0
पोखरामा नयाँ हस्पिटल संचालनमा आउने भएको छ । पोखरा उपमहानगरपालिका वडा नं. १० अमरसिंहचोकमा पार्कल्याण्ड हस्पिटल संचालनमा आउन लागेको हो । हस्पिटलका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको र अबको केहिदिनमा नै हस्पिटल संचालनमा आउने पार्कल्याण्ड हस्पिटल प्रा.लिका अध्यक्ष डा. महेन्द्र केसीले जानकारी दिए । डा. महेन्द्र के.सी, डा अञ्जना के.सी, डा. शिव पराजुली, डा. चन्द्रबहादुर पुन, डा. निर्मल थापा, डा. अनु शेरचन, डा. गणेश विक, डा. हेमन गुरुङ र डा. केशव तिमिल्सिना लगायतको टोलीले हस्पिटल संचालन गर्न लागेका हुन् । हस्पिटल संचालनका लागि पहिलो चरणमा झण्डै चार करोड रुपैयाँ लगानी गरिएको छ । धेरै सम्भावना भैकन पनि पोखराको सेतीवारि क्षेत्र पछाडि परेको छ अध्यक्ष डा. महेन्द्र केसीले भने–स्वास्थ्य सेवामा पनि पछि परेकाले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ हस्पिटल संचालन गर्न जुटेका हौं । उनले गरिव र निम्न वर्गका नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउनु नै आफूहरुको उद्देश्य भएको स्पष्ट पारे। हस्पिटलको सेवाबाट पोखरा – १०, १२, १३, १४, १५, १८, लेखनाथ नगरपालिका, कास्कीको आर्वाविजय गाविस र तनहुँका विरामी बढि लाभान्वित हुने विश्वास लिइएको छ । हस्पिटलबाट विशेषज्ञसहितको स्वास्थ्य सेवा उपलव्ध गराईने बताइएको छ । हस्पिटलले २४ सै घण्टा इमर्जेन्सि सेवा, हाडजोर्नी, पेट, छाति, मुटु, सुरक्षित गर्भपतन सेवा, प्रसुति सेवा, नाक, कान, घाँटी, कम्प्युटराइज एक्सरे सेवा, आइसियू, चिरफार नगरीकन नै पित्त थैलीको अप्रेशन (ल्याप्रोस्कोपी) सेवा र मृगौलाको उपचार सेवा प्रदान गरिने छ । त्यसैगरी, मुटुको लागि टिएमटि र फोक्सोको लागि पिएफटि सेवा पनि प्रदान गरिने बताइएको छ । हस्पिटल संचालनको केहि समयपछि नै शिशु सघन उपचार सेवा (एनआईसियू) पनि थप गर्ने लक्ष्य लिइएको छ । सो हस्पिटलले झण्डै पचास जनालाई रोजगारी पनि दिने छ । सो हस्पिटल संचालनमा आएसँगै पोखरामा निजी क्षेत्रबाट संचालन गरिएका हस्पिटलको संख्या एक दर्जनभन्दा बढि पुग्ने गन्थन डटकममा खबर छ ।

Post a Comment

 
Top