0
पोखरा जेसीजको ३५औं अधिवेशन तथा चालिसौं वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयनका लागि जेसिज सदस्यहरु बीच प्रतिस्पर्धा शुरु भएको छ । नयाँ नेतृत्वमा जान चाहनेहरुले बिहीबार निर्वाचन समिति समक्ष आ–आफ्नो उम्मेदवारी दताृ गराएका छन् । जस अनुसार पोखरा जेसिजको अध्यक्ष बन्नका लागि ३ जना बीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष बन्नका लागि उम्मेदवारी दर्ता गराउनेहरुमा छविलाल सुवेदी, नवराज तिवारी र शिवप्रसाद कोइराला रहेका छन् । सुवेदी र तिवारी दुवै जना वर्तमान अध्यक्ष तिलकराम पौडेलका सल्लाहकार हुन् भने कोइराला वृद्धि सभापति हुन् । अध्यक्ष पदमा उमेद्वारी दिएका तिवारीका बारेमा उमेरको हद नाघेको भन्दै दावी विरोध परेपछि छानविन गर्न समय लाग्ने भएकोले शुक्रबारमात्र अन्तिम नामावली प्रकाशन हुने भएको छ । पोखरा जेसिजको कार्यकारिणी उपाध्यक्षमा पनि ३ जनाको उम्मेदवारी परेको छ, जसमा गणेश गिरी, शिव सुवेदी र किरण केसी रहेकोमा एकजना छानिनेछन् । त्यसैगरी ४ जना उपाध्यक्ष पदका लागि ६ जनाले उमेद्वारी दिएका छन्, जसमा दुर्योधन खड्का, नारायण खनाल, सुवास सुवेदी, युवराज पौडेल, नविन थापा र शिवराज घिमिरे रहेका छन् ।
यसैगरी ४ जना निर्देशक चाहिनेमा अनन्त प्रधानाङ्ग, यज्ञपुरुष रिजाल, छविलाल पौडेल, महेन्द्र सापकोटाका साथै अर्पण पौडेल गरी पाँच जनाले उमेद्वारी दिएका छन् । पोखरा जेसीजको निर्वाचनका लागि सन्तोष पोखरेलाई निर्वाचन आयुक्त र विष्णुप्रसाद थापालाई अधिवेशन निर्देशक बनाएको पोखरा जेसीजका अध्यक्ष तिलकराम पौडेलले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।

Post a Comment

 
Top