
बाल तथा महिला सशक्तिकरण समाज नेपाल कास्कीको व्यवस्थापन तथा सहयोग र गाइ ट्रष्ट युकेको आर्थिक सहयोगमा कास्कीको अर्मला गाविस १ जुम्लिटी स्थित श्री शान्ति उच्च माविमा पुस्तकालय स्थापना गरिएको छ । बाल तथा महिला सशक्तिकरण समाज, सी.डब्लु.इ.एस.ले एक्सन एड नेपालको साझेदारीमा अर्मला गाविसमा स्थानीय अधिकार कार्यक्रम सञ्चालन गरिरहेको छ । सोहि कार्यक्रम अन्तर्गत करिब ५ लाख बराबरको आर्थिक सहयोगमा शान्ति उच्च मावि अर्मलामा पुस्तकालय स्थापना गरिएको सी.डब्लु.इ.एसका अध्यक्ष सीता भट्टराईले बताइन । पुस्तकालयको मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच गाइ ट्रष्ट युकेका संस्थापक आमा विक्की र बाबु टोनीले उद्घाटन गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर कार्कीको अध्यक्षमा भएको कार्यक्रममा एक्सन एड नेपालका कार्यक्रम अधिकृत रेणु श्रेष्ठले विद्यालयमा पुस्तकालय स्थापना जस्तो महत्वपूर्ण कार्यमा साझेदारी गर्न पाउदा खुशी लागेको बताइन । सी.डब्लु.इ.एस.कास्कीका अध्यक्ष सीता भट्टराईले महिला र बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको संस्थाले विद्यालयमा पुस्तकालय स्थापनामा सहयोग गरेको बताइन । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लिलाधर आचार्यले विद्यालयमा पुस्तकालयको अन्त्य आवश्यकता रहेको अवस्थामा पुस्तकायलको स्थापना भएको बताउँदै अब यसलाई व्यवस्थित र संरक्षण गर्नु पर्नेमा जोड दिए । विद्यालयका शिक्षक लक्ष्मण खवासले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा ट्रष्ट गाइका संस्थापक टोनी र विक्कीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर कार्की र प्राचार्य डम्बर बहादुर अधिकारीले विद्यालयको तर्फबाट माया चिनो पनि प्रदान गरेका थिए । विद्यालयका सहायक प्राचार्य गणेश बहादुर खड्काले सञ्चालन गरेको कार्यक्रममा एक्सन एड युकेका लुईस, सी.डब्लु.इ.एसका उपाध्यक्ष भुवन पराजुली, सचिव गीता आचार्य, सहसचिव मोना गिरि, कार्यक्रम संयोजक दुर्गा शर्मा, इसीडीका फोकल पर्सन रमीता महतो र मीना लिगल लगायत विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थिति रहेको थियो ।
Post a Comment