0

नेपालमा प्राविधिक शिक्षाको व्यावसायिक तालिम प्रणालीको सुदृढिकरण गर्नुका साथै गुणस्तरयुक्त तालिममा पहुँच वृद्धि गरि शिपयुक्त जनशक्तिको आपूर्ति बढाउने उद्देश्यले पोखरामा विभिन्न तीन विषयमा निःशुल्क तालिम संचालन हुने भएको छ । तालिम आगामी मंसिर १ गतेदेखि संचालन हुनेछ भने तालिमको अवधि तीन महिना अर्थात ३९० घण्टाको हुनेछ । इसिडी÷मण्टेश्वरी, कमर्सियल कुकिङ र वेटर÷वेट्रेस विषयमा तालिम प्रदान गरिनेछ ।
पोखरा उपमहानगरपालिका वडा नं. ११ रानीपौवास्थित पोखरा मण्टेश्वरी एण्ड मल्टिपल ट्रेनिङ सेन्टर प्रालिले तालिम संचालन गर्नेछ । नेपाल सरकार, शिक्षा मन्त्रालय, इभेन्ट परियोजनाको आयोजना तथा विश्व बैंकको आर्थिक सहयोगमा तालिम आयोजना हुन लागेको हो । पोखरा लगायत पोखरा आसपासका २२० जना व्यक्तिलाई तालिम प्रदान गरिने पोखरा मण्टेश्वरीका प्रवन्ध निर्देशक थिरबहादुर थापाले जानकारी दिए । तालिमका लागि यहि कार्तिक १३ गतेदेखि आवेदन खुल्ला गरिने भएको छ । आवेदन दिने अन्तिम मिति कार्तिक २२ गतेसम्म रहेकोछ । आवेदन फाराम पोखरा मण्टेश्वरी एण्ड मल्टिपल ट्रेनिङ सेन्टर प्रालिबाट निःशुल्क प्राप्त गर्न सकिने बताइन्छ । तालिम अवधिभर प्रशिक्षार्थीहरुका लागि निःशुल्क खाजा र आवश्यक शैक्षिक सामाग्रीको व्यवस्था समेत गरिएको तालिम संयोजक अरुणा पुनले जानकारी दिइन ।
तालिममा १६ देखि ४५ वर्षका महिला र १६ देखि ४० वर्षसम्मका पुरुषले सहभागिता जनाउन सक्नेछन् । इसिडी मण्टेश्वरी तालिम लिनका लागि भने कम्तिमा एसएलसी उत्तीर्ण गरेको व्यक्तिले मात्र पाउनेछन् । सामाजिक तथा आर्थिक रुपले विपन्न नेपाली नागरिक, दलित, अपाङ्ग, एकल महिला, पूर्व कमैया, कमलरी, सीमान्तकृत, गरिब मधेशी, मानव सूचकांकको हिसावले पछाडि परेका व्यक्तिले तालिमका लागि विशेष प्राथमिकता पाउनेछन् ।
नेपाल सरकार, शिक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि (इभेन्ट) परियोजनाले वि.सं.२०६८ देखि नेपालभर विभिन्न किसिमका तालिम संचालन गर्दै आएको छ । तालिम संचालनका लागि इभेन्ट र विश्व बैंकसंग २०६८ असारमा सम्झौता भएको थियो । सम्झौता भएपछि इभेन्टबाट करिब ५० हजार नेपाली नागरिकले विभिन्न तालिम प्राप्त गरिसकेको बताइन्छ भने आगामी असारसम्ममा ७५ हजार पु¥याउने लक्ष्य राखिएको छ । इभेन्टले शिप परीक्षक तालिम, शिप परीक्षण व्यवस्थापक तालिम, मुख्य प्रशिक्षक तालिमका साथै सिलाइकटाई, कमर्सियल कुकिङ, वेटर वेट्रेस, आर्क वेल्डिङका साथै ह्याण्ड इम्ब्रोइडरी लगायत करिब ५ दर्जन विषयमा तालिम दिंदै आएको छ ।
पोखरामा तालिम संचालनको अनुमति पाएको संस्था पोखरा मण्टेश्वरी एण्ड मल्टिपल ट्रेनिङ सेन्टर प्रालि हो । मण्टेश्वरीले तालिम संचालन गर्न लागेको यो तेस्रो पटक हो । शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पोखरा मण्टेश्वरीबाट हालसम्म ३०० जनाले तालिम प्राप्त गरिसकेका छन् ।

Post a Comment

 
Top