0
पोखरामा जारी नेपाल प्रेस युनियनको आठांै महाधिवेशनमा नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन सम्पन्न भएको छ । मतगणना सम्पन्न भएको करिब ४ घण्टापछि अर्थात राति १२ बजेदेखिमात्र मतगणना शुरु भएको छ । मतगणनाको परिणाम सोमबार बेलुकीसम्म आइसक्ने बताइन्छ । महाधिवेशनको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । एक अध्यक्षका लागि तीन जना प्रतिस्पर्धामा उत्रिएका हुन् । चार जनाको उम्मेदवारी परेपनि जुनारबाबु बस्नेतले अन्तिम समयमा नाम फिर्ता लिएपछि तीन जनाबीच प्रतिस्पर्धा भएको छ । अध्यक्षका लागि वर्तमान कार्यवाहक अध्यक्ष वद्रि सिग्देल, महासचिव शिवप्रसाद लम्साल र सचिव भुवन भट्ट प्रतिस्पर्धामा उत्रिएका छन् ।
अध्यक्ष सहित अधिकांश पदमा सर्वसम्मतबाट चयन हुन नसकेपछि निर्वाचन भएको हो । एक जना बरिष्ठ उपाध्यक्षका लागि चार जनाको उम्मेद्वारी परेको छ । वरिष्ठ उपाध्यक्षमा दिपक आचार्य, सन्तोष न्यौपाने, इन्द्र रिजाल र प्रकाशचन्द्र परियार चुनावी मैदानमा उत्रिएका छन् ।
एक महासचिवका लागि जयप्रकाश गुप्ता, अजयबाबु शिवाकोटी, होमप्रसाद लम्साल वीच प्रतिस्पर्धा भएको छ । उपाध्यक्ष
(खुलातर्फ) दुई जनाका लागि इश्वरी ओझा, हेमराज बराल, भक्तबहादुर थापा, सन्तोष सुवेदी, लिलाराज खनाल र रमेश पौडेलको उम्मेद्वारी परेको छ । पत्रकार रमेश पौडेल र हेमराज बराल पोखराका हुन् । उपाध्यक्ष समावेशीतर्फ एक जनाको लागि तीन जना रितेश त्रिपाठी, विजयसन्तोषी राई, दिपेन्द्र चौहान र उपमहासचिवमा खुल्लातर्फ दुई जनाका लागि चार जना प्रेम के.सी, भिष्मराज ओझा, विमल ज्ञवाली र सुरेशराज जोशी प्रतिस्पर्धामा उत्रिएका छन् । उता सचिवमा समावेशीतर्फ एक जनाका लागि पाँच जना श्रीनारायण शाह, नरेन्द्र मानन्धर, रामानन्द गुप्ता, प्रविण शाह, के.वि राना र सचिवमा नै खुल्लातर्फ दुई जनाको लागि खिला कार्की, सूर्यकुमारी क्षत्री, डम्बर अधिकारी, रामेश्वर सापकोटा, सोमनाथ सुवेदी, शिव देवकोटा, भुमिराज आचार्य, छायाचन्द्र भण्डारी र कलेन्द्र सैजुवालको उम्मेद्वारी परेको छ भने कोषाध्यक्षमा सलोजा दाहाल र मेनुका आचार्य प्रतिस्पर्धामा उत्रिएका छन् ।
एक जना क्षेत्रीय संयोजकका लागि पश्चिमाञ्चलमा जनार्दन घिमिरे, रामराजा पोख्रेल, प्रदिप काफ्ले, मिलन शर्मा दनाई र परशुराम शर्माको उम्मेदरी परेको छ । उता खुल्लातर्फ १५ जना केन्द्रीय सदस्यका लागि ३४ जनाको उम्मेद्वारी परेको छ। केन्द्रीय सदस्यमा पोखराका पत्रकार ऋषिकान्त पौडेल प्रतिस्पर्धामा उत्रेका छन् । निर्वाचन समितिका अनुसार, विभिन्न पदका लागि एक सय ४८ जनाको उम्मेद्वारी छ । केहि पदमा भने निर्विरोध भएको छ । निर्विरोध निर्वाचित हुनेहरुमा महिला उपाध्यक्ष बाला अधिकारी, महिला उपमहासचिव सलोजा दाहाल, महिलातर्फ सचिव दिपा आले, केन्द्रीय सदस्य अपाङगतर्फ माधवप्रसाद चम्लागाई, केन्द्रीय सदस्य पीछडिएको क्षेत्रतर्फ दयाराम पण्डित छन् ।
त्यसैगरी, गण्डकी अञ्चल संयोजकमा टंक अधिकारी, नारायणी संयोजकमा सञ्जय कार्की, राप्ति अञ्चल संयोजकमा के.पि घिमिरे, धौलागिरी संयोजकमा ज्ञानेन्द्र गौतम निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशन मुल आयोजक समितिका संयोजक गङ्गाधर पराजुलीका अनुसार पाँच बजेदेखि शुरु भएको मतदान राति नौ बजे सकिएको थियो । सोमबार साझँसम्ममा सम्पूर्ण परिणाम सार्वजनिक हुने प्रचार संयोजक नवीन सिग्देलले बताए ।

Post a Comment

 
Top