0
रामबजार युथ क्लवले गर्न लागेको रामबजार स्वर्ण महोत्सवको तयारी पुरा भएको छ । क्लबले पोखरामा विहीबार पत्रकार सम्मेलन गरी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । महोत्सव सम्पन्न गर्न गठित पाँच सय एक सदस्यीय मूल आयोजक समिति र विभिन्न सात वटा उपसमितिले तयारी पुरा गरेका छन् । पोखराको रामबजार स्थापना भएको स्वर्ण जयन्तीको अवसरमा आयोजित महोत्सव स्थलको व्यवस्थापन, सजावट, प्रचार–प्रसार लगायतका तयारी पुरा भएको क्लवका अध्यक्ष तिलकबहादुर गुरुङले जानकारी दिए । रामबजारको सान, युवाहरुको अभियान भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव कात्तिक १ देखि ४ गतेसम्म रामबजारमा हँुदैछ । कात्तिक १ गते अर्थमन्त्री डा रामशरण महतले महोत्सव उद्घाटन गर्ने छन् । उद्घाटन पूर्व प्रभातफेरी निकालिने छ । महोत्सवस्थललाई दुलहि झै सिगांरिएको छ । रामबजारको मुख्य क्षेत्रलाई झिलिमिलि वत्तिले सिगांरिएको छ । बजारलाई बत्तिले सिगांरिएको दृश्य साझको समयमा निकै मनमोहन देखिने छ । महोत्सवलाई सफल बनाउन रामबजारका आमा समूह, टोल विकास संस्था र सामाजिक सङ्घसंस्थापनि सामुहिकरुपमा जुटिरहेका छन् । रामबजार महोत्सव अन्य महोत्सवको तुलनामा भिन्न प्रकारको भएको आयोजकको भनाई छ । रामबजार महोत्सव व्यवसायिक उद्देश्यले आयोजना गर्न लागिएको हैन प्रवत्ता क्षेत्रीले भने – ‘रामबजारको पहिचान र विकासको मुख्य उदेश्यले रामबजार स्थापना भएको अवसरलाई उत्सवका रुपमा मनाउन खोजेका हौं ।’
महोत्सवको आकर्षणमा रामबजारको पुरानो फोटो तथा चित्र प्रदर्शनी, ख्यातिप्राप्त कलाकार र व्याण्डहरुको साङ्गितिक कार्यक्रम, देउसी भैलो प्रतियोगिता, लोक नृत्य प्रतियोगिता, बाल उद्यान, फुड फेष्टिबल, विभिन्न जातजातीका झाँकी,विविध सम्मान तथा अभिनन्दन कार्यक्रम रहने छन् ।
महोत्सवमा निःशुल्क रुपमा प्रवेश पाइने छ । महोत्सव झण्डै तीन लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव सम्पन्न गर्न २३ लाख ७८ हजार खर्च लाग्ने अनुमान गरिएको छ भने २७ लाख ५० हजार संकलन हुने अपेक्षा गरिएको छ । चन्दा संकलन तथा विदेशमा रहेका रामबजारबासिहरुबाट आर्थिक संकलन गरी महोत्सव सम्पन्न गर्ने र केहि रकम बचत लक्ष्य लिइएको छ । महोत्सवबाट बचत हुने रकम रामबजारमा सोलार वत्ति जडान र शिक्षा क्षेत्रको विकासका लागि खर्च गरिने क्लवका उपाध्यक्ष वीरेन्द्र पुनले बताए ।

Post a Comment

 
Top