0
प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. चिरञ्जीवि नेपालले  सुन र नुनमा एकै खालको कर लगाउन नहुनेमा जोड दिएका छन् । उनले निजी क्षेत्रको सहभागिता बिना देशको उन्नति नहुनेमा जोड समेत दिए । खुल्ला अर्थतन्त्रमा मात्र देशको उन्नति हुने बताउँदै उनले निजी क्षेत्रको प्रोत्साहनको लागि सरकार तयार रहेको जानकारी पनि दिएका छन् । पोखरा उद्योग बाणिज्य संघले आइतबार उनको सम्मानमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले आर्थिक उदारिकरणका लागि नीतिगत अस्पष्टता हुनु दुःखद् भएको बताए । उनले तीन खम्बे आर्थिक नीतिको आलोचना गर्दै कूल ग्राहस्थ उत्पादनमा १ दशमलव ५ प्रतिशत योगदान दिने सहकारी क्षेत्रको नियमन हुनुपर्नेमा जोड पनि दिए । गरिब देशमा सपना बेच्ने धन्दा खुबै फस्टाउने भएकोले देशका नेताहरुले सपना बाँढेको तर काम भने नगरेको गुनासो गरे । वार्षिक ८ अर्व २५ करोडको बिजुली किन्नु पर्ने नियतिबाट मुक्ति पाउन देशमा उर्जा विकासको लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको थालनी छिट्टै हुने जानकारी दिँदै उनले कम्पनी रजिष्ट्रारको कार्यालय पोखरामा नै राख्ने व्यवस्था गर्न आफू लागिपरेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष विन्दुकुमार थापाले पूर्वाधार निर्माणमा लाग्न सरकारसँग आग्रह गरे । उनले  मिसम्याच तथा न्यून विजिकरणको समस्या समाधान गर्न, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास छिटो गर्ने वातावरण मिलाउन तथा सार्क सम्मेलनमा भाग लिने क्रममा राजधानी आउनुहुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पोखरा भ्रमण गराउने वातावरण निर्माणको पहलको लागि आग्रह गरे । पोखरा उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष मीनराज काफ्लेले धन्यवाद तथा महासचिव रविन्द्रबहादुर प्रजुले संचालन गरेको कार्यक्रममा व्यवसायीहरु टीकाराम सापकोटा,चण्डिप्रसाद अर्याल, कुलबहादुर नेपाली, रेशम थापा लगायतले मन्तब्य राखेका थिए ।

Post a Comment

 
Top