0
जिल्लास्तरीय मानवअधिकार निगरानी समुहले कात्तिक १३ गते शिक्षा, स्वास्थ्य र खाद्यअधिकारका बारेमा सेवा प्रदायक निकायबाट भएको सेवा प्रवाह र सुविधाका बारेमा विभिन्न सरोकारवाला निकायसँग भेटघाट तथा छलफल सम्पन्न गरेको छ । जिल्लास्तरीय मानव अधिकार निगरानी समूहका संयोजक कृष्णप्रसाद बरालको नेतृत्वमा गएको टोलीले जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु विकास कार्यालयका प्रमुख तथा प्रतिनिधिसंग भेटघाट गरी स्थानीय तहका समस्याको बारेमा छलफल गरेको हो । निगरानी समूहले गाविस स्तरमा सचिव नियमित उपस्थित नहुने गरेको, विद्यालयमा नियमित निरीक्षण र अनुमगन नगरिएको, कृषि कार्यालयबाट माटो परीक्षण, कृषि सम्बन्धी व्यवसायिक तालिम, उन्नत वीउ विजन समयमै उपलब्ध हुन नसकेको, तथा उत्पादित वस्तुहरुको बजारीकरणमा समस्या भएको, स्वास्थ्यचौकीबाट नियमित सेवा प्रदान हुन नसकेको लगायतका समस्याका बारेमा सम्बन्धित कार्यालय प्रमुखसंग छलफल गरी ध्याकर्षण गराएको हो ।
जिल्ला विकास समितिका योजना अनुगमन तथा मूल्याङ्कन अधिकृत कीर्तनराज पौडेलले सबै गाविसका सचिवहरुलाई मन्त्रालय बाटै अनिवार्य रुपमा सम्बन्धित गाविसमा बसी सेवा उपलब्ध गराउन निर्देशन दिइएको बताए । जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले विद्यालयको अनुगमन, निरीक्षणलाई तत्काल बैठक बसेर नियमित बनाउने प्रतिवद्धता व्यक्त गरे । जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक मधुसुदन कोइरालाले स्वास्थ्य चौकीमा हरेक दिन १० बजेदेखि ३ बजेसम्म विरामीको जाँच र ३ बजेदेखि ५ बजेसम्म प्रशासनिक काम गर्ने स्पष्ट निर्देशन भएकाले सोही अनुसार सेवा उपलब्ध गराउन प्रतिवद्ध रहेको बताए ।
जिल्ला कृषि विकास अधिकृत प्रभात न्यौपाने र योजना अधिकृत नारायण खत्रीले पकेट क्षेत्रको आधारमा सहकारी खेती, सानासिंचाई कार्यक्रम सञ्चालन भएको जानकारी गराउँदै आवश्यकता अनुसार अन्य सेवा उपलब्ध गराउँदै आएको बताए । जिल्ला पशु कार्यालयका निमित्त कार्यालय प्रमुख शम्भुराज पाण्डेले साधनस्रोतले भ्याएसम्म ग्रामिण स्तरमा पशुसेवा उपलब्ध गराएको बताए । इन्सेकद्वारा सञ्चालित जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत  हंसपुर, थुम्की, रुपाकोट र देउराली गाविस स्तरबाट सेवाग्राहीबाट आएका शिक्षा, स्वास्थ्य र खाद्यअधिकारका सम्बन्धी गुनासा तथा सुझावलाई जिल्लास्तरीय मानवअधिकार निगरानी समुहले सरोकारवाला निकायसंग भेटगरी ध्यानाकर्षण गराएको हो । कार्यक्रममा इन्सेक पश्चिमाञ्चल संयोजक शिव खकुरेल, इन्सेक पोखराका फोकल पर्सन सवनम शर्मा, मानवअधिकार निगरानी समुहका सदस्यहरु दुर्गा केसी, गोमा प्रधान, बलराम घिमिरे, जानकी शर्मा, राज क्षेत्री, हंसपुर, थुम्की, रुपाकोट र देउराली गाविस सहजकर्ता क्रमशः सिर्जना लामिछाने सुवेदी, सुवास सुवेदी, सरीता तिमिल्सिना, तिर्सना तिमिल्सिना र इन्सेक जिल्ला प्रतिनिधि सनबहादुर थापाको सहभागिता रहेको थियो ।

Post a Comment

 
Top