0

पर्यटकीय नगरी पोखरा सहित सिंगो नेपालको प्रवद्र्धनको उद्धेश्यसहित पोखराका होटल कर्मीहरुको एक टोली शुक्रबार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेको छ ।
पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष हरि शर्मा गैह्रेको नेतृत्वमा टोली त्यसतर्फ गएको संघका महासचिव लक्ष्मण सुवेदीले जानकारी दिए ।
विशेष गरी होटल संघ नेपालको अर्धवार्षिक साधरणसभाको अवसरसँग यो कार्यक्रम संयोजन गरिएको हो । थाइल्याण्ड सरकारकै निमन्त्रणामा नेपालका होटलकर्मीहरुलाई थाइल्याण्डमा कार्यक्रम गर्ने सन्दर्भ मिलेको पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष विप्लव पौडेलले जानकारी दिए । पोखराबाट गएको टोलीमा शर्मा र पौडेल बाहेक संघका सल्लाहकार बच्चुराम तिवारी, प्रथम उपाध्यक्ष भरतराज पराजुली, व्यवसायी भरत शर्मा, नारायण पहारी, राजेन्द्र ढकाल, महादेव भण्डारी र जनक कार्की रहेका छन् । थाइल्याण्डमा अर्धबार्षिक साधरणसभा गरी टोली सेप्टेम्बर २४ तारिखमा नेपाल फर्कने कार्यक्रम रहेको छ ।
पछिल्ला वर्षहरुमा पोखरा आउने विदेशी पर्यटकहरु समेत बढ्दै गएको र यसका पछाडि पश्चिमाञ्चल होटल संघ पोखराको महत्वपूर्ण योगदान रहेको संघका अध्यक्ष शर्माले बताए । खासगरी पोखराः प्युर एण्ड पर्फेक्ट भन्ने स्लोगान तय गरी संघले पोखराको ब्राण्डिंग गर्न खोजेको र सोही अनुसार विदेशमा यसप्रकारका प्रबद्र्धनात्मक कार्यक्रम आयोजना गर्दै आइएको अध्यक्ष शर्माले बताए ।
यसअघि संघले भारत, श्रीलंका, मलेशिया, दुबई र चीनमा विविध कार्यक्रम गरिसकेको छ । यस्ता कार्यक्रमबाट पोखरा आउने विदेशी पर्यटकको संख्या बढ्न पुगेको संघका प्रथम उपाध्यक्ष पराजुलीले बताए । पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउने अभियानमा आफूहरु रहेको पराजुलीले सुनाए । कार्यक्रमका अवसरमा थाइल्याण्डको होटल संघ, त्यहाँका पर्यटन व्यवसायी तथा अन्य ब्यापारी जगतसँग समेत छलफल हुने बताइएको छ । पछि त्यहाँका व्यवसायीलाई समेत पोखरा भ्रमण गराउने उद्देश्य संघले लिएको छ ।

Post a Comment

 
Top