0
तीन महिनादेखि विवादमा रहेको पोखराको पर्यटन बस पार्कको सहमति पछि संचालनमा आएको छ । पर्यटक बसपार्कको रुपमा प्रयोग भईरहेको जग्गा उपयोग गर्न नपाएको विरोधमा रहेका पर्यटन व्यवसायी र बसपार्कको जग्गा ठेक्का पाएको कम्पनि पोखरा सेन्टर लिजिङबिच सहमति भए पछि सन्चालनमा आएको हो । सहमति पछि पर्यटन व्यवसायीले विहीबारदेखि बसपार्क प्रयोग गर्न थालेका छन् । बसपार्कको विवाद सल्टाउने क्रममा ठेक्का पाएको कम्पनी र पर्यटन व्यवसायीको छाता संगठन पोखरा पर्यटन परिषद्बिच नयाँ सम्झौता भएको छ । सबै दायित्व आधा आधा हुनेगरि सहमति भएपछि बसपार्कमा बस पार्किङ गर्न थालेको नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस (नाट्टा) पोखराका महासचिव सञ्जयकान्त सिग्देलले बताए । ‘परिषद र पोखरा सेन्टर लिजिङले सबै दायित्व आधा बाड्ने सहमति भएपछि बसपार्कबारे राजी भएका हौं’ उनले भने, ‘दुई संस्थाले बसपार्क संयुक्त रुपमा संचालन गर्ने सम्झौता भएको छ ।’
पोखरा उपत्यका नगर विकास समितिले पर्यटक बसपार्कको रुपमा प्रयोग भईरहेको राष्ट्रबैंकचोकको १८ रोपनी जग्गा पोखरा सेन्टर लिजिङलाई भाडामा लगाएको थियो । पर्यटन व्यवसायिले उक्त जग्गालाई बसपार्कको रुपमा प्रयोग गर्न पाउनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका थिए ।
आफुहरुलाई बसपार्कको रुपमा प्रयोग गर्न नदिएपछि शुल्क तिरेर पार्क नगर्ने भन्दै व्यवसायीले सडकबाटै बस संचालन गरिरहेका थिए । पश्चिमाञ्चल क्षेत्रीय प्रशासकको रोहवरमा नयाँ सम्झौता गरिएको हो । पर्यटक बसपार्कको रुपमा प्रयोग भईरहेको जग्गा भाडामा दिने भन्दै आव्हान गरिएको टेण्डरमा पोखरा सेन्टर लिजिङले पाएको छ । टेण्डर पाएको कम्पनि पोखरा सेन्टर लिजिङले सर्वाधिक वार्षिक ६ लाख (मासिक ५० हजार) रुपैयाँ रकम तिर्ने पोखरा उपत्यका नगरविकास समितिसँग सहमति भएको थियो ।

Post a Comment

 
Top