माओवादीका अध्यक्ष दीपक कोइराला, प्रा.डा. विश्वकल्याण पराजुली, प्रा.डा. पशुपतिनाथ तिमल्सिना, प्राध्यापक पदमशरण रेग्मी, सयपत्री समाजका कार्यक्रम संयोजक गिरीधारी सुवेदीले इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेल लगायतले राजनीतिक दलहरुलाई मानवअधिकारमैत्री संविधान जारी गर्नका लागि नागरिक समाज एकजुट भएर निरन्तर खवरदारी गर्नुपर्ने बताए ।

Post a Comment

 
Top