0
नेपाल सरकारसंग निःशुल्क स्वास्थ्य उपचार, आश्रित छोरा–छोरीलाई शिक्षा र रोजगारी पहिचान सहितको परिचयपत्रको  माग गर्दै आएका कास्कीको लेखनाथमा रहेका जनआन्दोलनका घाइतेहरु संगठित भएका छन् । २०६२÷६३ सालको ऐतिहासिक आन्दोलनका घाइतेहरुको मङगलबार भएको भेलाले शंकर पौडेलको संयोजकत्वमा जन आन्दोलन शहिद परिवार तथा घाइते समन्वय समिति लेखनाथ गठन गरेको हो । सह–संयोजकमा उमादेवी बास्तोला, सचिवमा सूर्य वञ्जरा र सदस्यहरुमा माममाया गौतम, डिलनाथ ढकाल, राम्जी न्यौपाने, जानुका तिमिल्सिना, रेवती शर्मा रहेका छन्  । जन आन्दोलन शहिद परिवार तथा घाइते समन्वय समिति कास्कीका अध्यक्ष ढाकाराम पौडेलले जन आन्दोलनका घाइतेहरुको मुख्य समस्या स्वास्थ उपचार भएको बताए । घाइतेहरुको पहिचान सहितको परिचयपत्र प्राप्तिमा अझै समस्या रहेको उल्लेख गर्दै उनले घाइते तथा शहिद परिवारको मागलाई सम्वोधन गर्ने मुख्य दायित्व राजनीतिक दलको रहेको धारणा राखे । कार्यक्रमका प्रमुख अतिथि लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले जनआन्दोलनका घाइतेहरुको मागलाई सम्वोधन गर्न नगरपालिका तयार रहेको बताए । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले राज्यले हरेक क्षेत्रमा उपलव्ध गराउने आरक्षणमा जनआन्दोलनका शहिद परिवार तथा घाइतेहरुलाई प्राथमिकता दिए, वैज्ञानिक र न्यायोचित हुने धारणा राखे । जनआन्दोलन शहिद परिवार तथा समन्वय समिति कास्कीका सचिव शेखर गौतमले कास्कीमा १ सय ५० जना जनआन्दोलनका घाइते रहेको जानकारी दिए । कार्यक्रम समितिका लेखनाथ संयोजक शंकर पौडेलको अध्यक्षतामा भएको थियो ।

Post a Comment

 
Top