0
पोखरामा क्यान कास्कीको आयोजनामा सञ्चालित एक दिने कम्प्युटर प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सभापतित्व गर्दै क्यान कास्कीका अध्यक्ष गुणानिधि पाण्डेले यस्ता कार्यक्रमले कम्प्युटरमा दक्ष जनशक्ति विकासमा योगदान पुग्न सक्ने विश्वास व्यक्त गरे ।
क्यान कास्कीका तृतीय उपाध्यक्ष युवराज पौडेलको संयोजकत्व भएको कार्यक्रममा ग्राफिक्स डिजाइन र त्यसको प्रभावकारी प्रयोगसँगै प्रिन्टिङ प्रोसेसको बारेमा समेत सहभागिहरुलाई प्रशिक्षण दिइएको थियो ।पोखरा प्रि–प्रेस प्रा.लि. मा कार्यरत ग्राफिक्स डिजाइनर शशि न्यौपानेले प्रमुख प्रशिक्षकको रुपमा प्रशिक्षण दिएको प्रशिक्षणमा कसरी प्रभावकारी डिजाइन तयार गर्न सकिन्छ भन्ने विषयमा विशेष जोड दिइएको थियो । कार्यक्रममा क्यान कास्कीको तर्फबाट प्रशिक्षक शशि न्यौपानेलाई मायाको चिनो समेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा ग्राफिक्स डिजाइन सम्बन्धी प्रोग्रामलाई प्रभावकारी रुपमा अध्यापन गराउन सकियो भने पोखरामा आवश्यक जनशक्ति उत्पादन गर्न सकिने क्यान कास्कीका द्वितीय उपाध्यक्ष चिन्तामणि बरालले बताए । कार्यक्रममा प्रशिक्षार्थीका तर्फबाट आफ्नो मन्तव्य राख्दै घननाथ सापकोटाले प्रशिक्षणले आफूहरुलाई प्रभावकारी अध्यापनमा सहयोग पुग्नुका साथै हासिल गरेको ज्ञानलाई व्यवहारमा उतार्ने बताए । 
पोखरा तथा लेखनाथ क्षेत्रका १७ जना कम्प्युटर प्रशिक्षकहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन क्यान कास्कीका महासचिव रुक्मागत भण्डारी “विश्वास”ले गरेका थिए । कार्यक्रमको समापनका अवसरमा प्रमाणपत्र वितरण गर्दै क्यान कास्कीका निवर्तमान अध्यक्ष चण्डि प्रसाद अर्याल, द्वितीय उपाध्यक्ष राजेन्द्र शर्मा, कोषाध्यक्ष कृष्णराज पोखरेल लगायतले सहभागीहरुलाई आफूले आर्जन गरेको ज्ञानलाई सफलतापूर्वक व्यवहारमा उतार्न सुझाव समेत दिएका थिए ।

Post a Comment

 
Top