0
एकीकृत नेकपा माओवादीका केन्द्रीय कोषाध्यक्ष हरिबोल गजुरेलले एमाओवादी फेरि फुट्ने हो कि भन्ने आशंका व्याप्त रहेको बताएका छन् । क्रान्तिकारी पत्रकार संघ कास्कीद्वारा संचालित थमन–महेश पत्रकारिता पुरस्कार सम्मान कार्यक्रममा उनले एमाओवादी पार्टीका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईको विवादले कार्यकर्ता र जनतामा समेत निराशा पैदा गरेको बताए । पार्टीका यी दुई नेताहरु कहिले अतिनै मिल्ने र कहिले एकदम झगडा गर्ने परिपाटी पहिलेदेखि नै चल्दै आएको भन्दै उनले जतिसुकै विवाद भएपनि पार्टी नफुट्ने उनले दावी गरे । आन्दोलनमा सशक्त भएको पार्टी माओवादी प्रचण्ड, बाबुराम र वैद्यकै कारणले विग्रिएको भन्दै सभासद समेत रहेका गजुरेलले सबैले आत्माआलोचना गर्दै पार्टीलाई एक बनाए अघि बढ्नुपर्नेमा जोड दिए । 
संघीयताकै कारण एमाओवादी चुनावमा पराजित भएको हल्ला निराधार भएका भन्दै उनले संघीयताका कारणले नभई पार्टीले जनयुद्धकालमा जनतासमक्ष गरेका प्रतिवद्धता पूरा नगरेका कारण पार्टी पराजित भएको स्पष्ट पारे । उनले भने संविधानसभाको निर्वाचनमा पराजित र पार्टी विभाजित भएपछि सबै नेताहरुको चेत खुलेको छ, अब छिट्टै दृुई माओवादीबीच पार्टी एकता हुन्छ । संघका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा–माओवादीका नेता श्रीनाथ बराल, सभासद तेजकुमारी पौडेल, सम्मानित व्यक्तित्व महेश्वर दाहाल, संघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्ट, अग्रज पत्रकार एवं प्रतिभा छनौट समितिका संयोजक कोमलनाथ बराल, पत्रकार दीपक परियार, घनश्याम पाण्डेय लगायतले आ–आफ्नो भनाई राखेका थिए । स्व. थमन परियार र स्व.महेश पहारीका परिवारद्वारा स्थापित पुरस्कारको राशि २५ हजार नगद, ताम्रपत्र र दोसल्ला रहेको छ । यसैगरी कार्यक्रममा क्रान्तिकारी पत्रकार संघ कास्कीले सञ्चालन गरेको थमन–महेश स्मृति पत्रकारिता पुरस्कारको अक्षय कोषका लागि विजय ढकाल शहिद स्मृति प्रतिष्ठानको तर्फबाट पत्रकार विश्वप्रकाश लामिछानेले २५ हजार र महेश पहारीकी धर्मपत्नी दुर्गा पहारीले १५ हजार रुपैयाँ प्रदान गरेका थिए ।
पत्रकार महेश्वर दाहाललाई सम्मान गरिएको कार्यक्रममा प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी बीच पार्टी एकताको चर्चा निकै चल्यो । हुन त यो चर्चा यी दुवै पार्टीका केन्द्रीय तहमा पनि नचलेका होइनन् । सम्मान कार्यक्रम अवधिभर नै पार्टी एकताको चर्चा भइरह्यो । संयोग हो या अन्य कारणले एमाओवादी निकट क्रान्तिकारी पत्रकार संघले नेकपा–माओवादी निकट पत्रकार महेश्वर दाहाललाई उक्त पुरस्कार प्रदान गरेको थियो । यो विषय नै कार्यक्रम अवधिभर नै चर्चा र चासो भइरह्यो । पुरस्कृत व्यक्तित्व दाहाल क्रान्तिकारी पत्रकार संघका संस्थापक अध्यक्ष हुन्, पछि उनी पार्टी विभाजन संगै वैद्य माओवादीतिर लागेका थिए । उनी हाल नेकपा–माओवादीका केन्द्रीय सदस्य एवं प्रचार–प्रसार विभागका प्रमुख समेत हुन् । यो सम्मकी सम्मान कार्यक्रमको व्यवस्थापनमा मोहन वैद्य निकटको क्रान्तिकारी पत्रकार महासंघ कास्कीका अध्यक्ष नवराज सापकोटाको महत्वपूर्ण भूमिका रहेको बताइन्छ । कार्यक्रममा बोल्ने प्रमुख अतिथि एमाओवादीका केन्द्रीय कोषाध्यक्ष हरिबोल गजुरेलदेखि सबैले पार्टी एकताको सन्देश दिएको बताए । उनले भने–यो कार्यक्रममा पार्टी एकताका लागि वहस र छलफल भइरह्यो, यो सकारात्मक पक्ष हो । यसले पार्टी एकतालाई महत्वपूर्ण सहयोग पु¥याउँछ ।’ नेकपा–माओवादीका केन्द्रीय सदस्य एवं तमुवान इन्चार्ज श्रीनाथ बरालले व्यङ्ग्यात्मक शैलीमा माओवाद एउटा भएपनि माओवादी धेरै भएको भन्दै कार्यक्रमले अनौठो सन्देश दिएको बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले सम्मान कार्यक्रमले दुई माओवादीबीच एकताको सन्देश दिएको र दुईपार्टीबीच एकता भएमात्रै राष्ट्रिय राजनीति र पत्रकारिता क्षेत्रका पनि महत्वपूर्ण आयाम थपिने बताए । सम्मानित व्यक्तित्व महेश्वर दाहालले पुरस्कारले आफूलाई बोझ थपिएको र पार्टी एकताका लागि ठूलो पहलकदमी भएको बताए । हामीहरु छुट्टै पार्टीमा रहेपनि कार्यगत र भावनामा कहिल्यै अलग नभएको भन्दै पार्टी एकताका लागि कुनै कठिनाई नभएको उनले बताए । उनले आफूले पाएको पुरस्कार रकमलाई आगामी जेठभित्र पुस्तक प्रकाशन गर्न लागेको र त्यसैमा खर्च गरिने बतचाए । कार्यक्रमको समापनमा बोलेका संघका कास्की अध्यक्ष त्रिभुवन पौडेलले घुमाउरो शैलीमा पार्टी एकताका लागि नै आफूहरुले दाहाललाई सम्मान गरेको बताए । उनले भने–सम्मानित व्यक्तित्व दाहाल अर्को पार्टीमा हुनुहुन्छ तर हाम्रो संघका संस्थापक हुनुहुन्छ । पार्टीको घेरा भन्दा केही बाहिर गएर उहाँलाई सम्मान गरेका छौं । यो पार्टीगत नभइ पत्रकारिताको हिसावले सम्मान गरिएको हो ।’ उनले यो सम्मानले पार्टी एकताको सन्देश दिन खोजेको भए नेताहरु गम्भीर बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्ने सभासद तेजकुमारी पौडेल, अग्रज पत्रकार कोमलनाथ बराल, रुद्र भट्ट, गोविन्द आचार्य लगायतले पनि पार्टी विभाजनले सबैलाई पीडा बोध भएकाले एकतामा जोड दिएका थिए ।

Post a Comment

 
Top