0
संविधानसभा सदस्य शारदा पौडेलले पोखरामा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल निर्माणमा नेकपा एमाले केन्द्रीय सदस्य एवं सभासद रविन्द्र अधिकारीले चासो नदिएको आरोप लगाएकी छन् । विमानस्थल निर्माणका लागि सरकारलाई दवाव दिन पोखराका सभासद, राजनीतिक दलका प्रमुखहरु, उद्योगी व्यवसायी काठमाडौं जाँदा सभासद अधिकारी नआएको प्रसङ्ग कोट्याउँदै  सभासद पौडेलले नेपाली कांग्रेस कास्की सभापति एवं सभासद यज्ञबहादुर थापा तथा एमाले कास्की अध्यक्ष कृष्ण थापा लगायतले सहभागी हुन पटक–पटक आग्रह गरेको भएपनि रविन्द्र अधिकारी आउन नमानेकोप्रति आश्चर्य प्रकट गरिन् । उनले भनिन्–‘पछिल्लो क्रममा सभासद रविन्द्र अधिकारी विमानस्थल निर्माणमा अनुदार बन्नुभएको छ । उहाँको यस्तो व्यवहारले म आश्चर्यमा परेकी छु । विमानस्थल निर्माणमा यस्तो व्यवहार देखाउनु उहाँभित्र गम्भीर रहस्य लुकेको छ ।’ सभासद अधिकारीमा कस्तो रहस्य लुकेको छ ? भन्ने विषयमा भने उनले केही खुलाउन चाहिनन् । विमानस्थल निर्माणमा सभासद रविन्द्र अधिकारीले प्रचारवाजीमात्र गरेको तर उनको प्रचारले कुनै काम नगरेको समेत सभासद शारदा पौडेलले अरोप लगाइन । उनले भनिन्–‘रविन्द्रजीले खालि सस्तो प्रचारमात्र गर्नुभयो तर केही काम गर्न सक्नुभएन । म प्रचारमा होइन काममा विश्वास गर्दछु । म आफूले बोलेका कुरा र गरेको प्रतिवद्धता पुरा गरेरै छाड्छु ।’
नेपाल प्रेस युनियन कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभासद पौडेलले विमानस्थल निर्माणको जस आफूले पाउनुपर्ने आशय पुनः व्यक्त गरिन् । उनले यसअघि पनि पटक–पटक जस लिने आशय व्यक्त गर्दै आएकी थिइन । विमानस्थल निर्माणका लागि समग्र पोखराबासीको भूमिका महत्वपूर्ण रहेको भएपनि त्यसमा आफूले अग्रणी भूमिका खेलेको उनले बताएन । उनले भनिन्–‘म विमानस्थल निर्माण हुने क्षेत्रकै प्रतिनिधि हुँ । मलाई विमानस्थल निर्माणको संयोजक नबनाउन अनेक हर्कत भएका छन् । म आफू महिला भएकै कारणले यस्तो भएको हो कि भन्ने आशंका लागेको छ ।’ उनले आफू महिला भएपनि राजनीतिमा खारिएको दावी गर्दै विमानस्थल निर्माण संयोजक रविन्द्र अधिकारीलाई बनाउन नसकिने बताइन । उनले भनिन्–‘रविन्द्रजी जल्दोवल्दो युवा हुनुहुन्छ । उहाँलाई मैले कमजोर मानेकी छैन तर विमानस्थल निर्माणका लागि संयोजक त्यसै क्षेत्रको व्यक्ति भएमा सजिलो हुन्छ ।’ उनले विमानस्थल निर्माण संयोजक रविन्द्र अधिकारी होइन राजकाजी गुरुङ, तुलबहादुर गुरुङ तथा चूडामणि जंगलीलाई बनाउँदा राम्रो हुने प्रस्ताव समेत अघि सारिन । कार्यक्रममा विमानस्थल बन्नेमा ढुक्क हुन उनले सबैलाई आग्रह गरेकी छन् । उनले विमानस्थल निर्माणमा दवाव दिनका लागि डेलिगेशनमा जाँदा प्रधानमन्त्री सुशिल कोइराला, अर्थमन्त्री डा.रामशरण महत, पर्यटनमन्त्री दीपकचन्द्र अमात्य लगायत राजनीतिक दलका प्रमुखहरुले पोखरामा विमानस्थल बन्नेमा ढुक्क हुन आग्रह गरेको र सोही अनुरुप नै सरकारले सोमबार विमानस्थल निर्माण सम्झौता अनुमोदन गरेको बताइन । पहिले नेपाल सरकार र चिनिया कम्पनी सिएमसीबीच भएको सम्झौतामा प्राविधिक त्रुटिहरु रहेकाले प्रक्रिया अगाडि बढ्न नसकेको उनले बताइन । सभासद पौडेलले विमानस्थल निर्माण प्रक्रियामा त्रुटिहरु थिए, त्यसकारण निमार्णको कार्य अगाडि बढ्न सकेको थिएन, अब छिट्टै शिलान्यास हुने विश्वास व्यक्त गरिन् ।
विमानस्थल निमार्णका लागि आवश्यक पर्ने २१ अर्ब ६० करोड रुपैयाँको साचो अर्थमन्त्रालयले खोलेपछि विमानस्थल हुने उनले उल्लेख गरिन् । उनले भनिन्–‘अर्थमन्त्रालयको स्वीकृती बिना कुनैपनि बजेट बिनियोजन हुन नसक्ने भएकाले यस विषयमा अर्थमन्त्रालय गम्भीर हुन जरुरी छ ।’ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने जग्गाका नागरिकलाई मुआब्जा दिने प्रसंगमा उनले सरकारले सबैलाई उपयुक्त मुआब्जा दिनुपर्नेमा जोड दिइन । ‘नेपाल सरकारले हाल चलेको चलनचल्ती अनुसार नै जग्गाधनिलाई मुआब्जा दिनुपर्छ, होइन भने उनीहरु चुप लागेर बस्दैनन् ।’ अर्थमन्त्रालय बाट मुआब्जाका लागि २ अर्ब रुपैया बजेट बिनियोजन भैसकेको र त्यो छिट्टै जग्गाधनीलाई वितरण हुने उनले बताइन् । विमानस्थल निर्माणका लागि  खेतीयोग्य जमिन विगत ४० वर्षदेखि मरुभूमिमा परिणत भएको भएपनि अब छिट्टै मुहार फेरिने सभासद पौडेलले बताइन् ।  विमानस्थल अब जसरी पनि बन्नेमा कुनै शंका नभएको भन्दै उनले अब कुनैपनि हालतमा विमानस्थल बनि छाड्छ र यसलाई कसैले पनि रोक्न नसक्ने ठोकूवा गरिन् । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माधव रेग्मी, सदस्य नवराज त्रिपाठी, केन्द्रीय पार्षद डा. बलराम उपाध्याय रेग्मी लगायतले बोलेका थिए । कार्यक्रममा आफ्नो ज्योतिषीय धारणा व्यक्त गर्दै वरिष्ठ ज्योतिषी एवं नेपाल ज्योतिष पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. रेग्मीले मंसिर महिनामामात्र विमानस्थलको शिलान्यास गर्न सुझाव दिएका थिए ।

Post a Comment

 
Top