0

पोखरामा केही दिनपछि संचालन हुन लागेको दोस्रो इक्यान एजुकेशनल फेयरमा सहभागी हुने विभिन्न एकजुकेशनल कन्सल्टेन्सी हरुले आफूहरुले लगानी गरे अनुरुप प्रतिफल दिलाउन आयोजक लाग्नुपर्ने खाँचो औंल्याएका छन् ।  पोखरामा रहेका विभिन्न कन्सल्टेन्सीहरुको संस्था इक्यानले एजुकेशनल फेयर गर्नका लागि वानअप कम्युनिकेशन्स काठमाडौं लाई जिम्मा दिएको छ ।
आयोजक तथा मेलाको व्यवस्थापन गर्ने वानअप कम्युनिकेशनले राम्रो व्यवस्थापन गर्न नसके आफूहरुको लगानी समेत डुब्ने सम्भावना रहेको एजुकेशनल कन्सल्टेन्सीका संचालकहरु बताउँछन् । उक्त मेलामा ५६ वटा स्टल रहने र ६ वटा प्याभिलियन रहने जानकारी इभेन्टस् व्यवस्थापक वानअपका रवि झाले दिएका छन् । प्याभिलियनका लागि करिब ५० हजार र स्टलका लागि १५ हजार रुपैयाँ तिर्न बाध्य भएका कन्सल्टेन्सीहरुले त्यसै अवसरमा प्रकाशन गरिने भनिएको डाइरेक्ट्रीका लागि पनि करिब ५० हजार तिर्ने बताइन्छ । यसका साथै प्रायोजक, सह–प्रायोजक तथा अन्य विभिन्न वाहनामा पनि तिनै संस्थाबाट न्यूनतम् ४० हजार देखि माथि रकम संकलन गर्न लागिएकोले सामान्य ढङ्गको प्रायोजक बन्ने संस्थाले पनि एक लाख ५० हजार रुपैयाँ भन्दा बढी तिर्नुपर्ने बाध्यता सृजना भएको छ । यहि अनुपातमा विभिन्न कन्सल्टेन्सीले रकम तिर्ने तथा मुख्य प्रायोजक, सहयोगी संस्थाका साथै मेलाको प्रस्तुतकर्ताहरुबाट चारदेखि ६ लाख रुपैयाँसम्म इभेन्टस् आयोजकले रकम लिने बताइन्छ । तीन दिने मेलाको पहिलो दिन उद्घाटन र अन्तिम दिन समापन कार्यक्रम हुने भएकोले मेला अवधि छोटो हुन पुगेको भन्दै शैक्षिक परामर्शदाता तथा कन्सल्टेन्सीका संचालकले आफूहरुले गरेको लगानी अनुसार प्रतिफल प्राप्त नहुने हो कि भन्ने आशंका प्रकट गरे । उनका अनुसार आफूहरुकै संस्थाको प्रवद्र्धनका लागि भनेर मेला आयोजना गरिएकोले आर्थिक, नैतिक र भौतिक सबै किसिमको सहयोग गरिएको तर प्रतिफलको तुलनामा खर्च ज्यादै हुने सम्भावना छ । कतिपयले भने इभेन्ट गर्ने कम्पनीले राम्रै रकम उठाउन सक्ने तर आयोजक इक्यानका सदस्यहरु मारमा पर्ने सम्भावना व्यक्त गरेका छन् । इक्यानका सदस्यहरुले मोटो रकम खर्च गर्नुपरे पनि त्यो रकम इक्यानमा नगइ इभेन्टस् व्यवस्थापन गर्ने समक्ष पुग्ने बुझिएको छ । गतवर्ष पहिलो पटक आयोजना गरिएको इक्यान फेयरमा करिब २६ हजार दर्शक आएको र यसपटक पनि सोही अनुपातमा दर्शकको सहभागिता रहने इक्यानका सचिव मिलन तिवारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।  इभेन्ट आयोजक वानअपका झाले भने मेलाको प्रवद्र्धनका लागि विभिन्न गतिविधि संचालन गर्दा खर्च धेरै हुने भएकोले आफूहरुलाई समेत नाफा नहुने बताए । मेलाको उद्घाटन गर्न चलचित्रका सुपर स्टार राजेश हमाललाई बोलाइने भएको छ ।

Post a Comment

 
Top