0
सवारीसाधनको संख्यामा भएको वृद्धिसंगै पोखरा क्षेत्रमा सवारी दुर्घटना पनि बढ्दो छ । चाल आवको तीन महिनाको अवधिमा हेर्ने हो भनेपनि साउन र भदौको तुलनामा असोज महिनामा दुर्घटनाको संख्या ह्वात्तै बढेको छ । साउनमा दुईवटा र भदौमा पाँचवटामात्र सवारी दुर्घटना भएको कास्कीमा असोज महिनामा भने त्यो संख्या बढेर १५ पुगेको छ । असोज महिनामा दशैं लगायतको चाडपर्व परेकोले पनि सर्वसाधारणले रमाइलो संगै लापर्वाही गर्दा दुर्घटना बढेको बताइन्छ । दुर्घटनाका कारण भदौमा ३ जना र असोजमा ७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक राजेन्द्र कार्कीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उनका अनुसार अधिकांश सवारी दुर्घटना मोटरसाइकलका कारण हुने गरेको र विशेषगरि युवाहरु सवार साधनका कारण दुर्घटना बढ्ने गरेको छ । असोजमा २४ वटा सावरी साधन दुर्घटनामा परेकोमा ९ वटा मोटरसाइकल, ७ वटा जीप कार, ५ वटा बस, २ वटा ट्रक, ट्याङ्कर र १ ट्रयाक्टर रहेका छन् । ती दुर्घटनामा ७ जनाको मृत्यु र १३ जना घाइते भएको कार्कीले बताए ।
केही वर्षयता देशका विभिन्न स्थानमा सवारी दुर्घटना बढ्दै गएको अवस्थामा पोखरामा पनि दुर्घटनाको संख्या बढ्दै गएको हो । विशेषगरि पोखरा उपत्यका भित्रको पक्की सडक क्षेत्रमा नै दुर्घटनाको संख्या बढ्ने गरेको छ । चालु आवको ३ महिनाको अवधिमा २२ स्थानमा २४ वटा सवारीसाधान दुर्घटनामा परेकोमा असोजमा १५ स्थान, भदौमा ५ स्थान र साउनमा २ स्थानमामात्र दुर्घटना भएको थियो । पछिल्लो ३ वर्षकोृ दुर्घटनालाई हेर्ने हो भने कास्कीमा दुर्घटनाको संख्या बढ्दै गएको देखिन्छ । आव २०६९÷०७० मा ७० वटा सवारी साधन दुर्घटना हुँदा २४ जनाको मृत्यु भएकोमा २०७०÷०७१ को अवधिमा एकसय २७ वटा सवारी दुर्घटना भएको र ३६ जनाको मृत्यु भएको थियो । ती दुर्घटनामा घाइते हुनेहरुको संख्या पनि बढ्दो छ । अघिल्लो वर्ष ५२ जना गम्भीर र ९४ जना सामान्य घाइते भएकोमा पछिल्लो वर्ष अर्थात २०७०÷०७१ मा ७४ जना गम्भीर घाइते भएको र ८५ जना सामान्य घाइते भएका थिए । त्यस अवधिमा दुर्घटनाको संख्या पनि बढेको तथ्याङ्कले देखाएको छ । आव २०६९÷०७० मा ४७ वटा र आव २०७०÷०७१ मा ८७ वटा दुर्घटना भएका थिए । ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरणका लागि विशेष पहल गरिरहेको भएपनि दुर्घटनामा कमि आउन नसक्नुलाई सवारी चालकको लापर्वाही, सडकको विग्रंदो अवस्था र साघुरोपन मात्र नभएर पैदलयात्रु अर्थात सर्वसाधारणमा ट्राफिक चेतनाको कमि जस्ता कुरालाई प्रमुख कारण मानिन्छ ।
ट्राफिक चेतना जगाउनका लागि ट्राफिक प्रहरीले साप्ताहिक रुपमा सचेतनामूलक कार्यक्रम संचालन गरिरहेको कास्कीका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठले बताए ।  उनका अनुसार ट्राफिक प्रहरीले नेपाल प्रहरीसंग मिलेर नियमित तथा आकस्मिक चेकजाँच गरिरहेको छ ।
यसैबीच ट्राफिक प्रहरीले विभिन्न मितिमा विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका सवारी साधन वेवारिसे बन्नेक्रम समेत बढ्दो छ । सवारी दुर्घटनाका कारणमात्र नभएर चेकजाँचको क्रममा कागजपत्र नभएकाहरुको सवारी साधन नियन्त्रणमा लिएपछि उनीहरु आफ्नो साधन लिन नआउँदा कार्यालय परिसरमा ठूलो संख्यामा मोटरसाइकल जम्मा भएका छन् । ट्राफिक प्रहरीले आवश्यक प्रक्रिया पूरा गरेर लिलाम गर्ने हो भने पनि त्यसबाट राम्रै राजस्व संकलन हुन सक्छ तर लिलामको प्रक्रियामा हुने कानूनी जटिलताका कारण प्रहरीले नियन्त्रणमा लिइएको सवारी साधन अलपत्र अवस्थामा रहनेमात्र नभई कामै नलाग्ने गरि बिग्रंदै गएका छन् ।

Post a Comment

 
Top