0
दक्षिण एसियाका भारत र पाकिस्तानका दुई कार्यकारी प्रमुखले छ महिनाको अन्तरालमा दुईपटक हात मिलाएको दृष्यले यस क्षेत्रमा दिगो शान्तिका लागि नयाँ  उचाइ प्राप्त गरेको छ । गौतमबुद्धको जन्मभूमि नेपाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले दोस्रोपटक हात मिलाउने संयोग बन्यो । काठमाडौँमा भव्यताका साथ सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) १८ औँ शिखर सम्मेलनलको समापनसत्र सकिएर बाहिरिने क्रममा ती दुई शीर्ष नेताले हात मिलाएको क्षण सम्मेलनका प्रतिनिधिको मात्र होइन, विश्वकै लागि अनुपम बनेको छ । ती दुई नेताले समारोहस्थलमा हात मिलाइरहँदा यसको तरङ्ग विश्वभर परेको छ । लामो सयमदेखि यी दुई मुृलुकबीच विभिन्न विवादका कारण आपसी चिसोपना देखिँदैआएको छ । झण्डै एक मिनेटको हात मिलाउने क्रममा उनीहरूबीच कुराकानीसमेत भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले मुस्कानका साथ सरिफलाई धाप मार्नुभएको थियो भने सरिफले टाउको हल्लाएका थिए । त्यसबेला सम्मेलन स्थल राष्ट्रिय सभागृह तालीको गड्गडाहटले गुञ्जयमान बन्यो । सम्मेलनको उद्घाटन सत्रमा बुधबार ती दुई प्रधानमन्त्रीको हात मिलाएको नदेखिँदा तथा काठमाडौँमा रहँदा आपसी भेटवार्ता भएको नपाइँदा उनीहरूबीचको सामिप्यताबारे आम चिन्ता जागेको थियो । बिहीबारै बिहान काभ्रेको धुलिखेलमा आयोजित रिट्रिटमा मोदी र सरिफबीच हात मिलेको र केहीबेर अनौपचारिक कुराकानी भएको चर्चा बाहिर आएको थियो । उनीहरूबीचको हात मिलाउने अवसरका लागि आयोजक मुलुक नेपालका प्रधानमन्त्री तथा सार्कका अध्यक्ष सुशील कोइरालाले अप्रत्यक्षरुपमा वातावरण तयार गरिदिएका थिए । यसअघि मोदीले २६ मे २०१४ मा भारतका १५ औँ प्रधानमन्त्री पदको सपथ ग्रहण गर्ने समारोहमा उहाँले आमन्त्रण गरेका सार्क मुलुकका अन्य कार्यकारी प्रमुखसँगै पाकिस्तानका प्रधानमन्त्री सरिफले उनीसँग हात मिलाउनुका साथै भेटवार्तासमेत गरेका थिए ।
बिहीबारको दृष्य नेपालका सञ्चार माध्यमका साथै सार्क मुलुक र विश्वका अन्य सञ्चार माध्यमका लागि पनि मोदी र सरिफको उक्त हात मिलाइएको दृष्य प्राथमिकतामा परेको थियो । भारतीय सञ्चार माध्यमले यसलाई विशेष महत्व दिएका थिए । सम्मेलनको सुरुवातदेखि नै भारतीय प्रधानमन्त्री मोदी र पाकिस्तानी प्रधानमन्त्री सरिफबीचको सम्बन्ध कस्तो देखिन्छ भनेर उत्सुकतापूर्वक हेरिएको थियो । रिट्रिटका अवसरमा दुवै प्रधानमन्त्रीले हात मिलाएको भन्ने समाचारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा सेलाउन नपाउँदै शिखर सम्मेलन समापनमा उनीहरूले हात मिलाएपछि अन्य मुलुकका राष्ट्र÷सरकार प्रमुख पनि उनीहरूसँगै तस्बिर खिचाउन नजिएका थिए । मोदीले माल्दिभ्सका राष्ट्रपति अब्दुल गैयुम, अफगानिस्तानका राष्ट्रपति असरफ  घानी र श्रीलङ्काका राष्ट्रपति महेन्द्रा राजपाक्षसँग हात मिलाएपछि सरिफसँग हात मिलाएका थिए ।
उद्घाटन सत्रमा हिजो मोदीले सन् २००८ को २६ नोभेम्बरमा भारतको व्यस्त सहर मुम्बईमा भएको बम हमलामा परी ज्यान गुमाएका नागरिकलाई स्मरण गर्नुभएको थियो । सो घटनामा पाकिस्तानी भूमिगत समूह लस्करे ए तोइबाको हात रहेको भारतीय पक्षको आरोप छ । यसअघि काठमाडौँमा सन् २००२ को जनवरी ४ देखि ६ मा भएको ११औँ सार्क शिखर सम्मेलन हँुदा भारत र पाकिस्तानको आपसी सम्बन्ध सुमधुर नहुँदा त्यसको प्रतिकूल असर देखापरेको थियो । त्यसबेला पाकिस्तानका तत्कालीन राष्ट्रपति जनरल परवेज मुसर्रफ चीनको हवाई मार्गबाट काठमाडौँ आउनुले यी दुई देशबीचको आपसी बेमेल प्रदर्शन गरेको थियो भने भारतका तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीसँग नेपालमा १३ वर्षअघि सम्पन्न ११औँ शिखर सम्मेलनमा मञ्चमै अचानक बाजपेयीसँग हात मिलाएको घटनाले विश्वभर चर्चा पाएको थियो ।

Post a Comment

 
Top