0
अर्थमन्त्री डा. रामशरण महतले नेपाल सरकारको मुख्य एजेण्डा संविधान निर्माण र आर्थिक विकास भएको बताएका छन् । पोखराको रामबजारमा शनिबार देखि सुरु भएको रामबजार स्वर्ण महोत्सवको उद्घाटन गर्दै मन्त्री महतले निर्धारित समयमा संविधान निमार्ण र आर्थिक विकास हुन सकेमात्र मुलुक समृद्ध बन्ने बताए । नेपालमा राजनीतिक क्रान्ति सुरु भएको धेरै समय भइसकेको छ, अब आर्थिक क्रान्तिका लागि सरकार, राजनीतिक दलहरु र जनता समेत यसमा प्रतिबद्ध हुनुपर्छ । देशलाई आर्थिक संमृद्धि कसरी बनाउन सकिन्छ भनेर सोच्न जरुरी छ–उनले भने ।
नेपालमा संविधान निमार्णको क्रममा रहेकाले संघीयता, लोकतान्त्रिक पद्धति, आर्थिक विकास, प्रेस स्वतन्त्रता, न्यायपालिकाको सुनिश्चिता बारेमा गम्भीर बहस गर्दैं नेपाललाई अन्य मुलुक सरह सम्पन्नशाली बनाउन सरकार र राजनीति दलहरु प्रतिबद्ध रहेको अर्थमन्त्री डा. महतले बताए । भारतसंग नेपाल सरकारले हालै गरेको पीडिए सम्झौताका बारेमा विस्तृत जानकारी गराउंदै उनले उक्त सम्झौतामा नेपालीले उपयोग गरेर बांकी रहेको बिद्युतमात्र भारतले किन्ने रहेको छ, यसले मुलुकमा विद्यमान लोडसेडिङ छिट्टै मुक्त गराउने विश्वास व्यक्त गरे । कार्यक्रम स्थलमा पुरुषभन्दा महिलाको संख्या बढी देखेपछि डा.महतले महिलाहरुको क्रियाशिलताबिना कुनै पनि काम पुरा नहुने र समाज रुपान्तरणका लाग महिलाको भूमिका प्रमुख हुने बताए । मुलुक लोडसेडिङले आक्रान्त हुनु दुर्भाग्यपूर्ण रहेको भन्दै अर्थमन्त्री डा.महतले लोडसेडिङ मुक्त गर्नका लागि सरकारले विशेष योजना ल्याउन लागेको बताए । उनले भने–‘हामीले अहिले भारतसंग विद्युत किन्दै छौं । पछि भारतलाई नै विद्युत बेच्न सकिन्छ । त्यसका लागि सरकारले ठोस कदम चाल्न सक्नुपर्छ ।’ मन्त्री महतले नेपालको पञ्चेश्वर, अरुण तेस्रो, माथिल्लो त्रिशुली, माथिल्लो मस्र्याङ्दी, बुढीगण्डकी जस्ता ठूला आयोजनाहरु निर्माणका क्रममा रहेको भन्दै यी योजनाहरु सम्पन्न भएपछि मुलुकमा लोडसेडिङ सदाका लागि अन्त्य हुने विश्वास व्यक्त गरे । पोखरामा बन्न लागेको अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको बारेमा बोल्दै नेपाली कांग्रेसका नेता समेत रहेका डा.महतले विमानस्थल निमार्णमा देखिएका कठिनाइहरु लगभग सुल्झदै गएको उल्लेख गर्दै विमानस्थल निर्माण गर्ने प्रक्रिया पुरा भएकाले अव छिट्टै हस्ताक्षर हुने बताए । ३०÷३१ अर्बको चिनियाँ लगानी महंगो भएकोमा त्यस विषय पनि सुल्झदै गएको भन्दै महतले पोखरा तथा मुलुकको विकासका लागि विमानस्थल अपरिहार्य भएको स्पष्ट पारे । सरकार जसरी भएपनि पोखरामा विमानस्थल बनाउन चाहन्छ र बन्नै पर्छ भन्ने पक्षमा रहेको छ उनले भने–‘विमानस्थल बनाउन सरकार तयार छ, जसका लागि चिनिया सरकारसंग आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ, केही साताभित्रै यसको टुङ्गो लाग्छ ।’
