0
पोखरा उद्योग वाणिज्य संघको विधान संशोधन गरिनुपर्ने व्यवसायीहरुले बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले मंगलबार आयोजना गरेको व्यवसायिक छलफलमा बोल्दै व्यवसायीहरुले संघको विधानलाई समयसापेक्ष बनाइनुपर्ने बताएका छन् । ३०औं महाधिवेशनबाट नवनिर्वाचित संघको नयाँ नेतृत्वले भावी कार्ययोजना तय गर्नका लागि सुझाव संकलन गर्ने लक्ष्यसहित व्यवसायिक संघसंस्थाहरुसँग भेटघाट तथा छलफल आयोजना गरेको हो । कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष तथा सल्लाहकार दीपक श्रेष्ठले विधान संशोधनको प्रस्ताव धेरै अगाडिदेखि उठेपनि गणपूरक संख्या नपुगेकाले संशोधन नभएको बताए । ‘विधान संशोधन गर्नका लागि व्यवसायिक संघसंस्था हरुको भूमिका महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘समय सापेक्ष रुपमा विधान संशोधन गर्ने अभियानलाई सबैले सहयोग गर्नुपर्छ ।’ संघका द्वितीय उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष मीनराज काफ्लेले सबैको सल्लाह र सुझाव अनुसार विधान संशोधन हुने दावी गरे । ‘सबै व्यवसायी साथीहरुको सुझाव समेटेर संघ अगाडि बढ्छ,’ काफ्लेले भने । कार्यक्रममा बोल्ने व्यवसायी हरुले पोखरा तथा आसपासको क्षेत्रको विकासमा संघले विशेष भूमिका खेल्नुपर्ने सुझावसमेत दिएका छन् । संघको सदस्यता बृद्धि गर्न, पोखरामा व्यवस्थित बसपार्क बनाउन, ट्राफिक व्यवस्थापन गर्न, यातायात कार्यालयको ढिलासुस्ती अन्त्य गर्न संघले पहल गर्नुपर्ने व्यवसायीहरुको सुझाब छ । नापतौल कार्यालयले उद्योग वाणिज्य संघमा नै आएर नवीकरण गर्ने वातावरण बनाउन, सीपमूलक तालिमको अवसर सिर्जना गर्न संघलाई व्यवसायीहरुले सुझाव दिएको संघका महासचिव रवीन्द्र बहादुर प्रजुले जानकारी दिए । संघले वर्षेनी आयोजना गर्ने राष्ट्रिय व्यापार मेलाको स्तरउन्नती गर्न पनि व्यवसायीहरुले संघलाई सुझाव दिएका छन् । कार्यक्रममा व्यवसायीहरु सुरेश अधिकारी, माधव पराजुली, विष्णु बास्तोला, प्रेम पौडेल, ध्रुब थापा, प्रेम भूजेल, धनिराम बराल, बलराम गौतम, केपी शर्मा, कुलबहादुर नेपाली, सरोज श्रेष्ठ, ऋषिराम गौतम लगायतले बोलेका थिए । संघले यस अगाडि पत्रकार तथा बैंक वित्तीय संस्थाका प्रतिनिधिहरुसँग छुट्टाछुट्टै छलफल गरिसकेको छ ।

Post a Comment

 
Top