0
विभिन्न जडिवुटीको धुलोको मिश्रणलाई आगोको ज्वालाबाट शरीरमा प्रहार गरी उपचार गरिने बिधि ज्वाला प्रज्वलन विधिबाट विदेशी पर्यटकहरुले समेत उपचार गराएका छन । हालै पोखरा घुम्न आइपुगेका अष्ट्रिया र जर्मनीका पर्यटकहरुले पोखरा १० बुद्ध शान्तिमार्गमा रहेको टांसी छ्योएलिङ गोपाल गुम्बामा ज्वाला प्रज्वलन विधिबाट उपचार गराएका हुन् । पोखरा आसपासमा रहेका विभिन्न रोगका विरामीहरुलाई ज्वालाको माध्यामबाट विदेशी पर्यटकहरुले समेत वेलाबेलामा ज्वालाको माध्यामबाट प्राकृतिक उपचार गर्दै आइरहेका गुम्बाका मुख्य लामागुरु आम्ची गोपाल लामाले बताए ।
विशेषगरी चिसो मौसमको समयमा चिसोबाट लाग्ने विभिन्न रोगहरु शरीरको विभिन्न भागहरु दुख्ने, झमझमाउने, जोर्नी दुख्ने, पिनास लगायतका रोगहरुको विभिन्न जडिबुटीको मिश्रणबाट बनेको धुलोलाई ज्वालाको माध्यमबाट शरीरमा प्रहार गरी उपचार गर्दा ठीक हुने भएकाले पर्यटकहरु यो समयमा पोखरा आएर बिरामी भएको बखतमा गुम्बामा उपचारको लागी आउने गरेको उनको भनाइ रहेको थियो ।
यसपटक जर्मनी र अष्ट्रियाका गरी ६ जना पर्यटकहरु गुम्बामा उपचारका लागी आएका थिए । लगातार तीन दिनको उपचार पश्चात उनीहरुले आफूहरुलाई नौलो तरिकाले उपचार गरी ठीक बनाएकोमा धन्यबाद ब्यक्त गरे ।
उपचार पश्चात् जर्मनीका मारिया क्रिष्टिने हेइडगरले आफूहरु गाइडको माध्यमबाट गुम्बामा उपचारका लागि आएको र चिसोका कारण शरिर अफ्ठेरो महसूस भइरहेको र ज्वालाको माध्यमबाट उपचार गर्दा ठीक भएको बताइन । उनले भनिन–शुरुमा आगो शरिरमा प्रहार गर्दा डर लागेको थियो तर उपचार गर्ने भनेर नडराई उपचार गर्न दिनदिनै आए ठीक भयो धन्यबाद छ गुरु र गाइडलाई । त्यसैगरी अष्ट्रियाका लेन्का वावटजिनले आफूलाई मनमा धेरै कुराहरु खेल्ने गरेको र बेला–वेलामा नकारात्मक सोचहरु आउने गरेको तीन दिनसम्म ज्वालाको माध्यमबाट उपचार पछि निकै राहत मिलेको बताए । उनले भने–म त आए अब नेपाल आउने मेरा साथीहरुलाई एक पटक पोखराको यो गुम्बामा आउन भन्छु ।
पर्यटकहरुलाई गुम्बामा ल्याउने गाइड चन्द्रमान कुमालले आफूले पोखरा आएको बेला आफूले ल्याएका पर्यटकहरुलाई पोखरामा रहेका गुम्बाहरु घुमाउने गरेको र विरामी परेकाहरुलाई ज्वालाको विधिबाट उपचार गराउन ल्याउने गरेको बताए । वर्षेनी गुम्बामा १५ जना सम्म विदेशीहरु ज्वालाको माध्यमबाट उपचार गर्न आउने गरेको गुम्बाले जनाएको छ । विदेशी बाहेक पोखरा र आसपासमा रहेका विभिन्न रोगहरु प्यारालाईसिस, महिनावारी गडवड, ढाडको दुखाई, अनिद्रा, पिनास लगायत रोगहरुको ज्वालाको प्रहारबाट सफल उपचार गराउदै आइरहेको गुम्बाका लामागुरु उर्जिन गुरुङले बताए ।

Post a Comment

 
Top