नेपालमा अझैपनि ५÷६ सय अर्बको व्यापार घाटा रहेकाले यसलाई न्युनिकरण गर्नका कृषि र जलविद्युत क्षेत्रमा क्रान्ति ल्याउनु जरुरी रहेको उनले बताए । अर्थमन्त्री डा.महतले नेपाली वस्तु विदेशमा निर्यात गर्नका लागि मुलुकको अर्थतन्त्र बलियो हुनुपर्छ, यसका लागि देशको राजनीति सुध्रिन आवश्यक रहेको स्पष्ट पारे ।
कार्यक्रममा संविधानसभा सदस्य शारदा पौडेलले माघ ८ गतेभित्र जसरी पनि संविधान आउने दावी गरिन् । दलहरु एकजुट हुने क्रममा छन्, विवादित विषयहरुमा सहमति हुन्छ र तोकिएकै समयमा संविधान आउंछ, विश्वस्त हुन उनले आग्रह गरिन् । उनले पोखरामा कसले विमानस्थल बनाउन दियो वा दिएन भन्ने कुरा छाडेर पोखरेलीहरु विमानस्थल निर्माणमा एकजुट हुन सके कसैले रोक्न नसक्ने दावी गर्दै विमानस्थल बन्ने कुरा धेरै भएको तर ठोस कदम अगाडि नबढेकोमा दुःखेसो पोखिन् । उनले भनिन्–‘जुनसुकै पार्टीको सरकार भएपनि प्रतिबद्ध भएर विमानस्थलमा लाग्नुपर्छ । यसो भएमात्र विमानस्थल बन्छ र विकास निर्माणको काम अगाडि बढ्छ ।’ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेमा पश्चिमाञ्चलको विकास हुने बताए । विमानस्थलका लागि पोखरेलीले धेरै आन्दोलन गरेको स्मरण गराउंदै उनले जति नै आन्दोलन गरेपनि माग सुनुवाई नभएकाले आफूहरु आन्दोलनका लागि पुनः काठमाडौं जान लागेको जानकारी गराए ।
रामबजार युथ क्लबका अध्यक्ष तिल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानमन्त्री सुशिल कोइरालाका विकास तथा सामाजिक क्षेत्र सल्लाहकार डा.विजन पन्त, कालिका मन्दिर सञ्चालक समितिका अध्यक्ष मनवीर गुरुङ ढासा, क्लबका सल्लाहकार सम्मरबहादुर श्रेष्ठ, उपाध्यक्ष वीरेन्द्र पाइजा पुन र संस्थाका सदस्य सचिव ज्ञान बहादुर थापा, कार्यसमिति निरज थापा लगायतले पोखराको विकासका लागि सरकार तथा सरोकारवाला निकायहरु गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा रामबजारको विकास र प्रवद्र्वनका लागि जीवन समर्पण गरेकोमा समाजसेवी मनवीर गुरुङ ढासालाई अभिनन्दन र महोत्सवलाई महत्वपूर्ण सहयोग गरेको भन्दै रामबजारका शिवलाल सुनार र भविन्द्र वि.कलाई सम्मान गरिएको थियो । ‘रामबजारको सान, युवाहरुको अभियान’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सव कात्तिक ४ गतेसम्म चल्ने छ । महोत्सवको आकर्षणमा रामबजारको पुरानो फोटो तथा चित्र प्रदर्शनी, साङ्गीतिक कार्यक्रम, देउसी भैलो प्रतियोगिता, लोक नृत्य प्रतियोगिता, बाल उद्यान, विभिन्न जातजातीका झाँकी रहेका छन् । महोत्सवमा निःशुल्क रुपमा प्रवेश पाइने छ । करिब तीन लाख २५ हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको सचिव खगेन्द्र क्षेत्रीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उनका अनुसार महोत्सव सम्पन्न गर्न २३ लाख ७८ हजार खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सवबाट प्राप्त आम्दानीलाई  रामबजारमा सोलार वत्ति जडानका लागि खर्च गरिने छ ।

