0
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) पश्चिमाञ्चलको आयोजनामा पूर्वाञ्चलका विभिन्न जिल्लाको भ्रमणमा निस्केको पर्यटन व्यवसायीहरुको टोलीले सोमबार विराटनगरका पर्यटन व्यवसायीसँग अन्तक्र्रिया गरेको छ ।
आइतबार पूर्वाञ्चलका विभिन्न ठाउँको अवलोकन भ्रमणका लागि पोखराबाट निस्किएको टोलीले विराटनगरका पर्यटन व्यवसायीहरु सँग दुवै क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि हुनसक्ने सहयोगका बारेमा अन्तक्र्रिया गरेको हो । कार्यक्रममा दुवैतर्फका पर्यटन व्यवसायीले यसै बर्षदेखि पोखरा–विराटनगर सिधा पर्यटक बस सेवा सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै नाट्टा पश्चिमाञ्चलका अध्यक्ष पोमनारायण श्रेष्ठले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पोखरा, विराटनगर, इलाम र धनकुटालाई समेटेर टुर प्याकेज कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले पर्यटकका लागि सुविधासम्पन्न सवारी साधनको आवश्यकता पर्ने भएकाले पर्यटक मैत्री बस सञ्चालन गर्नुपर्ने बताए । विराटनगरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि पर्यटकीय स्थलको खोज तथा पहिचान गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । होटल संघका केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले विराटनगर आसपासको क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएकाले पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।
विराटनगरमा अध्यागमन कार्यालय स्थापना गरी पर्यटकका लागि थप सुविधाहरु ल्याउनुपर्नेमा उनले जोड दिए । विराटनगरकी होटल व्यवसायी रिमा श्रेष्ठले नाट्टा पश्चिमाञ्चलले गरेको कार्यक्रम आन्तरिक पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको बताईन् । क्षेत्रीय होटल संघ पूर्वाञ्चलका अध्यक्ष सुरेश भट्टराईले पर्यटन विकासका लागि पर्यटन व्यवसायी बिच एकता आवश्यक रहेको बताए । नाट्टा पश्चिमाञ्चलका अध्यक्ष एवं भ्रमणका संयोजक केदारनाथ शर्माले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि भ्रमण कोसेढुङ्गा सावित भएको बताए । कार्यक्रममा नाट्टा पश्चिमाञ्चलका उपाध्यक्ष दिल गौतम लगायतले बोलेका थिए । भ्रमण टोली सोमबार विराटनगरमा अन्तक्र्रियापछि, झापा हुँदै ईलाम पुगेको छ । मंगलबार काकडभित्ता र झापाका पर्यटन व्यवसायीसँग छलफल तथा अन्तक्र्रिया गर्ने कार्यक्रम छ । भ्रमण टोलीमा नाट्टा पश्चिमाञ्चलका पदाधिकारी तथा पर्यटन व्यवसायी, पर्यटनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि र पत्रकारसहित ३० जना सहभागि छन् ।

Post a Comment

 
Top