0
नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला एकीकृत नेकपा (माओवादी) प्रजातान्त्रिक मूलधारमा आइसक्दा पनि किन धम्क्याउने, तर्साउनेका काम जारी नै राखेको ? भन्ने प्रश्न गरेका छन् । उनले भने, “एमाओवादी आफूले भनेजस्तो भयो भने सबै ठीक अरु दलका काम सबै बेठीक भन्ने मानसिकताले ग्रस्त छ, प्रजातन्त्रमा यस्तो हुन सक्दैन ।” नेका, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन शक्ति पार्टी र दुई स्वतन्त्र सांसद्द्वारा भावी संविधानका मुख्य चार विषयवस्तु राज्यको पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीका बारेका भएका सहमतिलाई सार्वजनिक गर्न आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री कोेइरालाले संविधानका लागि सहमति बोलेर हुन्न व्यवहारमा देखाउनुपर्छ भने ।
प्रजातन्त्रको मूलधारमा आएपछि एमाओवादीले यसका मूल्य, मान्यता र चिन्तनअनुसारको व्यवहार प्रदर्शन गर्नुपर्छ, उसले यसो गरेको छैन अब उसले थर्काउने, धम्क्याउने, काम जारी राख्नु हुँदैन सभापति कोइरालाले बताए । शान्ति प्रक्रियामा महत्वपूर्ण काम हतियार व्यवस्थापन, लडाकू समायोजन टेबल वार्ताका माध्यमबाट नै भएको बताउँदै प्रधानमन्त्री कोइरालाले नेका, एमाले, राप्रपालगायत दलले संविधानका विषयमा ल्याएका संयुक्त प्रस्तावप्रति एमाओवादीको चित्त नबुझेको भए टेबलमै बसी हल खोज्न सकिन्छ भने । प्रधानमन्त्री कोइरालाले माघ ८ गते संविधान जारी हुन्छ, ढुक्क हुनुहोस्, यसका लागि सबैको साथ र सहयोग आवश्यक पर्छ भने । उनले नयाँ संविधानले शान्ति, स्थायित्व, विकासको ढोका खुलाउने विश्वास व्यक्त गरे ।
“नेपालको ६० वर्ष इतिहास सङ्घर्षमा नै बित्यो अब पनि कति सङ्घर्षमा नै बिताउने, गरिबीको नाममा कति राजनीति गरिराख्ने”– उनले भने । नेका र नेकपा (एमाले)का प्रस्तावमा एमाओवादी आउलान त ? भन्ने प्रश्नको जिज्ञासामा प्रधानमन्त्री कोइरालाले नआएर कहाँ जानुहोला त ? टेबल बार्तामा बस्छौं र उहाँहरूसँग छलफल गर्छौं भन्ने जवाफ दिए ।  “दलहरूको साझा सहमतिको दस्तावेजका रूपमा संविधान आउँदछ । हामीले ल्याएका साझा अवधारणा पहिले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा जान्छ । त्यहाँ छलफल हुन्छ । संविधानसभामा प्रवेश हुन्छ । त्यहाँ पूरा छलफल हुन्छ । यसपछि जनताका कहाँ जान्छ पुनःसमितिमा आउँछ । त्यसैले आफ्ना सहमतिप्रति एमाओवादी अहिले नै के के नै भयो भनी आत्तिनु हुँदैन”–प्रधानमन्त्री कोइरालाले भने । 
उनले भने,–“संविधान निर्माणका क्रममा हदैसम्मको लचकता अपनाउँछौ ।” पत्रकार सम्मेलनमा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले देश र जनताको आवश्यकताअनुसार सात प्रदेशमा सहमति भएको हो, अब योभन्दा माथि जान सकिँदैन भने । उनले संविधानसभाभित्र र बाहिर रहेका दलहरूको साथ, सहयोग र विश्वासमा नै माघ ८ मा संविधान आउँछ भने । अध्यक्ष ओलीले माघ ८ मा संविधान ल्याउँछौ भनेर जनता समक्ष प्रतिबद्धता जनाएका थियौँ, यही प्रतिबद्धता पूरा गर्ने काम गरेको स्पष्ट पारे ।
“आफ्नो पार्टी, नेका र अन्य दलबीचमा भएका सहमतिबाट कसैले कसैलाई पाखा लगाउने र कसैलाई छाड्ने काम भएको छैन”–उनले भने । अध्यक्ष ओलीले राष्ट्रिय एकता र अखण्डतालाई अझ सुदृढ बनाउँदै सबै नेपालीलाई एकजुट बनाउन आवश्यक छ, जनता उचालेर वितृष्णा जगाउने काम कोहीबाट गर्न नहुनेमा जोड दिए । उनले भने,–“पाँचथरमा गएर एकथरि बोल्ने, बाह्रबिगामा गएर अर्काेथरि बोलेर जनता भड्काउने काम जिम्मेवार दलहरूले गर्नहुन्न ।” “संवाद समितिका सभापति अस्वस्थ हुनुभएको होला, सञ्चो भएपछि बैठक बोलाइहाल्नुहुन्छ नि” सञ्चारकर्मीको एक जिज्ञासमा अध्यक्ष ओलीले भने ।
एमाओवादीका अध्यक्ष एवम् उच्चस्तरीय राजनीतिक संयन्त्रका अध्यक्ष पुष्पकमल दाहालले बोलाएका बैठकमा किन नगएको ? भन्ने जिज्ञासमा उनले भने, “पहिले नै बैठक नबस्ने भनेको थियौँ, उहाँ (दाहाल) के कामले सिंहदरबार जानुभएको थियो, उहाँले अरुलाई दोष थुपार्नु मात्र भएको हो ।” पत्रकार सम्मेलनमा नेकाका उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्षद्वय विद्या भण्डारी र भीम रावल सहभागी थिए ।
यसैगरी, राप्रपाका महामन्त्री दीपक बोहरा, बहुजन शाक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, स्वतन्त्र सभासद् अतहरकमाल मुसलमान र चन्द्रेश्वर झा पनि सहभागी थिए । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले संयुक्त प्रेस विज्ञप्ति वाचन गरेका थिए ।

Post a Comment

 
Top