नेपाल सरकारका अर्थमन्त्री डा. रामशरण महतले पोखरा क्षेत्रीय विमानस्थल निर्माण हुनेमा विश्वस्त हुन पोखरेलीलाई आग्रह गरेका छन् । एक वर्षभित्रमा अहिलेको सरकारले नै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सुरु गर्ने अर्थमन्त्री महतले बताए । पोखरा उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता समेत रहेको डा. महतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकार प्रतिवद्ध भएर लागेको स्पष्ट पारे । कानुन सम्बन्धी प्रकृयाका कारण केही ढिलाइ हुन स्वभाविक भएको बताउँदै उनले अर्थमन्त्रालयकै कारण विमानस्थल निर्माण कार्य नरोकिने स्पष्ट पारे । आफूले विमानस्थल बनाउन नचाहेको भन्ने भनाइ दुस्प्रचार मात्र भएको भन्दै उनले सात वर्षअघि आफू अर्थमन्त्री हुँदादेखि नै पोखरामा क्षेत्रीय विमानस्थल निर्माण गर्नुपर्छ भन्ने व्यक्ति आफू नै भएको स्पष्ट पारे । उनले भने–‘मैले नै सुरु गरेको काम अर्थमन्त्रालयबाट कुनैपनि हालतमा रोक्किदैन ।’ ‘विमानस्थल निर्माण जस्तो विकासको काममा अर्थमन्त्रालयले कुनै पनि हालतमा रोक्ने ठाउनै छैन’, उनले भने,(‘प्रकृयाहरु केही नमिलेकाले ढिलाइ भइरहेको हो, प्रकृया मिल्नासाथ विमानस्थल निर्माण शुरु हुन्छ ।’ विकास निर्माणका काममा सबै मन्त्रालयको स्वीकृति हुनुपर्ने भएकाले केही मन्त्रालयहरुमा प्रक्रियागत ढिलाइ हुनु स्वभाविक रहेको अर्थमन्त्री महतको भनाइ रहेको थियो । विमानस्थल निर्माण प्रकृया महंगो भएको र त्यसले पनि केही समस्या निम्त्याएको बताउँदै अर्थमन्त्री डा. महतले चीन सरकारको सहयोग बिना पनि देशकै आन्तरिक बजेटबाट समेत विमानस्थल निर्माण कार्य थालनी गर्न सरकार तयार रहेको भन्दै  पोखरेलीलाई ढुक्क हुन आग्रह गरे । पोखरेलीहरुले जस्तो सुकै आन्दोलन गरे पनि नगरेपनि यो सरकार विकास निर्माणमा दृढ संकल्पसहित लागि परेकाले पोखरा विमानस्थल निर्माणमा कुनैपनि शंका उपशंका नगर्न उनको आग्रह रहेको थियो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दबाब दिन पोखराका उद्योगी व्यवसायीहरुको टोली शनिबार राजधानी प्रस्थान गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिका संयोजक एवं पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाको नेतृत्वमा उक्त टोली राजधानी प्रस्थान गरेको हो । विमानस्थल निमार्णका लागि दबाब दिन राजधानी प्रस्थान गरेको टोलीमा सभासद, राजनीतिक दलका प्रमुख, व्यवसायी, पत्रकार लगायत सरोकारवालाहरु रहेको पोखरा उद्योग वाणिज्य संघका महासचिव रवीन्द्रबहादुर प्रजुले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । टोलीले प्रमुख दलका शीर्ष नेतासहित सरकार प्रमुख, अर्थ र पर्यटनमन्त्रीलाई समेत भेट्ने कार्यक्रम रहेको छ । राजधानी प्रस्थान गर्नु अगाडि पोखराको विकासका लागि क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल तत्काल बनाइनुपर्ने भन्दै संयोजक थापाले विमानस्थल निर्माणका लागि जस्तोसुकै दबाब दिन पनि आफूहरु तयार रहेको स्पष्ट पारे । यसैबीच, विमानस्थल निमार्णका लागि पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा संकलन गरिएको सर्वसाधारणको हस्ताक्षर सरकारलाई बुझाइने संयोजक थापाले बताए ।

Post a Comment

 
Top