0
कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर राउतले चाडपर्वको वेला अवैध कर उठाउनेलाई कारवाही गरिने बताएका छन् । सुशासनका लागि नागरिक समाज कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीको संयुक्त पहलमा शुक्रवार पोखरामा भएको अन्तरक्रियामा उनले भने,–ठाँउ ठाँउमा कर उठाउनु अवैध हो, तुरुन्तै खवर गर्नुहोस् प्रशासनले तत्काल कारवाही गर्छ । पोखरामा दशैं र तिहारका लागि हिमाली जिल्लाहरुवाट च्याङग्रा ल्याउने व्यापारी मार्फत कास्की जिल्लामा मात्रै लुम्ले, नौडाँडा, हेम्जा लगायतको राजमार्ग खण्डमा यूवा समूह, आमा समूह तथा विभिन्न अवैध समूहका नाउमा व्यापारीसंग कर मागिने गरेको गुनासो वर्षेनी उठ्ने गरेको छ । प्रमुख जिल्ला अधिकारी राउतले कास्कीमा प्रवेश गरेपछि, पोखरा टुँडिखेलमा पोखरा उपमहानगरपालिका वाहेक अरु कसैले पनि कास्कीमा च्याङग्राको कर लिन नपाउने स्पष्ट पारे ।
चाडपर्वको वेलामा विभिन्न ठगी, अखाद्य वस्तुको मिसावट, कृत्रिम अभाव सृजना गर्ने जोसुकैलाई पनि प्रशासनले कानुन वमोजिम कारवाही गर्ने समेत प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर राउतले बताए । चाडपर्व सुरक्षा योजना पनि लागू भएको छ, उनले भने,–‘कानून भन्दा बाहिर कोही पनि छंैन् यातायात, मासु, फलफूल, खाद्य, कपडा, सबै खालका व्यवसायीले व्यवसायिक मर्यादा ख्याल गरी काम गर्नुपर्छ ।’ वजार अनुगमन तीव्र पारिएको भन्दै, प्रमुख जिल्ला अधिकारी राउतले आपूर्ति व्यवस्थापन समितिको वैठक तत्काल बोलाई आपूर्ति थप सहज बनाईने जानकारी समेत दिए ।
अन्तरक्रिया कार्यक्रममा ठाँउमा अवैध कर उठाउने, यातायातमा सिन्डीकेट हुने, मनपरी भाडा असुल्ने, अखाद्य वस्तु वेचविखन हुने, मिसावट गरिने, उपहार योजनाका नाउमा ठगी धन्दा वढेको लगायतका गुनासा नागरिक समाजले राखेको थियो । साथै सेवाग्राहीहरुले प्रशासनको अनुगमन प्रणाली चुस्त राख्न पनि आग्रह गठरेका छन् । कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतम, सुनास कास्कीका अध्यक्ष पुण्य पौडेल, पूर्वअध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, सचिव दीपेन्द्र श्रेष्ठ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरी, पोखरा वस व्यवसायी समितिका अध्यक्ष रमेश गिरी, खसी तथा कुखुरा व्यवासायी समितिका अध्यक्ष प्रेम पौडेल, पोखरा ट्याक्सी व्यवसायी समितिका अध्यक्ष गान्धीराज गिरी, एलपी ग्यास विक्रेता संघका अध्यक्ष नारायण प्रसाद पौडेल, उपभोक्ता मञ्चका अध्यक्ष कपिल कोईराला, शान्तिका लागि नागरिक समाजको संजालका संयोजक रामप्रसाद सुवेदी, नागरिककर्मी विष्णु वराल, खगराज आचार्य, ईन्सेक संयोजक शिव खकुरेल, महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष सरला पाण्डे, फलफूल व्यवसायी रुद्रप्रसाद खनाल, च्याङग्रा व्यापारी गोर्कण भण्डारी, यातायात व्यवसायी शोभाकान्त पौडेल लगायतले गुनासो चाडपर्वको वेलामा हुन सक्ने समस्याका वारेमा गुनासो तथा सुझाव राखेका थिए ।

Post a Comment

 
Top